arrow
ADVERTISEMENT

साहित्यमा हाइकु

logo
शीतल गिरी,
प्रकाशित २०८० असार २ शनिबार
article-sheetal-giri-2080-03-02.jpg

सातौँ शताब्दीमा लेखिएका एकतीस अक्षरीय जापानी ‘ताङका’ तेह्रौं शताब्दीमा फस्टाएको देखिन्छ । मोरीताके (१४५२–१५४०) जापानका पहिलो हाइकु कवि थिए भने स्व. शंकर लामिछाने, क्षेत्रप्रताप अधिकारी, अभि सुवेदी, रत्नशम्शेर थापा, पुष्कर लोहनी आदिका सद्प्रयासबाट नेपालमा हाइकु भित्रिएको पाइन्छ । 

सटिक तर अर्थपूर्ण कुरालाई तीन हरफे हाइकुभित्र मिलाएर अभिव्यक्त गरिने ५ः ७ः ५ः अक्षर हुन्छ । यसको भावना मनमोहक हुनुपर्छ । सानो सत्र अक्षरीय हाइकु अभिव्यक्तिको सजिलो माध्यम मात्र होइन, झिनामसिना तीनहरफे हाइकुभित्र अनेक बिम्ब, सङ्केत र अनुमान अटाएका हुन्छन् । आनन्दका खोजमा निस्केका सांसारिक मानिसहरूलाई केही क्षणका निमित्त आनन्द विभोर बनाउँदै उनीहरूका जीवनमा परिष्कार भर्ने काम गर्नु हाइकुको मूल धर्म हो ।
    
यसो भनौँ हाइकुले मानवीय भवलाई विकसित गर्ने काममा महत्व राख्ने गरेको पाइन्छ । जापानी मान्यता अनुसार— कुनै दृश्य, त्यो दृश्यबाट उद्वेलित भावना, त्यो भावना अभिव्यक्तिको लागि अपनाएको बिम्बले औल्याएको सङ्केत र त्यो सङ्केतबाट पाठकमा लाग्ने घत— हाइकुमा हुनुपर्ने तत्व हुन् । त्यसैले हाइकु कविहरू झिनामसिना बिम्ब मात्र स्केच गर्छन् । अर्थात् सबै कुरा वर्णन गर्दैनन् । किनभने शब्द थुपारेर सबै वर्णन गर्दा रिक्तता शून्य हुन्छ ।
    
रिक्तताको अभावमा सम्भावना रहँदैन भन्ने मान्यता आधुनिक जापानी कवितामा पनि पाइन्छ भनी क्षेत्रप्रताप अधिकारी लेख्छन् । हाइकु सम्राट्को रुपमा चिनिने कवि माचुओ वाशो (१६४४–१६९४) ले हाइकुको साथै केही नवीन तत्व घनिभूत गरेर यो विधालाई लोकप्रिय बनाए । 

जापानीहरूले हाइकुको महत्व जति गरेका छन् त्यति अरु देशकाले गर्न सकेका छैनन् । शंकर लामिछानेबाट शुभारम्भ भएको नेपाली हाइकुले आज नेपालका सबै साहित्यिक पत्रिकामा प्रवेश पाउन थालेका छन् । तथापि यसले नेपाली भाषालाई आफ्नो उर्वरभूमि बनाउन धेरै नै साधना तथा संघर्षरत रहनुपर्ने अवस्था देखिन्छ ।
    
हाइकुलाई फेशनको रुपमा मात्र नलिइ यसको संरचनालाई विशिष्टीकृत रुपमा प्रस्तुत गर्न सकेका खण्डमा हाइकुको महिमा अझ बढ्ने कुरामा कुनै सन्देह छैन । नेपाली कविता यात्राको क्रममा देखापरेको हाइकुले खासै उपलब्धिहासिल गर्नसके जस्तो पाइँदैन । शंकर लामिछाने, क्षेत्रप्रताप अधिकारी, अभि सुवेदी, रत्नशमशेर थापा, पुष्कर लोहनी आदिका हाइकुले खासै उपादेयता दिन सकेनन् । यो सानो सत्र अक्षरीय कवितामा सौन्दर्य चेतना, पूर्वस्मृति र अनुभूतिहरू घनिभूत हुनुपर्दछ । सौन्दर्य चेतना, पूर्वस्मृति र अनुभूतिलाई हाइकुको आत्मा मानिन्छ ।

हाइकुले मनोरञ्जनका साथसाथै जीवन र जगतलाई बोध गराउने तथा अपूर्ण मानवजीवनलाई पूर्णता दिने गरेको पाइन्छ । हाइकुलाई प्रभावकारी तथा उपादेय तुल्याउनका निमित्त यसका संरचना तथ मूल्याङ्कनमा विशेष साधना गरिनु पनि आवश्यक देखिन्छ । हाइकु स्वयम्मा पूर्ण, स्पष्ट र कोमल पनि हुनुपर्दछ । हाइकुमा समसामयिक जीवनबोध र जगतबोध पनि रहनुपर्दछ । ऋतुगत प्रस्तुतिभित्र जीवनको सारको दर्शन दिने हाइकु नेपाली साहित्यमा बलियो बन्न सकेको छैन ।
    
जापानमा जन्मेको हाइकु नेपालमा राम्र्रो फस्टाउने संभावना देखापरेको भने छ । नेपाली प्रकृतिमा बिम्ब प्रशस्त रहेको हुँदा हाइकु जन्मन सक्नु पर्ने जस्तो लाग्छ । तर कतिपयद्वारा लेखिएका केही हाइकुलाई नियाल्ने हो भने यसले देखावटी फेशनको रुपमात्र लिएको अनुभव नहुने होइन । यहाँको प्रकृति र संस्कृतिले अनन्त सम्भावना बोकेको हुँदा काब्यभित्र पनि कसिलो, रसिलो र हँसिलो हाइकु नेपालमा अत्यन्त सुन्दर शिशुको रुपमा जन्मन र हुर्कन बाँकी छ । हाइकुका श्रोताहरू भन्दा बढी पाठकहरू हुन्छन् र श्रोताहरूलाई भन्दा पाठकहरूलाई प्रभाव पार्नु हाइकुको सफलता वा विशेषता हो ।
    
जापानी ढाँचाको कविता हाइकुको स्वरुप इदोकाल (१६०३–१८६७) मा प्रष्टिएको हो । जन्मकालमा आजको जस्तो स्वरुप हाइकुको थिएन । माचुओ वाशो र कोवायासी इसा जस्ता कवि साहित्यकारले जब छोटा रुपको कविता कोरे— हाइकुको एउटा स्वरुप बन्यो । यिनले १७ अक्षरमा बनाएका पंक्ति जसमा ५, ७ र ५ अक्षरका तीन हरफे मात्रात्मक एकाइका मविता त्यसताकाका कविको सिर्जनाको एउटा रुप थियो । 

नेपाली हाइकु कविका खासगरी युवापुस्ताको जोश र जाँगरमा परिष्कार गर्ने हो भने निश्चय नै नेपाली हाइकुको भविष्य अति सुन्दर छ भन्नुमा कुनै अयुक्ति नहोला ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ