- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सिष्टम अपरेशन निर्देशक एवं प्रवक्ता चन्दनकुमार घोषले नेपालमा पुनः लोडशेडिङ हुने कुरा अफवाह मात्रै भएको बताएका छन् ।
पछिल्लो समय प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने सरकारको चलखेल भइरहेको भन्दै यसले लोडशेडिङ निम्त्याउने भनी चर्चा गरेसँगै घोषले लोडशेडिङ हुने कुरा अफवाह भएको बताएका हुन् ।
यद्यपि उनले घिसिङको भनाइको कुनै टिप्पणी भने गरेनन् । तर घोषले एक दुई दिनपछि अध्ययन गरेर पूर्ण जानकारी दिन सक्ने बताए । उनले पानीको सतह घटेसँगै स्वभाविक रुपले भारतबाट बिजुली किन्नुपर्ने तर लोडशेडिङ नै गर्ने अवस्था नरहेको बताए ।
प्राधिकरणले २०७३ सालको तिहारको लक्ष्मीपूजाको दिनबाट सर्वसाधारण उपभोक्तामा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो । त्यस्तै २०७५ सालबाट औद्योगिक क्षेत्रमा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो ।
तर यसपालि भने सर्वसाधारणले औपचारिक रुपले लोडशेडिङ नभोगेको आठ वर्षपछि हिउँदमा लोडशेडिङ गर्नुपर्ने प्राधिकरणले बताउन थालेको छ । यसै सम्बन्धमा प्रवक्ता घोषसँग गरिएको छोटो कुराकानी –
छिट्टै लोडसेडिङ हुने चर्चा छ नि ?
भन्न सकिँदैन । तर अहिले छिट्टै त हुँदैन । नयाँ दुई तीन वटा पावर हाउस पनि आउँछन् । भ्याउँछ । हामी यसको विश्लेषण गर्दैछौँ । त्यस्तो आत्तिहाल्नु पर्ने अवस्था आज चाहिँ देखिँदैन । हिजोसम्म अलि अलि थियो । तैपनि एक दुई दिन विश्लेषण गर्न समय लाग्छ । तबमात्र भन्न सकिन्छ ।
पूर्वी क्षेत्रमा त लोडसेडिङ भइसकेको खबर छ नि ?
होइन । उहाँहरुले आधामात्र कुरा गर्नुहुन्छ । मुख्य कुरा के भनेदेखि नियमकानून सबैले पालना गर्नुपर्छ । उहाँहरुले पालना गर्ने भनेको ग्रिड कोड २०८० हो ।
ग्रिड कोडलाई अक्षरस पालना गर्नुभयो भने कुनै समस्या आउँदैन । त्यही मुताबिक हामीहरुले प्राधिकरणबाट वा भार प्रेषण केन्द्रबाट उद्योग वाणिज्य संघलाई पनि पत्राचार गरिसकेका छौँ । त्यसकारणले उहाँहरुले त्यसमा भएका सम्पूर्ण साधनहरु पनि अनुशरण गर्ने, पालना गर्ने गर्नुभयो भने लोडसेडिङ हुने समस्या हुँदैन । त्यो भयो भने उहाँहरुले जुन समस्या भोग्नु भएको छ त्यो हुँदैन ।
उपत्यकामै अन्डरग्राउन्डको काम भन्दै अघोषित रुपमा लाइन काटिएको अवस्था छ त्यो के हो ?
अन्डरग्राउण्डको काम १० प्रतिशत बाँकी छ । केही केही ठाउँमा यो काम भइरहेको छ । पहिले नै बिछ्याइसकेको लाइनमा विद्युत प्रवाह गर्नलाई भएको तारलाई निभाउनु पर्छ र नयाँमा सार्नुपर्छ । सारिसकेपछि त्यसबाट वितरण गर्नुपर्ने हुन्छ । त्यो गर्ने क्रममा सायद अवरुद्ध भएको हो कि ।
माथिल्लो तामाकोशीसँगै असोजको वर्षाले अवरुद्ध गरेका विद्युत आयोजनाहरु पुनः संचालन अन्तिम चरणमा पुगेको खबरसँगै बिजुलीमा समस्या हुन्छ र अब ?
माथिल्लो तामाकोशी तत्काल बन्ने अवस्था त म देख्दिन । त्यो मंसिरको अन्तिममा सम्पन्न गर्ने कोसिस छ उहाँहरुको । नत्र पुसको दोस्रो वा तेस्रो हप्तासम्म लम्बिन सक्ने सम्भावना त्यत्तिकै धेरै छ । पूर्ण रुपले सञ्चालन हुन त जेठ नै लाग्छ । केही भन्न सक्ने अवस्था अलि गाह्रो छ ।
भनेपछि भारतबाट बिजुली आयात नगरी सुखै छैन हैन ?
सन् २०२७–२८ सम्म त केही न केही आयातमा निर्भरता हुनैपर्यो । हामी जलप्रवाही, नदी प्रवाही विद्युतमा निर्भर छौँ । जस्तो प्रकारको इनपुट आउँछ त्यो भन्दा बढी आउटपुट आउन सक्दैन । नदीमा पानी घट्दाखेरी विद्युतको उत्पादन पनि घट्छ । तर माग भने उल्टो छ । र त्यो जानजान उद्योगीहरुले त्यस्तो गरेको हो कि । किनभने सबैलाई थाहा नै छ मुख्यचाहिँ ठूलो उद्योगहरुको विषयमा के भन्न खोजेको हो भने हामीसँग जब पर्याप्त बिजुली हुन्छ उहाँहरुले जुन सुख्खायाममा चलाउनुु हुन्छ त्यो त्यतिबेला चलाउनु पर्छ । यो कुनै लुकेको कुरा पनि होइन । हामी त सतप्रतिशत जलविद्युतमा आधारित विद्युत वितरण गर्ने विद्युत प्राधिकरण हो । जलविद्युतको प्रकृति कस्तो हुन्छ भनेर त उहाँहरुलाई सिकाइरहन पर्दैन होला । जतिबेला बिजुली त त्यो बेलामा प्रयोग गर्ने हो नि । त्यसकारण उहाँहरुले पनि खपतको प्याटर्न त्यहीअनुसार ढाल्नु पर्यो । न कि मेरो अधिकार हो भनेजस्तो तरिकाले लाग्नु भएन । भयो भने त दिइहाल्छ नि । नदिन खोजेर लुकाएर राख्ने चिज हैन । यो भण्डार गर्न सकिँदैन ।
हामीले कतिसम्म बिजुली भारतलाई बेचेका छौँ ?
हामीले चार महिनामात्र भारतलाई दिने हो । सबैभन्दा बढी दिने नै साउनमा हो । त्यो बिजुली उद्योगले लिइदिएको भए भारतलाई बेच्नै पर्ने थिएन ।
अब हिउँदमा भारतबाट कति बिजुली लिने तयारी छ ?
नदीमा पानीको सतह सुक्दै जान्छ हाम्रो आयात बढ्दै जान्छ । हामीले यसपालि छ सय मेघावाट जति बिजुली आयात गर्छौँ ।
प्रबन्ध निर्देशक घिसिङले पत्रकार सम्मेलनमा आफूलाई हटाइए लोडसेडिङ बढ्ने संकेत गरेको पाइएको छ । यसबारे के भन्नुहुन्छ ?
यसमा कमेन्ट गर्न चाहिन ।
लोडसेडिङ त उहाँ भए पनि नभए पनि हुन्छ नै हैन र ?
यसो पनि भन्न सकिँदैन । लोडसेडिङ हुन्छ नै भन्ने पनि होइन । यी सबै आँकलनहरु हुन् । हल्लाहरु हुन् । मलाई एक दुई दिन विश्लेषण गर्न समय चाहिएको छ । केही पावर प्लान्टहरुको सञ्चालनमा आउने मिति अद्यावधिक हुँदैछन् । नयाँ पावर प्लान्टहरु आउँदै पनि छन् । आयात स्वीकृति पनि आउँदैछ । आयात स्वीकृति आएपश्चात् केही ठोस कुरा गर्न सकिन्छ । तसर्थ लोडसेडिङ नै हुन्छ भन्ने कुरा अफवाह नै हुन् अहिलेका लागि ।