काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा बस्दैछ। बिहीबार बस्ने विशेष साधारण सभाको पूर्वसन्ध्यामा बस्न लागेको बैठकमा विशेष साधारण सभा सम्बन्धी नै छलफल गर्ने तयारी गरिएको नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट्स उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए।
महासंघले आफ्नो नयाँ विधान निर्माण गर्नको लागि गठन गरेको विधान समितिले प्रस्ताव गरेको नयाँ विधान साधारण सभामा पेश हुँदैछ। उपाध्यक्ष गोल्छाका अनुसार उक्त कार्यसमिति बैठकको मूल एजेण्डा नै विधान संशोधन सम्बन्धि हुनेछ।
को–को सहभागी हुन पाउँछन् साधारण सभामा ?
उक्त विशेष साधारण सभामा भाग लिन पाउने सदस्यहरूको विषयमा पछिल्लो समय दुई छुट्टाछुट्टै धारणाहरू अगाडि आएका छन्। एक पक्ष अर्थात् संस्थापन पक्षले कात्तिक ४ गतेसम्म सदस्यता नवीकरणबापतको शुल्क नबुझाउनेहरू साधारण सभामा सहभागी हुन नपाउने धारणा राख्दै आएको छ भने अर्को पक्ष विधानले चैतसम्म सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेकोले कात्तिकमा विशेष साधारणसभा बोलाएर यस्तो बन्देज गर्न नपाउने धारणा राख्दै आएको छ। यस विषयमा पनि छलफल हुने महासंघ निकट स्रोतले जानकारी दियो। उपाध्यक्ष गोल्छाले कात्तिकको ४ गतेसम्म सदस्यता शुल्क बापतको रकम नबुझाउनेलाई विशेष साधारणसभामा सामेल गराउन नसकिने स्पष्ट पारे।
४ गते पनि शुल्क बुझाउन सकिने
४ गते महासंघको विधान संशोधनको लागि विशेष साधारणसभा हुँदैछ। उक्त साधारणसभामा सहभागी हुन पाउने र नपाउनेको विषयमा व्यापक छलफल भईरहँदा महासंघले भने ४ गते पनि सदस्यता शुल्क बुझाएर सहभागी हुन पाउने व्यवस्था गरेको जनाएको छ। उपाध्यक्ष गोल्छाले त्यहाँ एउटा काउन्टर राखिने र त्यही काउन्टरमा पैसा बुझाएर साधारणसभामा सहभागी हुन जान सक्ने प्रावधान राखिएको पनि स्पष्ट पारे । ‘सोही दिन पनि पैसा बुझाउन सक्ने व्यवस्था गरिएको छ’ उनले भने ‘यति हुँदाहुँदै पनि सोहीदिन पैसा बुझाउँदैनन् र कसैको तिर्नुपर्ने रकम बाँकी राख्छ भने उनीहरूले साधारणसभामा भाग लिन पाउँदैनन्।’