वीरगन्ज । पर्सा प्रहरीको कार्वाहीमा गए राती एक जना युवकको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राती ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी युवकको मृत्यु भएको हो ।
दशैं तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागु गरेको विशेष सुरक्षा योजना अन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान एरियाको नियमित गस्ति गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार भई आउदै गरेका दुइ जनालाई रोकी चेकजाच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाउँदा प्रहरीले गरेको जवाफी कार्यवाहीमा गोली लागि युवकको मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले जानकारी दिए । मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरिक्षक श्रेष्ठले बताए ।
प्रहरीको जवाफी कार्यवाहीमा मृत्यु भएका युवक भारतीय हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । मृतक पर्वको वेला वीरगन्जमा अपराधीक घटना घटाउन आएको प्रहरीले शंका व्यक्त गरेका छ ।
सनाखत नभएपनि मृतक भारत विहारको रक्सौल निवासी दिसाद आलम रहेको प्रहरी श्रोतले जनाएको छ । वीरगन्जका चर्चित व्यपारी सुरेश केडियाको केही महिना अगाडी भएको अपहरणमा संलग्न रहेको र प्रहरीको खोजी सुचिमा समेत रहेका आलमको भिडन्तको क्रममा मृत्यु भएको श्रोतले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली बरामद गरेको छ । मृतक युवकको शव परिक्षणकालागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।