arrow

‘महाभेला बोलाएपनि काँग्रेसको गुटवन्दी अन्त्य हुँदैन’

प्रचण्डजी भंग भंग बोलिदिनुहुन्छ, खोइ काम गरेको ?

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
mahat-ji-naya.jpeg
काठमाडौं । काँग्रेस नेता रामशरण महतले महाभेला बोलाएपनि कांग्रेसभित्रको गुटवन्दी अन्त्य नहुने बताएका छन् 
 
रिपोटर्स क्लबको साक्षात्कारमा नेता महतले भने, ‘अहिले काँग्रेसभित्र चरम गुटबन्दी छ । पार्टीभित्र आँफैमा लडाई भैरहेको छ । युवाहरुको आन्तरिक लडाइमै उर्जा समाप्त भैसकेको छ ।’ उनले काँग्रेस कमजोर भए मुलुक र लोकतान्त्रिक पद्धति नै कमजोर हुने चिन्ता गरे । 
 
मुलुकलाई आर्थिक विकासको बाटोमा लैजानु पर्ने धारणा अघि सार्दै त्यसको लागि राजनीतिक स्थायीत्व, सुशासन र उपर्युक्त वातावरण बनाउनुपर्नेमा महतले जोड दिए । महतले अघि थपे,‘विश्व समयुदाय आर्थिक विकास, लगानी वृद्धि, रोजगारी र सामाजिक न्यायको दौड छ । तर हाम्रो देशमा यी कुरा खाली मौखिक नारामा सिमित छन् ।’ 
 
महतले नेपालमा राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको र सुशासन समेत नभएको गुनासो गरे । यद्यपि, नेता महतले नयाँ कानूनहरु लगानी प्रर्वद्धनको लागि र स्पेशल ईकोनोमिक जोनको लागि आएको बारेमा भने खुशी प्रकट गरे । 
नेता महतले मुलुकको निकास र विकासको लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । 
 
प्रधानमन्त्री प्रचण्डले भाषण बढि गरे, खोई काम ? 
उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कामभन्दा बढि भाषण गरेको आरोप लगाए । उनले भने,‘भाषणवाजी बढि भयो, कामतिर जोड भएन, परियोजनाबारे कुनै गम्भिरता देखिएन ।’ उनले कुरा गरेर आकांक्षा बढाउने कुरा एउटा भएपनि काम गरेर देखाउन दाहाललाई चुनौति दिए । उनले भुकम्पपीडित अहिलेपनि दुःखको मारमा रहेको गुनासो पोखे । 
 
महतले भने ,‘प्रचण्डजी भंग भंग बोलिदिनुहुन्छ, जबकी यो सरकारमा हाम्रो पार्टी पनि मेजर होल्डर हो नि, तर कतिपय दलीय सहमति जुटाएर बोल्नुपर्ने विषयमा उहाँ त्यतिकै हचुवामा बोल्नुहुन्छ ।’ उनले प्रचण्डलाई ठोस प्रोजेक्ट र जनताको सेवा प्रवाहमा ध्यान दिन सुझाव दिए । 
 
यस्तै, महतले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने स्पष्ट पारेका छन् । महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिता बाहेक अन्य उपलब्धि हासिँल  गर्न नसक्ने बताएका हुन् । महतले भने,‘नेपाल ब्रिक्सको सदस्य राष्ट्रपनि होईन, त्यसैले यसमा हामीले ठूलो अपेक्षा गर्नुभन्दा पनि द्धिपक्षीय महत्वपूर्ण भेटवार्ताका उपयोगिताहरु हुन सक्छन्, त्यसबाहेक अरु त के नै हुन्छ र ?’
 
संविधान संशोधनबारे सरकारले हामीसँग छलफल नै गरेको छैन 
संविधानलाई लिएर असन्तुष्ट बनेको मधेश केन्द्रित दल लगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको महतको आरोप थियो । उनले भने,‘सरकार बनेको दुई महिना भैसक्यो, तर संविधान संशोधनबारे अहिलेसम्म कुनै छलफल नै भएको छैन, अरुसँग भए मलाई थाहा छैन, कमसेकम सत्तापक्षको हाम्रो दल काँग्रेससँग भएको जानकारी मलाई छैन ।’
 
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संविधान संशोधनको लागि आफ्नो पार्टी बाधक नबन्ने तर संशोधनको औचित्य र आधार सरकारले प्रस्तुत गर्नुपर्ने स्पष्ट रुपमा राखिसकेकोले सरकारले त्यही बमोजिम गृहकार्य गर्नुपर्ने बताए । उनले थपे,‘सरकारले सहमति जुटाउनुपर्छ, एमालेसँग त परै जाओस्, काँग्रेससँग त अहिलेसम्म यसबारेमा छलफल भएको छैन ।’
 
उनले सिमांकनको विवाद समाधानको लागि पनि दलहरुवीच राष्ट्रिय सहमति बन्नुपर्ने स्पष्ट पारे । यद्धपी उनले सिमांकनको विवाद मिलाउने नाममा जिल्लालाई यता र उता पार्ने गर्दा झनै विवाद हुने भए त्यसबारेमा सम्बन्धित जिल्लाका नागरिकरुलाइ जनमतसंग्रह गर्न दिनुपर्ने बताए । उनले थपे,‘प्रान्तको झगडमा जिल्लालाई यता उता पार्ने काम हामीले गर्ने होईन, स्वयम त्यहीँका जनतालाई अधिकार दिनुपर्छ ।’
 
अहिलेकै संरचना अनुसार चुनाव हुनुपर्छ 
महतले स्थानीय निकायको पूर्नसंरचनाबारे हतारमा निर्णय गर्दा झनै विवाद उत्पन्न भएको गुनासो पोखे । महतले भने,‘आयोगले एकातिर एउटा कुरा भनेको छ, हामी राजनीतिक दलहरुले चाहीँ हतार–हतारमा निर्णय गर्यौं, अहिले समस्या त्यही भएर उत्पन्न भएको छ ।’ उनले पूर्नसंरचना गर्दा आयोगले भनेझैं ५६५को संख्या र दलहरुले भनेझैं ९०० को संख्या बनाएपनि समस्या समाधान नहुने ठोकुवा गरे । 
 
महतले संविधानको ८ औं अनुसूचीमा उल्लेख भएको अधिकार अनुसार पूर्नसंरचना गर्नुपर्ने धारणा राख्दै त्यसको लागि राम्रोसँग विश्लेषण नै नभएको गुनासो पोखे । उनले थपे,‘संविधानको ८ औं अनुसूची अनुसारको अधिका ५६५ को संख्याले वा ९०० को संख्या दुवैले गर्न सक्दैन्, त्यसैले यो अधिकार उपयोग हुनेगरि संख्या निर्धारण गर्नुपर्छ ।’ महतले अहिले दलहरुले भनेझैंको संख्यामा चुनाव गराएपनि आगामी ४० वर्षसम्म पनि संरचना बन्नै नसक्ने ठोकुवा गरे । 
 
उनले मुलुकमा स्थानीय निकायको निर्वाचन आवश्यक भएकोले अहिलेकै गाउ र जिल्लाको संरचना अनुसार निर्वाचन गर्नुपर्ने सुझाव दिए । महतले भने,‘साँच्चिकै यही फागुण चैत्रभित्र चुनाव गराउने हो भने अहिलेकै संरचना अनुसार चुनाव गराउनुपर्छ ।’ देशलाई प्रयोगशाला बनाउन नहुने भन्दै बहुत सुजबुजका साथ दलहरुले राष्ट्रिय सहमति कायम गरेर निर्वाचन गराउनुपर्ने महतको भनाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ