arrow

साफ च्याम्पियनशिपमा नेपाल पराजित, कुवेतसँग ३–१ को हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
saff-championship-nepal-kuwait-2023.jpg

काठमाडौँ । पुरुष साफ च्याम्पियनशिप फुटबलको १४ औँ संस्करणको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३–१ को हार बेहोरेको हो । 

साविक उपविजेतासमेत रहेको नेपाल आमन्त्रित टिम कुवेतसँग शुरुआतदेखि नै दबाबमा खेलेको थियो । नेपालले मध्यान्तरअघि २ तथा मध्यान्तरपछि १ गोल खाएको हो । 

खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत पहिलो गोल गरेका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेपछि उनले गोल गरे ।

त्यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।

६५ औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै कुवेतलाई ३–० को अवस्थामा पुर्याए । 

तर ६७ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका भए पनि नेपालले त्यसपछि गोल भने गर्न सकेन । 
आजकै अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् । यो खेल ७ः४५ बजे शुरु हुनेछ । 

अहिलेसम्म नेपाल र कुवेतबीच हालसम्म १० खेल भएकामा  ९ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । 

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् । 

नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । 

समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ