arrow

पानीबम पड्कने भय 

logo
शिवप्रसाद पोखरेल,
प्रकाशित २०८० साउन १३ शनिबार
article-shivaprasad-pokharel-2080-04-13.jpg

नेपाली हिमाल विस्तारै हिउँरहित चट्टानमा परिणत हुँदैछ । वैज्ञानिकको कुरा पत्याउने हो भने आगामी १०० वर्षभित्र केही प्रतिशत बाहेक सबै हिउँ पग्लनेछ । तिनै हिम श्रृङ्खलाबाट धेरै पानी पहाडलाई छियाछिया बनाउँदै समुद्र भेट्नका लागि बगेर गएको पनि हजारौँ वर्ष बिते। 

ब्रजिलपछि विश्वको दोस्रो जलस्रोतको धनी देश भनेर सुनेको पनि धेरै दशकौँ बितिसक्यो । नेपालमा जलविद्युतको विकास गरेमा देश धनी हुन्छ भनेर फलाक्ने मानिसहरुको संख्या पनि गणना गरी साध्यै छैन । सबै भन्छन् यति फाइदा हुन्छ, उति फाइदा भएर धेरै पैसा जम्मा हुन्छ। 

तर विद्युत परियोजनाको लागि बनेका संरचनाले एक दिन हाम्रा भावी पुस्तालाई ठूलो दुर्घटनामा पार्ने छौँ । त्यसको बारेमा कोही पनि मुख खोल्दैनन् । आजका मितिसम्म पानी आफैँले बाटो बनाएर बग्दै गयो । हामीले भावी सन्तानलाई आजका मितिसम्म भने त्यति धेरै हानि हुने काम गरेका रहेनछौँ ।

बनिसकेका संरचना र बन्दै गरेका संरचना र बनाउने योजनामा रहेका संरचनाले भने पानी बमको रुपमा विनाश निम्त्याउन ठूलो भूमिका खेल्ने देखियो । कुनै दिन यी संरचना ठूलो आवाजमा पड्कने छन् र यसले पहुँच पुगेसम्म सबैलाई अलप गराउनेछ ।
 
१९८२ मा बनेको कुलेखानी जलविद्युत परियोजनाको आयु  बढीमा ५० वर्ष र घटीमा ३० वर्ष  देखिन्छ । यसले सबैभन्दा पहिला विनाश के हो भनेर देखाउने छ। कहिलेकाहिँ कुलेखानीको बाँधमा धेरै पानी जम्मा गर्नका लागि भरिएका बोराको माध्यमबाट थुनेर यथेष्ट विद्युत उत्पादन भैरहेको छ भनेर पनि हँसिमजाक गरेको देखिन्छ । 

भविष्यमा ड्याम ठूलो आवाजमा विष्फोट हुनेछ र त्यसले कति जनसंख्या, धन सम्पत्ति भ्याउने हो त्यो हिसाब किताब इतिहासले नै समावेश गर्ने छ । यस्ता पानीबमको विकासमा लागेका हरेक कम्पनीहरुलाई सुरक्षामा अपनाउनु पर्ने होसियारी, भोलिका हाम्रा पुस्तालाई आइलाग्न सक्ने दुःखद घटना न्यूनीकरणका लागि आजैबाट थालनी गर्नुपर्ने देखिन्छ । 

सन् २०२१ जुन महिना र जुलाई महिनामा सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका मेलम्ची खोला आसपासमा गएको पहिरोले त्यस क्षेत्रका वासिन्दाले भोग्नु परेको विपत्ति ताजै छ । आज पनि त्यस क्षेत्रका वासिन्दाको दुःख सुन्दा भगवानलाई पुकार्नु बाहेक केही गर्न सकिने अवस्था छैन । त्यहाँ  पानीको  ड्याम थिएन, नत कुनै विद्युतीय संरचना नै । यदि त्यहाँ जलविद्युत परियोजना र पानीको बाँध पनि थियो भने त्यसले लिन सक्ने स्वरुप र घटना कल्पना गर्न पनि सकिँदैन । पानीबम पड्कने अवस्था आएको भए हे भगवान् ! भनेर दया भाव देखाउने बाहेक कुनै शब्दहरु बच्ने छैनन् । 

सिमेन्टको आयु जम्माजम्मी ५० देखि १०० वर्ष भनिन्छ। संरचना बनाउनेले १५ वर्ष जति लगानी उठाउन नै लाग्छ भन्छन् । नाफा निश्चित वर्ष खाए पश्चात पानीबमको संरचना सरकारलाई दिने भन्ने सम्झौता हुन्छ । सरकारले पनि अरु २५ वर्ष जति पैसा उठाउनका लागि मात्र प्रयास गर्नेछ । 

अन्य सावधानीका बारेमा कसैलाई मतलब हुने कुरा पनि भएन । हाम्रो पुस्ताले त बिजुली निकालेर भारत र बंगलादेशलाई बेच्नका लाागि प्रयास गरिरहौंला । सबै विद्युत भारतले किनेन भने त्यत्तिकै खेर फाल्ने नै छौँ । तर हामीले बनाएको संरचनाले हाम्रा आगामी पुस्तालाई पानीबम छोडेर गएको जिम्मेवारी कसले लिने ? 

बिजुली बेचेर धनी हुने ठूलो सपना देख्न छाडौँ । जति विकासका लागि रहेका छन् ५०–६० वर्षपछि विष्फोट हुने अवस्थाको रोकथामलाई ध्यान दिउँ । वातावरण, प्रकृतिलाई जोगाएर हिमालमा रहेको सेतो सुन्दर हिउँ भावी सन्तानले पनि देख्न पाउने वातारण कायम राख्न लागि परौँ ।

हाल १२५ साना–ठूला आयोजनाबाट करिब २,२०० मेगावाट विद्युत उत्पादन भएको अवस्था छ । निर्माणाधीन अवस्थामा रहेका लगभग २,००० मेगावाट र बन्ने योजनामा रहेका ३,००० मेगावाट कुल ५,००० मेगावाट आयोजना २–३ वर्षमा सकिनेछ । 

नेपालमा खपत बढेमा २,५०० देखि ३,००० मेगा आन्तरिक खपत हुनेछ । हाल निर्माणमा रहेका र सम्झौता भैसकेका आयोजनाको बिजुली लगभग ५,००० मेगावाट जति मात्र बेच्न प्रयास गरौँ । त्यसबाट भएको नाफाले भोलि पड्कने पानीबमको रोकथामका लागि सदुपयोग गरौँ । 

बूढीगण्डकीमा एक वर्ष लगाएर पानी भरेर ठूलै ताल निर्माण गरेर सबैलाई देखाउने भन्ने कुरा चाहिँ छोड्दिउँ अब । ठूलो विनासकारी पानीबम बनाएर खुशी नमनाऔँ । यत्तिकै ठीक छ । 

पानी बम पड्किएर हाम्रा सन्ततिको विपत् अहिलेको पुस्ताले नदेख्ला । तर त्यो भयावह हुनेछ । अहिलेदेखि नै व्यवस्थापनमा लागौँ । कम भन्दा कम क्षतिका लागि प्रयास गरौँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ