काठमाडौं । इलामको दानाबारी र महमाई बीच पर्ने माईखोलाको लोदिया दोभानमा शुक्रबार भएको डुंगा दुर्घटनाप्रति काँग्रेसले दुःख प्रकट गरेको छ । लोदिया दोभानमा शुक्रबार डुंगा पल्टिदा ७ जनाको मृत्यु भएको थियो भने केही वेपत्ता भएका थिए ।
यस्तै, काभ्रेमा शुक्रबार साँझ भएको बस दुर्घटनाप्रति समेत दुःख जनाएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने, ११ जना घाइते भएका थिए ।
शनिबार कांग्रेसले विज्ञप्ति जारी गरी माइखोलामा भएको डुंगा दुर्घटनामा परेर वेपत्ता भएकाहरुको तत्काल खोजी गर्न र दुवै घटनाका घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
असोज २९, २०७३
प्रेस विज्ञप्ति
इलामको दानाबारी र महमाई बीच पर्ने माईखोलाको लोदिया दोभानमा शुक्रबार डुंगा पल्टिदा ७ जनाको मृत्यु र केही व्यक्ति वेपत्ता भएको तथा काभ्रेमा शुक्रबार साँझ बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र ११ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उक्त दुवै दुर्घटनामा परि असामयिक सहादत प्राप्त गर्नु हुने सबैप्रति नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ ।
माइखोलामा भएको डुंगा दुर्घटनामा परि वेपत्ता भएका सबै यात्रुहरुको तत्काल खोजी गर्ने र दुवै घटनाका घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । साथै, नेपाली कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव