arrow

इलाम माईखोला डुङ्गा दुर्घटनामा मृत्यु भएकाको परिवारलाई एक–एक लाख

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
Ilam-hamrakura-new.jpeg
इलाम  । इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई एक–एक लाख आर्थिक सहायता दिइने भएको छ । 
 
जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रति मृतकका परिवारलाई एक लाख काजकिरिया खर्च र सहयता स्वरुप दिन लागेको हो । 
 
समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुङ्गा सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।
चन्डालघाटमा निर्माणाधिन रहेका छुट्टा–छुट्टै झोलुङ्गे पुल र पक्की पुल यथाशीघ्र चाँडो निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ । 
 
बैठकमा सहभागि निमित्त स्थानीय विकास अधिकारीसमेत रहेका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाका अनुसार दुवै पुल छिटो निर्माण सम्पन्न गर्न र गराउनका लागि पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, व्यवस्थापिका–संसद्मा इलामबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रालयमार्फत पुलका ठेकेदार कम्पनीलाई पहल गर्ने सहमति बैठकले गरेको हो । 
 
गत असोज २५ गते विजयादशमीको दिन महमाई–३ मा पहिरोसँगै झरेको रूखले किचेर मृत्यु भएका दुईजनाको परिवारलाई पनि समेत एक–एक लाख सहयोग दिने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिए । 
 
डुङ्गा दुर्घटनामा हराएकामध्ये आठ जनाको शव फेला परिसकेको छ भने, सातजनाको सनाखत भइसकेको छ । घटनास्थलमा गरिएको प्रारम्भिक अध्ययनले डुङ्गामा ४२ जना यात्रु चढेको पुष्टि भएको र यात्रुबाहेक केही मोटरसाइकल र सामान पनि रहेकाले ढुङ्गा भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए । 
 
डुङ्गाका यात्रुले लगाउने १५ थान लाइफ ज्याकेट र खोला तर्न मिल्ने गाडीको ट्युब डुङ्गा सञ्चालकहरूलाई उपलब्ध गराइएको छ । जिविस र गाविसको पहलमा सुरक्षा निकायबाट प्राप्त भएका ती लाइफ ज्याकेट र ट्युब उपलब्ध गराइएको हो । आगामी दिनमा हरेक यात्रुले लाइफ ज्याकेट लगाएरमात्र डुङ्गामा सवार गर्न र गराउन पनि निर्देशन गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ