गोवा (भारत)। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिएका छन् । ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा भारत पुगका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उनलाई पुनः निम्तो दिएका थिए ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सीले भने– “म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।” भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् ।
भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए।
चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठूलो परिमाणमा वृद्धि गरेको छ ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पुर्याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका थिए । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपनि नेपाल र चीनबीच हजारौँ वर्षदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल र चीनबीच निकै ठूलो असमानता रहेपनि दुई देशबीचको सम्बन्ध निक्कै प्रगाढ छ । दुई मुलुकबीचको सम्बन्ध संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित छ ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहोर्याउँदै नेपाली भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताएका थिए । चीनले खासगरी विमानस्थल, विद्युत् आयोजना र सडकलगायत पूर्वाधार विकासमा महत्वपूर्ण अनुदान सहायता र आर्थिक सहयोग प्रदान गर्दैआएको छ ।
मन्त्री महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु राखेका थियो । सो अवसरमा चीनका राष्ट्रपति सीले चीन, नेपाल र भारतबीचको त्रि–पक्षीय सम्बन्धलाई सुदृढ बनाएर अगाडि बढ्ने नेपालको प्रस्तावमा समर्थन जनाएको मन्त्री महतले बताए ।
चीनका तर्फबाट नेपाली विद्यार्थीलाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति कोटामा वृद्धि गर्ने, कृषि, उद्योग, जलविद्युत् र ऊर्जा विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । सो अवसरमा राष्ट्रपति सीले बिम्स्टेकको प्रभावकारी कार्यान्वयनका लागि यस क्षेत्रका मुलुकहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि बिम्स्टेक संयन्त्रलाई मजबुत तुल्याउनुपर्ने खाँचो औंलयाएका थिए।
त्यसैगरी, उहाँले नेपालको आन्तरिक एकतालाई मजबुत बनाएर जारी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएको मन्त्री डा महतले जानकारी दिए । करिब ४० मिनेट भएको उक्त द्विपक्षीय वार्तामा लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने प्रसङ्ग पनि उठेको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शंकरदास बैरागी, उच्च चिनियाँ अधिकारी र भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालको उपस्थिति थियो । यसअघि प्रधानमन्त्री दाहालले भुटानी समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए ।