चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताएका छन् ।
प्रेस सेन्टर चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताए ।
विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उनले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने विषयमा पनि अध्ययन भइरहेको सुनाए । त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्ने वा दुवै विश्वविद्यालय एकै ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको मन्त्री पौडेलले बताए ।
यस वर्ष त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना लिने जनाएपछि दुई विश्वविद्यालयका बीचमा विवाद अझै चुलिएर गएको छ । मन्त्री पौडेलले आउँदो शैक्षिक सत्रमा समयमै विद्यार्थी समक्ष पुस्तक पुर्याउने गरी काम भइरहेको बताए ।
कक्षा १ को पुस्तक रङ्गिन गरिने र कक्षा १० को पाठ्यक्रम परिवर्तन हुने हुँदा ती दुई कक्षाका बाहेक अन्य कक्षाका पुस्तक छापिने काम भइरहेको जानकारी गराए । पाठ्यपुस्तक छपाईमा भएको ढिलाईले अधिकांश स्थानमा पठनपाठ प्रभावित भएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला मन्त्री पौडेलले किताव छपाइको काम भइरहेको भनेका हुन् ।
यद्यपि, दुई दिन अघि मात्रै मन्त्री पौडेलले किताब छपाईको विषय टुंगिन एक हप्ता लाग्ने बताएका थिए । किताब छाप्न कुन तहको कस्लाई दिने भन्ने यकिन नभएको मन्त्रालयका सचिवहरुले बताएका छन् । फाइल मन्त्रालयमै अड्किएको उनीहरुको भनाई छ ।
हरेक क्षेत्रमा विश्वविद्यालय बनाउने सरकारी योजनाअनुरुप क्षेत्र नं २ मा राजर्षि जनक विश्वविद्यालय खोल्ने तयारी सरकारले गरिरहेको उनले बताए ।
निर्वाचनसम्बन्धी ऐन बनाउने काम द्रुत गतिमा भइरहेको र कात्तिक मसान्तभित्रमा पुनःसंरचना आयोगको प्रतिवेदन आएमा चैत महिनाभित्रमै स्थानीय निकायको निर्वाचन गर्न सकिने मन्त्री पौडेलले बताए ।