arrow

टुहुरो गैँडाको केटो म-यो

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
rhino.jpeg
रत्ननगर । पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ । 
 
चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले सौराहामा राखेर उपचाररत गैँडाको बच्चा (केटो) मरेको जानकारी दिए । करिब पाँच महिनाको केटोलाई पश्चिम मेघौलीबाट उद्धार गरेर राखिएको थियो । 
 
उद्धारका बेला शरीरभरि बाघको आक्रमणले घाउ नै घाउ थियो । बायाँ खुट्टाको पिँडुला भाँचिएको र दायाँ खुट्टाको तिघ्रा नजिकै गम्भीर चोट लागेको थियो । सोही चोटका कारण मरेको निकुञ्जले जनाएको छ । 
 
अघिल्लो महिना होटल मेघौली सेराईले करेन्ट छाडेको स्थानमा आउँदा करेन्ट लागेर मरेको माउ गैँडाको बच्चा भौँतारिँदै जाँदा बाघको पञ्जामा परेको अनुमान निकुञ्जले गर्दै आएको थियो । 
 
ऊ सँगै नवलपरासीबाट ल्याइएको अर्को सानो टुहुरो केटो भने अहिले तन्दुरुस्त भएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । 
 
नवलपरासी अमलटारीको मयुरे सामुदायिक वनस्थित नदी किनारमा फेला पारेपछि भदौ २० गते उसको उद्धार गरिएको थियो । उक्त वनमा फेला परेकाले उसलाई मयुरे भनेर बोलाइन्छ । 
 
चितवन निकुञ्जमा पटक पटक यसरी वन्यजन्तुका बच्चाहरु आमासँग बिछोडिँदा, बाघको आक्रमणमा परेर उद्धार गर्नुपर्ने अवस्थामा भेटिँदै आएका छन् । 
 
तर भरपर्दो वन्यजन्तु अस्पताल र उद्धार केन्द्र नहुँदा भने यस्ता वन्यजन्तु जोखिममा छन् । 
 
केही महिना अघि रौतहटबाट तस्करको गोली लागेर गम्भीर घाइते भई उद्धार गरिएको एउटा गैँडासमेत चितवनमा उपचारका क्रममा अघिल्लो महिना मरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ