arrow

दार्चुला सदरमुकाममा पेट्रोल पम्प नहुँदा समस्या

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०८० जेठ २९ सोमबार
darchula-pump.JPG

दार्चुला ।  दार्चुला जिल्ला सदरमुकाममा एउटा पनि पेट्रोल पम्प छैन । बाक्लो जनसङ्ख्या रहेको बजार क्षेत्रमा पेट्रोल पम्प नहुँदा उपभोक्ताहरू मारमा परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाबाट ७२ किलोमिटर दूर पर्ने गोकुलेश्वरमा मात्रै डिजेल र पेट्रोल पाउने पम्प छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको बालिचन आयल स्टोरले गोकुलेश्वरदेखि खलङ्गा र मार्मा लटिनाथका सवारी साधनको माग पूर्ति गर्दै आएको छ । नेपाल आयल निगमबाट मान्यताप्राप्त पेट्रोल पम्प नहुँदा इन्धनका सेवाग्राही मारमा परेका हुन् । 

जिल्ला सदरमुकामबाट तीन किलोमिटर टाढा महाकाली नगरपालिका–५ किम्तडीमा रहेको महादेव इन्टरप्राइजेज आयल स्टोरले भने डिजेल मात्रै बेच्ने गरेको छ । गोकुलेश्वरमा रहेको बालिचन आयल स्टोरले अहिले डिजेल प्रतिलिटर १६० रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ८० पैसामा बिक्री गरिरहेको छ । डिजेल मात्रै बेच्ने महादेव इन्टरप्राइजेज आयल स्टोरले २ रुपैयाँ बढी १६२ रुपैयाँमा डिजेल बिक्री गरिरहेको छ । 

पेट्रोलियम पदार्थ नपाइँदा कालोबजारी
पेट्रोलियम पदार्थको कारोबार गर्न नेपाल आयल निगमको मान्यता चाहिन्छ । जिल्लामा पेट्रोलियम पदार्थ भण्डारणका लागि आधिकारिक पम्प नहुँदा कालोबजारी मौलाएको छ । जिल्लाभरि दुई दर्जन बढी व्यापारीहरू नियम विपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । जिल्ला सदरमुकाम क्षेत्रको बांगाबगर, घाटबजार, बीच बजार, बसपार्क र गल्फैमा दर्जन व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको विक्री वितरण गर्छन् । 

यस्तै दत्तु, पस्ती, गोकुले नाइल, लटिनाथ लगायतका ठाउँमा व्यापारीहरूले बोतल तथा जर्किनबाट इन्धन विक्री गर्ने गर्छन् । अवैध कारोबारीले पेट्रोल र डिजेल प्रतिलिटर २०० देखि २२० रुपैयाँसम्म बेच्दै आएका छन् । अवैध कारोबार गरिरहेका व्यापारीबाट गाउँपालिका र नगरपालिकाकाका कार्यालय, सरकारी कार्यालयहरूसहित अन्य उपभोक्ताले चर्को मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्दै आएका छन् । बजारमा चर्को मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध हुने हुँदा सवारीसाधनहरुले समेत गाडी भाडा बढाएका छन् । 

अवैध कारोबारीलाई कारबाही गर्न चुनौती 
पेट्रोलियम पदार्थको अवैध कारोबार गर्नेहरूलाई कारबाही गर्न चुनौती देखिएको छ । किनकि बजारको बढ्दो माग उनीहरूले पूर्ति गरिरहेका छन् । अधिकांश व्यापारीका आफ्नै सवारी साधन भएकाले कालोबजारी हुदैछ भन्न पनि सकिने अवस्था छैन । तर, यहाँका सवारीसाधनले भने उनीहरूबाटै डिजेल, पेट्रोल खरिद गरी सञ्चालन गर्छन् । बजार अनुगमन गर्ने निकायसँग उनको जवाफ आफ्नै लागि हो भन्ने हुन्छ । अहिले अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले जिल्ला सदरमुकामका विभिन्न पसलहरूमा छापा हानेको छ । प्रहरीको छापापछि पूर्ववत् रूपमा विक्री वितरण गरिरहेका व्यापारीहरूले अहिले पेट्रोलियम पदार्थको अभाव देखाउन थालेका छन् ।

दार्चुलाका अधिकांश व्यापारीहरूले आफ्नै सवारी साधनका लागि भन्दै पेट्रोलियम पदार्थ खपत गरी राख्ने गरेको पाइएकाले कारबाही गर्न पनि चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । पेट्रोलियम पदार्थको अभाव खड्किएको यो अवस्थामा प्रशासनले सहज रूपमा पेट्रोलियम पदार्थको उपलब्धताका लागि आयल स्टोरको पहल गर्न चासो दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ