arrow

कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनशिप

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
saff-championship-2023-winner-india.jpg

काठमाडौँ । साफ च्याम्पियनशिप फुटबलको १४ संस्करणको उपाधि भारतले जितेको छ । मंगलबार भारतको बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि जितेको हो । 

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलको १४ औँ मिनेटमा शबैश अल खाल्दीले गोल गर्दै कुवेतलाई शुुरुआती अग्रता दिलाए । ३८ औँ मिनटेमा लल्लियान्जुआला चाग्तेले गोल गर्दै भारतलाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा निर्णय पेनाल्टी सुटआउटमा भएको हो । 

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत च्याम्पियन बनेको हो । 

समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले तथा भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । 

साफ च्याम्पियनशिपमा नेपाल 
नेपाल साफ च्याम्पियनशिपको समूह चरणबाटै बाहिरियो । नेपाल समूह चरणमा कुवेतसँग ३–१ को तथा भारतसँग २–० को हार बेहोर्दै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । 

साविक उपविजेता नेपालले समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानलाई १–० ले पराजित गर्दै सान्त्वना जित निकाल्यो । खेलको ८० औँ मिनेटमा आशिष चौधरीले निर्णायक गोल गरेका थिए । 

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका थिए । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका हुन् ।  

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेलेका थिए । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका थिए । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका थिए

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी नौँ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ