गोवा । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स र विमिस्टेक देशहरुको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनप्रति शोक प्रकट गरे ।
प्रधनमन्त्री दाहालले विमिस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै विमिस्टेक देशहरुको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने बताए ।
दाहालले विमिस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गरे ।
प्रधानमन्त्रीले विमिस्टेकलाई बुद्धिष्ट सर्किट र विमिस्टेक सम्पदालाई जोडेर नागरिक नागरिकबीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
आतंकवाद र अतिवादी सोंच बिमेस्टेक देशहरुको साझा चुनौती रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको धारणा छ । १० वर्ष सशस्त्र युद्ध गरेर संसदीय राजनीतिमा आएका दाहालले आतंकवादको कुरा गरेर छिमेकी तिरै कुरा तानेका हुन् ।
यसअघि, ब्रिक्सको छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आतंकवादको विषय प्रमुखताका साथ उठाएका थिए । मोदीले त पाकिस्तान नै मूल समस्या भएको भनेरै छलफलमा कुरा उठाए ।