arrow

कोशीको कहर

कोशीमा गठबन्धन टुक्राउन वर्षमानको दौडधुप, एमालेसँग मिलेर आधा कार्यकाल बाँड्न जोडबल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेशको सरकार एमालेकै नेतृत्वमा बनाउने र आधा कार्यकाल माओवादीलाई बाँड्ने गरी सहमति गर्न माओवादीका उपमहासचिव वर्षमान पुनको दौडधुप रहेको छ । 

वामगठबन्धनका पक्षधर रहेका पुनले आफ्ना पुराना सहयोगी मित्र सभामुख बाबुराम गौतमलाई राजीनामा नदिन र प्रदेशका नेता इन्द्र आङबोहाङलाई अर्को पटक मूख्यमन्त्री बन्ने सहमति गरी नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई मूख्यमन्त्री बनाउन दबाब दिइरहेका छन् । 

‘कोशी प्रदेश सरकार बनाउने सवालमा माओवादीमा विभाजन देखियो, कांग्रेसले साथ पाउने संभावना निकै कमजोर छ’, माओवादीका एक नेताले भने ‘राजीनामा दिन तयार भएका सभामुखलाई राजीनामा नदिन र अर्को सहमतिका लागि पहल गर्न निर्देशन आएको छ ।’ 

कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले बहुमत पुर्याएर आज मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको बेला माओवादीभित्रको अन्तरद्वन्द्वले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पक्षमा ४७ मत नपुग्ने अवस्था बन्न थालेको हो । ९३ सदस्यीय कोशीमा सरकार बनाउन बहुमत सदस्य सङ्ख्या ४७ हो । 

‘उहाँ आफ्नो पक्षमा मत जुटाएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरिरहनु भएको छ तर माओवादीले साथ दिन आलटाल गरिरहेको छ’,कोशी प्रदेशबाट एक सांसदले भने । 

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेको समय सीमा आज ५ बजे सकिन लाग्दा संघीय सरकारका दुई गठबन्धन दलबीचमा सहमति जुट्न सकेको छैन । 

बहुमत पुर्याएर मुख्यमन्त्री दाबी गर्ने र बहुमत नपुगे सभामुखको राजीनामा गराउने तयारी गरिएको बेला माओवादी किन बाधक बन्यो भन्ने बारेमा केही खुलेको छैन । 

गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउन चाहे पनि राप्रपा इच्छुक देखिएको छैन । सभामुखको राजीनामा नै सरकार बनाउने अन्तिम विकल्प बनेको थियो ।
 
कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । 

थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते नै सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । 

सर्वोच्चको पूर्ण इजलासले  निवेदनमाथि सुनुवाइ गर्दै साउन ११ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु संविधान विपरीत रहेको भन्दै नियुक्ति खारेज गरेको थियो । 

मूख्यमन्त्री थापाको नियुक्ति खारेज भएपछि सभामुखलाई राजीनामा गराएर मूख्यमन्त्री बनाउन सहयोग गर्न कांग्रेसको आग्रह थियो । 

सर्वोच्चले साउन ११ गते नियुक्ति खारेज गरेपछि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले साउन ११ गते नै सरकार साउन १६ गते भित्र संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । 

सोही अनुसार कोशी प्रदेशका सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याउने सत्तारुढ गठबन्धनका नेताहरूको तयारीमा माओवादी बाधक बनेपछि माओवादीसँगको सहकार्य फलदायी हुनुको साटो घातक हुने अवस्था आएको भन्दै कांग्रेस वृत्तमा चर्चा चल्न थालेको छ । 

कोशी प्रदेशमा सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका  ४ र जसपाका १ गरी ४७ मत रहेको छ । 

९३ जना सदस्य रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ । त्यसका लागि सभामुखले राजीनामा दिनै पर्छ र सभामुखमा राप्रपा वा अन्य पार्टीलाई दिदा कांग्रेसका लागि सहज हुनेछ ।

एमालेका ४० र राप्रपाका ६ सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ