arrow

भेडापालक कृषकलाई ‘हेरालो भत्ता’

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
bheda-bakra.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ । 

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो ।

मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो ।

उनले भने, “प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानलाई प्रतिमहिना रु एक हजार पाँच सयका दरले वार्षिक रु १८ हजार रकम उपलब्ध गराएको छ । पचासभन्दा माथि भेडा-च्याङ्ग्रा पालेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो ।”

कार्यक्रम यो आर्थिक वर्षमा समेत निरन्तर रहेको बताउँदै निर्देशक पङ्गेनीले अहिले केही जिल्लामा ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका सामान पनि उलब्ध गराउने सुविधा थपिएको जानकारी दिए । निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई रु ३३ लाख वितरण गरेको छ । 

यस्तै, हुम्लाका एक सय नौ कृषकलाई रु १५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई रु १० लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई रु नौ लाख ५४ हजार रकम प्रदान गरेको छ । 

प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ