arrow

साफ च्याम्पियनशिप फुटबल

भारतविरुद्ध इतिहास रच्न मैदानमा नेपाल, मध्यान्तरसम्म बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
football-fan-2080-03-09.jpg

काठमाडौँ । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा नेपालले आयोजक भारतसँग खेलिरहेको छ । सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । 

मध्यान्तरसम्म गोलरहित बराबरीको खेल भएको छ । दुवैतर्फ गोलका लागि अवसर पाए पनि गोलमा परिणत हुन सकेको छैन । 

नेपालका लागि यो खेल गर या मरको खेल हो । यो खेलमा हार बेहोर्दा नेपालको अर्को चरण सम्भावना समाप्त हुनेछ । 

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यो फाइनल जस्तै भएको प्रतिक्रिया दिएका छन् । नेपालले भारतलाई हराउन सकेमात्र अन्तिम खेलमा पाकिस्तानसँग खेल्दा जितको अर्थ रहने छ । 

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत ३ अंकसहित दोस्रो तथा आमन्त्रित कुवेत ६ अंक बटुल्दै शीर्ष दुई स्थानमा छ । नेपाल र पाकिस्तान अंकविहीन छन् । 

पाकिस्तान भारतसँग पराजित भएको थियो । नेपाल पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । आजको अर्को खेलमा कुवेतले पाकिस्तानलाई ४–० ले हरायो ।  

नेपाल कुवेतसँग ३–१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । 

नेपाल भारत भिडन्त हेड टु हेड
नेपालले अहिलेसम्म समग्रमा २४ पटक भारतको सामना गरेको छ । त्यसमध्ये नेपाल तीन पटकमात्र जित हासिल गरेको छ । चार खेल बराबरीमा सकिएको छ । 

बाँकी १७ खेलमा नेपाल पराजित छ । साफ च्याम्पियनशिपमा भने नेपाल र भारतबीच आठ पटक भिडन्त भएको छ । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ । 

बाँकी सात खेलमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग उसकै भूमिमा अहिलेसम्म जितविहीन छ । यस्तो नेपाल र भारतबीचको खेल पनि ८ छ  । त्यसमा २ बराबरी र ६ हार छन्  । नेपालले आजको खेलमा भारतलाई हराउने हो भने इतिहास रच्नेछ । 

आजको खेलका दुई आकर्षण खेलाडी
आजको खेलमा भारतको तर्फबाट कप्तान सुनील क्षेत्री र नेपालको तर्फबाट अञ्जन विष्ट सबैको नजरमा रहने छन् । 

नेपालीभाषीसमेत रहेका सुनील खुवै लयमा छन् । पाकिस्तानविरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । 

त्यस्तै भारत पनि लयमा छ । उसले पछिल्ला सात खेल जितेको छ । एक गोल पनि खाएको छैन । 

यता अञ्जनले कुवेतविरुद्ध गोल गरेका थिए । उनले गरेको गोल १२ औँ अन्तर्राष्ट्रिय गोल हो । 

उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा दोस्रो स्थानमा छन्  । उनले भन्दा बढी गोल दुई खेलाडीमा हरि खड्का र नीराजन रायमाझी छन्  । दुवैले समान १३ गोल गरेका छन्  । 

नेपालले जारी साफ च्याम्पियनशिपमा दुई खेल खेल्न बाँकी रहँदा अञ्जनले नेपालका तर्फबाट कीर्तिमान राख्न सक्छन् । 

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । 

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ