काठमाडौं । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी इक्वेडरको राजधानी क्वेटोमा हुने ‘बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसङ्घीय विश्व सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।
यही अक्टोबर १७ देखि २० तारिखसम्म हुने सम्मेलनमा राष्ट्रसङ्घका सम्पूर्ण सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा मन्त्री सहभागी हुनेछन् ।
सम्मेलनमा दिगो विकास लक्ष्यमा आधारित एजेन्डाका अतिरिक्त सहरी पूर्वाधार, बसोबास, सुरक्षित खानेपानी, सरसफाइ, सहरी कानुन तथा नीतिगत पक्ष, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप व्यवस्थापन तथा पुनःनिर्माण, बसाइँसराइ तथा सुकुम्बासी समस्या व्यवस्थापनलगायत एजेन्डामा छलफल हुनेछ ।
सन् १९७६ मा क्यानडाको भान्कुबर सहरमा पहिलोपटक सम्पन्न भएको र प्रत्येक दुई दशकको अन्तरालमा हुने यो सम्मेलन यसअघि दोस्रो पटक सन् १९९६ मा टर्कीको इस्तानबुलमा सम्पन्न भएको थियो ।
सम्मेलनमा नयाँ सहरी एजेन्डाका साथसाथै नेपालका लागि समेत २० वर्षे कार्ययोजना घोषणा हुने मन्त्रालयका प्रवक्ता रामचन्द्र दङ्गालले जानकारी दिए ।
मन्त्री केसीले सम्मेलनको विशेष सभालाई सम्बोधन गर्नेछन् । साथै उनले खानेपानी आपूर्ति तथा सरसफाइ सहकार्य परिषद्को बैठकमा समेत सहभागिता जनाउनेछन् ।
प्रतिनिधिमण्डलमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव कमलशाली घिमिरे, सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा रमेशप्रसाद सिंहलगायत सहभागी छन् । रासस