काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावित विधानको विषयमा पूर्व अध्यक्षहरूले कडा असहमति जनाएका छन् । आउँदो ४ गते बस्न लागेको विशेष साधारण सभाको बैठकप्रति समेत असन्तुष्टि जनाउँदै धेरै पूर्व अध्यक्षहरूले यसलाई ‘इतिहासकै विवादित मस्यौदा’ बनेको आरोप लगाएका छन् ।
प्रस्तावित विधान विधान समिति र कार्यकारिणी समितिबाट सर्वसम्मत पारित भएर आएको छ । अब साधारणसभाको बहुमतले पारित गरेको खण्डमा भने अरू ज–जसले विरोध गरेपनि यो पारित भएकै दिनदेखि लागू हुनेछ । जसले अबको नेतृत्वको समेत पहिचान गर्नेछ । तर, महासंघका पूर्वअध्यक्षहरू भने यो विधान संशोधनको समय उचित नरहेको भन्दै विशेष साधारण सभाबाट विधान पारित गराउन खोज्नु नै गलत रहेको दाबी गर्छन् ।
विधान समितिको नेतृत्व समेत गरिसकेका पूर्व अध्यक्ष महेशलाल प्रधानले यो विधान अहिलेसम्मकै विवादित रहेको दाबी गरे । हाम्राकुरासँग कुराकानी गर्दै प्रधानले भने ‘मैले देखे अनुसार अहिलेसम्म यस्तो विवाद कहिल्यै भएको थिएन । २०४४ सालदेखि २०५० सालसम्म महासंघको नेतृत्व गरेका प्रधानले यो विधान विवादित हुन नहुने दाबी गरे ।
‘प्रजातान्त्रिक समयमा यो त्यसैपनि विवादित बन्छ । दुई पक्ष हुने वित्तिकै विवादित त यसै पनि भई नै हाल्छ ।’ उनले भने तर यसमा पनि अधिकतम सहमति जनाएर धेरैको चाहना समेट्न सक्ने बन्नुपर्छ । यस अघि पनि सदस्यता कसलाई दिने लगायतका बिषयमा विवादहरू सामान्य हुने भएपनि अहिलेको जस्तो विवाद भने हुने नगरेको स्पष्ट पारे ।
उता अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार समितिका अध्यक्ष समेत रहेका आनन्दराज मुल्मीले यो विधानले व्यक्तिगत चाहना पूरा गर्न लागेको होकि भन्ने जस्तो भान भएको भन्दै विधान यति सारो विवादित भएको भने आफूले महासंघको इतिहासमा नै नसुनेको स्पष्ट पारे ।
‘म पनि विधान समितिमा बसेर काम गरिसकेको मान्छे हुँ ।’ मुल्मीले हाम्राकुरासँग भने ‘यस्तो विवाद भने मैले अहिलेसम्म देखेको थिईन ।’उनले विधान कस्तो बनाउने भन्ने सवालमा सल्लाहकार समितिलाई एकपटक पनि नसोधिएको गुनासो पनि गरे ।
‘हामीलाई अहिलेसम्म विधान कस्तो बनाउँदा ठीक हुन्छ भन्ने सवालमा सोधिएको छैन ।’ उनले भने । तर धनगढीमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने विषयमा बोधार्थ पत्र आएकोले हामीले पनि तत्कालै काठमाडौंमा उपलब्ध सल्लाहकार समितिका सदस्यहरूको बैठक बसेर यस विषयमा विधानको दफा ६६ बमोजिम विवाद नहुने गरी गर्नू भनेर आफैंले सुझाव दिएको भएपनि यस विषयमा विधान समितिले कुनैपनि सुझाव माग नगरेको उनले स्पष्ट पनि पारे ।
त्यस्तै पूर्व अध्यक्ष विनोद कुमार श्रेष्ठले पनि यो विधान पहिलेको भन्दा धेरै विवादित बनेको भन्दै यसको विवाद समाधान गर्ने तर्फ जिम्मेवार पक्ष बेलैमा सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरे । अहिलेको विधान संशोधनको कुरा नै गलत ढंगले आएको भन्दै यसलाई नरोक्ने हो भने यो विधानमा कानूनी अड्चन पैदा हुनसक्ने धारणा व्यक्त गरे । उनले बाहिर सहमतिको नाटक रचेर भित्रभित्रै भागवण्डाको राजनीति महासंघमा मौलाउँदै गएकोले यसमा पूर्वअध्यक्षहरूले पनि सचेत गराउन खोजेको बताएका छन् ।
यस्तै गरी पूर्व अध्यक्षहरू सुरज वैध, कुश कुमार जोशी, प्रदीप कुमार श्रेष्ठ लगायत प्रस्तुत विधानप्रति असन्तुष्ट रहेका पूर्व अध्यक्षहरूले यो विधानको विषयमा बढी विवाद बढेको भन्दै चिन्ता जनाएका छन् ।
अधिकांश पूर्व अध्यक्षहरु प्रस्तावित विधानप्रति असन्तुष्ट रहेको बेला महासंघमा सर्वकालिक प्रभावशाली रहेका पूर्व अध्यक्ष चण्डीराज ढकाल भने प्रस्तावित विधानलाई पारित गराउन लविङमा लागेका छन्। उनले महासंघलाई राजनीतिबाट मुक्त गराउन र महासंघको अध्यक्षलाई कार्यकालभरि दवावरहित ढंगले काम गर्ने वातावरणका लागि पनि प्रस्तावित विधान पारित हुनुपर्ने तर्क गरेका छन्।