arrow

सय किलो सुनको अनुसन्धान राजनीतिक नेतृत्वतिर सोझिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
dawa-tamang-maoist-leaders.jpg
तस्बिर– सामाजिक संजालबाट ।

काठमाडौँ । करिब सय किलो सुनको अनुसन्धान राजनीतिक नेतृत्वतिर सोझिने संकेत देखिएको छ । नेपाल प्रहरीले अनुसन्धानको राडरमा राखेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङको पक्राउसँगै उनको राजनीतिक कनेक्सनले सुन अनुसन्धानको सुई माओवादी केन्द्रका नेताहरुतर्फ सोझिएको हो । 

माओवादीका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनकी बहिनी र छोरासँग सम्बन्ध देखिएपछि अनुसन्धानको सुई त्यता सोझिएको हो । 

यद्यपि सुन प्रकरणमा उनीहरुको संलग्नताबारे यकिन भैसकेको छैन । सामाजिक सञ्जालमा दावासँग देखिएका तस्बिरले सम्बन्ध गहिरो रहेको प्रष्ट भएको छ । 

उनले काभ्रेपलाञ्चोकको नमोबुद्दबाट नेपाली नागरिकता लिएपछि बेल्जियम गएको र त्यहाँ पनि नागरिकता लिएपछि त्यही पासपोर्ट प्रयोग गरेर नेपालमा जडीबुटी र पर्यटनसँग सम्बन्धित कारोबार गरेको खुलेको छ । उनले नेपाली नागरिकताकै आधारमा नेपाली राहदानी पनि बनाएका थिए । 

राजनीतिक संरक्षणका कारण जोगिँदै आएका उनी दोहोरो नागरिकता र राहदानी लिएको स्रोतले जनाएको छ । उनी विवादमा आएपछि बैशाख ५ गते (१८ मार्च, २०२३) मा सिचुआन एअरलाइन्सको फ्लाइटबाट चीन गएका थिए ।  

त्यतिवेला प्रहरीले पनि उनको खोजी थालेको थियो । राजनीतिक संरक्षण पाएका उनी एक महीना चीनमा बसेपछि सुटुक्क नेपाल आएका थिए । दावा चीनबाट जेठ २० गते (२० मे, २०२३) नेपाल आएका थिए ।  

त्यसयता पनि उनी राजनीतिक पहुँचकै आधारमा नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । पछिल्लो पटक सुन तस्करीमा संलग्न रहेको पाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । 

सुन तस्करीमा संलग्न रहेको प्रमाण भेटिएपछि दावालाई पक्राउ गरिएको महानिर्देशक ढुंगानाले जनाएका छन् । विभागको टोलीले साउन १४ मा काठमाडौँको ठमेलस्थित होटल भियनामा छापा मारेको थियो । होटलबाटै उनलाई पक्राउ गरेको हो । 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । दावा पक्राउ परेसँगै माओवादी नेताहरु वर्षमान पुन, ओनसरी घर्ती र नन्दबहादुर पुनसँगै डिनर गरेका तस्वीरहरु सामाजिक सञ्जालमा देखिएका छन् । 

प्रहरीले ७ पुस २०७६ मा काठमाडौँमा उपत्यकाका विभिन्न स्थानमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएर एकै दिन १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 

त्यस क्रममा हाल सुन प्रकरणमा पक्राउ परेका दावा पनि अनुसन्धानको दायरामा तानिएका थिए । तर उनी पक्राउ पर्न सकेनन् । 

साथै २०७९ साउन ११ गते पनि प्रहरीले त्यस होटलमा छापा मारेको थियो। ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद भएको थियो । 

त्यस क्रममा पनि उनी पक्राउ पर्नबाट जोगिएका थिए । अहिले भने राजश्वको टोलीले सन व्यवस्थापकको रुपमा पक्राउ गरेको छ । तर राजनीतिक कनेक्सन देखिएमा अहिलेको अनुसन्धान अघि बढ्नेमा शंका रहेको अनुमान गर्न थालिएको छ । 

माओवादी नेताहरुको आडमा पटक पटक पक्राउ पर्नबाट जोगिएका उनले ठमेलमा होटल व्यवसाय गर्दै आएका थिए । 

यसअघि नेपाली साझेदारको सम्बन्ध माओवादी नेता तथा प्रहरी प्रशासनमा रहेका व्यक्तिसँग देखिएपछि अनुसन्धान अघि बढेन । प्रहरीले १२२ चिनियाँलाई पक्राउ गर्नुअघि दावाले नेपाल छाडिसकेका थिए । 

दावासँग वैवाहिक सम्बन्ध गाँसेकी रोल्पाको थवाङकी अमला रोका र चिनियाँको नेपाली साझेदार रहेको व्यवसाय चार वर्षअघि नै अनुसन्धानमा खुलेको भए पनि कारबाही नगरी जोगाइएको थियो । 

२०७६ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच जना चिनियाँले ल्याएको २९३ थान मोबाइल, ल्यापटप प्रहरीले जफत गरिदिएपछि छुटाउन दावाको समूह सक्रिय भएको थियो । 

इजाजत बिना ल्याइएका सामान भन्सारमा रोकिएपछि काठमाडौँको बूढानीलकण्ठमा रहेको रोयल स्यान्ड्स होटलले मगाएको भन्दै होटल दर्ता प्रमाणपत्र र सामान मगाएको पत्र लिएर दावाको समूह भन्सार कार्यालय पुगेको थियो । 

तर त्यतिबेला छाडिएको थिएन । त्यहाँ पनि माओवादीका नेताहरु प्रयोग गरेर सामान छुटाइएको दाबी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ