arrow

टंक कार्की भन्छन, ‘भारत नेपाललाई प्रेमिका ठान्छ, तर अरुले आँखा लाएको मन पराउँदैन’

त्रिदेशीय साझेदारी भएजस्तो मलाई लाग्दैन्ः आचार्य

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
nilambar-acharya.jpeg
काठमाडौं। पराष्ट्रविद निलाम्बर आचार्यले भारतको गोवामा नेपाल, भारत र चीनवीच त्रिदेशीय साझेदारी भएकोमा आफूलाई विश्वास नलागेको बताएका छन्। साक्षात्कारमा बोल्दै आचार्यले तीन देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुकावीचमा समझादारी भएको भए संयुक्त विज्ञप्ती आउने थियो भन्दै त्यो नआएकोले आफूलाई यसमा विश्वास नलागेको बताएका हुन्। 
 
साक्षात्कारमा उनले भने,‘औपचारिक रुपमा यसको अहिलेसम्म पुष्टि भएको छैन, पुष्टि भएपछि यसबारेमा कमेन्ट गरौंला ।’ यद्धपी उनले त्रिदेशीय साझेदारीको लागि भारत र चीनले निर्णय गर्नुपर्ने बताए। आचार्यले अघि थपे,‘यदि भारत र चीनले त्रिदेशीय साझेदारीको लागि निर्णय गरे भने नेपालले त खुशीका साथ यसमा समर्थन गर्छ, यो भयो भने धेरै राम्रो हुन्थ्यो ।’ उनले यसको लागि हल्ला गर्नुभन्दापनि शान्त कुटनीतिक अभ्यासमार्फत अघि बढाउन सबै पक्षले ध्यान दिनुपर्ने धारणा राखे। 
 
ब्रिक्स सम्मेलनमा नेपालले सहभागी जनाउन पाउनु नेपालको लागि ठूलो महत्वको विषय भएको समेत आचार्यले बताए । विश्वकै उदयीमान शक्तिशाली राष्ट्रहरु सदस्य रहेको व्रिक्समा सम्मेलनमा भाग लिन पाउनु नेपालको लागि मौका भएको उनको तर्क थियो। उनले उक्त सम्मेलनका बेला विभिन्न द्धिपक्षीय भेटवार्ता हुनु सकारात्मक रहेको टिप्पणी गरे। 
 
त्यस्तै अर्का कुटनीतिज्ञ एवम् चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले त्रिदेशीय साझेदारीको लागि भारत नै तयार नभएको आरोप लगाए । उनले अघि थपे,‘त्रिदेशीय साझेदारीको लागि चीनले नै यसअघि प्रस्ताव गरेको हो तर भारतले नै यसलाई अगाडि बढाउन चाहँदैन्।’ 
 
उनले भारतले प्रोजेक्ट होल्ड गर्ने तर कार्यान्वयन पक्षमा भने गम्भिरता नदेखाएको समेत आरोप लगाए । उनले भारतले नेपाललाई प्रेमिकाको रुपमा लिएको समेत गुनासो पोखे । कार्कीले अघि थपे,‘भारत नेपाललाई यस्तो प्रेमिका ठान्छ, तर अरुले नजर नलाईदिओस् भन्छ ।’उनले भारत, नेपाल र चीनवीचको त्रिदेशीय साझेदारीले नेपाललाई मात्रै नभएर तीन वटै देशलाई उतिकै फाईदा हुने समेत दाबी गरे । उनले त्रिदेशीय साझेदारीले ढिलो चाँडो आकार लिने विश्वास व्यक्त गरे । 
 
उनले ब्रिक्स सम्मेलनमा नेपालको लागि ठूलो अवसर रहेको तर नेपालले सदुपयोग गर्न नसकेको समेत आरोप लगाए । उनले भने,‘ब्रिक्स सम्मेलन पशुपतिको जात्रा सिद्राको व्यापार जस्तो थियो तर त्यसो हुन सकेन, हात मिलाउनेबाहेक अन्य काम भएन् ।’ उनले चीनीयाँ राष्ट्रपतिको हालै स्थगित् भएको नेपाल भ्रमणबारे पूनः भ्रमणको लागि कन्भिन्स गर्ने अवसर रहेपनि त्यो सफल नभएको बताए। 
 
कार्कीले वर्तमान प्रचण्डको नेतृत्वको सरकारले केपी ओली नेतृत्वको सरकारको पालामा भएका सन्धि सम्झौताहरु कार्यान्वयनको लागि कुनै गम्भिरता नै नदेखाएको समेत गुनासो पोखे । उनले थपे,‘अहिले तीन सम्झौताहरु डि–फ्रिजमा छन् ।’ चीनीयाँ राष्ट्रपतिको भ्रमण स्थगित् भएर नेपाललाई ठूलो घाटा लागेको समेत उनको तर्क थियो । 
 
कार्कीले अब चीनीयाँ राष्ट्रपति नेपाल आउने वा नआउने भन्ने कुराको बल नेपालकै कोर्टमा रहेको समेत जिकिर गरे । उनले भने,‘अब बल हाम्रै कोर्टमा छौं ।’ कार्कीले प्रचण्ड नेतृत्वको सरकारको एकमात्रै उद्देश्य भनेको भारतलाई खशी पार्नेजस्तो देखिएको समेत गुनासो पोखे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ