arrow

दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा चिन्तित

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
Parbati-hamrakura.jpeg
फलेवास (पर्वत)। नेपालीको महान् पर्व दसैँअगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा पर्वतका वृद्धवृद्धा, एकल महिलाको दसैँ खल्लो हुने भएको छ।
 
अधिकांश बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नगर्दा चाडबाड मनाउनबाट वृद्धवृद्धा विमुख बनेका हुन्।
 
चाडबाडका बेला राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न नपाउँदा दसैँ खल्लो लागेको वृद्धवृद्धाले गुनासो गरेका छन्। जिविसले असोजको पहिलो साता नै बैंकलाई भत्ता वितरणका लागि निकासा दिएको भए पनि अधिकांश बैंकबाट वितरण हुन सकेको छैन।
 
व्यक्तिगत खातामा रकम स्थानान्तरण गर्न केही समय लागेको र कतिपय गाविस र नगरपालिका कार्यालयका सचिवले मरेका र बसाइँ सरेकाहरुको लगतकट्टा नगरिदिएको बैंकले जनाएका छन्।
 
“लगतकट्टा गरेका गाविसको रकम वृद्धवृद्धाको खातामा पठाएका छौँ” गरिमा विकास बैंक कुश्मा शाखाका प्रबन्धक सुन्दर भण्डारीले भने – “लगतकट्टा भएर आएमा दसैँलगत्तै सबै क्षेत्रका वृद्धवृद्धाले भत्ताको रकम निकाल्न सक्ने गरी व्यवस्था गर्छौं।” पर्वत जिल्लामा दुई वर्ष पहिलेदेखि पाँचवटा गाविसबाहेक सबै गाविसका बासिन्दा र यो वर्षदेखि कुश्मा नगरपालिकाका सबै वडाका वृद्ध, एकल महिलालगायतलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ।
 
उत्तरी क्षेत्रमा बेनीस्थित राष्ट्रिय वाणिज्य बैंकले रकम वितरणको जिम्मा लिएको छ । कुश्मा नगरपालिका क्षेत्रमा विभिन्न बैंकलाई जिम्मा दिइएको छ । पातीचौर क्षेत्रमा सेवा विकास बैंकले जिम्मा लिएको छ ।
 
कार्कीनेटा क्षेत्रमा मुक्तिनाथ बैंकले पनि वितरणको तयारी गरेको जिविस पर्वतका सामाजिक सुरक्षा शाखा प्रमुख चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। “सबै बैंकमा समयमा नै निकासा पठाएका छौँ” जिविसले असोज ४ गते केन्द्रबाट निकासा भएपछि ६ र ७ गते नै बैंकमा रकम पठाइएको थियो। बैंकले समयमा नै काम सकेको भए दसैँं अगाडि नै सबैले सामाजिक सुरक्षाभत्ता पाउने अवस्था थियो ।
 
जिविस पर्वतले दिएको जानकारीअनुसार पर्वतमा यस चौमासिकमा रु १५ करोड सामाजिक सुरक्षाभत्ता निकासा गरिएको छ । जिल्लामा २० हजार जति सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ