arrow

साफ च्याम्पियनशिपमा नेपाल–कुवेत मैदानमा, नेपाल २-० ले पछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
saff-championship-nepal-kuwait-2023.jpg

काठमाडौँ । पुरुष साफ च्याम्पियनशिप फुटबलको १४ औँ संस्करण आजदेखि भारतमा शुरु भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेलिरहेको छ । 

साविक उपविजेतासमेत रहेको नेपाल आमन्त्रित टिम कुवेतसँग दबाबमा रहेको छ । खेलको मध्यान्तरअघि नै नेपाल २–० ले पछि परेको छ । 

खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत पहिलो गोल गरेका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेपछि उनले गोल गरे ।

त्यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।

आजकै अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् । यो खेल ७ः४५ बजे शुरु हुनेछ । 

नेपाल कुवेत भिडन्त
नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद शुरुआत गर्न चाहन्छ । तर बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन ।

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो । एएफसी एसिया कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।

नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । 

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् । 

नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । 

समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ