arrow

बैठकमा रस्साकस्सी

माओवादी बैठकमा सरकारको आलोचना, विप्लवको भय, सम्पत्ति छानबिन गर्न माग  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
maoist-meeting-2080-04-17a.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष र सरकारको कामकारबाहीको विषयलाई लिएर आलोचना गरेका छन् । उनीहरुले बालुवाटार एकाध व्यक्तिको कब्जामा भएको पार्टीका कार्यकर्ता नेताहरुका लागि टाढा भएको,परिवारवाद हावी भएको जस्ता विषयलाई लिएर आलोचना गरेका हुन् । 

साथै पार्टीबाट मन्त्रीका रुपमा सरकारमा गएका मन्त्रीहरुले पार्टीको काम भन्दा पनि व्यक्तिको कामलाई प्राथमिकतामा राखेको र आफूलाई हिरोको रुपमा प्रस्तुत गर्दा पार्टीबाट सरकारमा गएको भन्ने चाहिँ बिर्सेको भन्दै सरकारमा रहेका मन्त्रीहरुको पनि आलोचना गरेका हुन् । 

साथै पार्टीको नेतृत्व चयनप्रति नेताहरूले प्रश्न उठाएका छन् । गत साल भएको आठौँ महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूखुशी पदाधिकारी चयन गरेकोप्रति नेताहरूले बैठकमा आलोचना गरेका हुन् । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकको पहिलो दिन यही तरिकाले अघि बढे पार्टी नबन्ने भन्दै प्रचण्डलाई पार्टीका हरेक गतिविधि पारदर्शी रुपमा अघि बढाउन नेताहरुले सुझाव दिएका थिए । 

कार्यकारी राष्ट्रपतिको एजेण्डा बोक्ने पार्टीले पार्टी नेतृत्व पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउँदै प्रचण्डले नेतृत्वको चयन गर्दा टीका लगाएको प्रति उनीहरुको गुनासो रहेको थियो । 

अध्यक्षको प्रतिवेदनमा तीन महिने अभियानमा, विधान सम्मेलन, विशेष महाधिवेशन लगायको विषय उल्लेख भए पनि नेताहरुले त्यसतर्फ ध्यान दिएका थिएनन् । 

बैठकमा अध्यक्ष प्रचण्डले छलफलका विषय राखिसकेपछि १८ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । त्यसक्रममा उनीहरुले पार्टीभित्र व्यक्तिवाद मौलाउँदै गएको र सामूहिक नेतृत्वको अवधारणा नै बिर्सेको भन्दै नेतृत्वप्रति कटाक्ष गरेका थिए । 

अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको बताउँदै अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए । उनले एक पटक पार्टी पंक्तिलाई वडास्तरमा फर्काउने र तीन महिने अभियान चलाएपछि विधान सम्मेलनमा जानेबारे छलफल भइरहेको बताए । 

उनले बैठकको लाइभ गर्नु भनेको मूल आत्मालाई मार्नु भएकाले लाइभ गर्ने निर्णय कार्यान्वयन नगरिएको पनि बताए । 

‘पार्टी अध्यक्षले बैठकमा राखेको प्रस्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको भन्ने छ। यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडास्तरमा फर्काउने र तीन महिने अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने भन्ने भएको छ’, केन्द्रीय सदस्य सापकोटाले भने । 

बैठकमा अध्यक्ष दाहालको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको शुरुमा अध्यक्ष दाहालले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राखेका थिए । 

सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका थिए । उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रूपान्तरणमा गर्नुपर्ने बताएका थिए । 

दाहालले प्रतिवेदन पेस गरेपछि महासचिव देवप्रसाद गुरुङले बैठक कार्यसूचीमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले बैठकको ‘एजेण्डा’ प्रस्तुत गरेका थिए । 

महासचिवले पेस गरेको एजेण्डा पास भएसँगै बैठक औपचारिक रूपमा छलफलमा प्रवेश गरेको थियो । बैठकमा अध्यक्ष दाहालले विधान संशोधनको प्रस्ताव पेस थिए । 

अध्यक्षद्वारा विधान संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । माओवादीले केन्द्रीय समिति समावेशी नभएको स्वीकार गर्दै विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेको छ । 

केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको उनले जानकारी दिए । प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ । 

अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ । माओवादीको केन्द्रीय समिति बैठक २०७९ असार १९ देखि २५ सम्म बसेपछि बल्ल बसेको हो ।

 बैठकमा अध्यक्ष दाहालले देशको राजनीतिक समीकरण र राजनीतिक उतारचढाव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको स्वीकार गरेका थिए ।

पार्टीभित्र विप्लवको भय 
सरकारको नेतृत्व गररिहेको नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समतिलिाई फेरि जम्बो बनाउँदै नेत्रविक्रम चन्द विप्लव समूलाई ल्याउने तयारी गरेको भन्दै केन्द्रीय सदस्यहरुले पार्टीमा उनीहरुलाई ल्याउँदा सम्मानजनक स्थान दिए पनि विप्लवलाई महासचिव दिन नहुने धारणा राखेका थिए । 

संगठनात्मक सवालमा भद्रगोलबाट मुक्त हुन नसकेको माओवादीले फेरी केन्द्रीय समतिबिाट विधान संसोधन गदैं केन्द्रीय समिति थप विस्तार गर्दा विप्ललाई तत्कालै महासचिव दिन नहुने महाधिवेशनबाट चुनिएर आउनु पर्ने धारणा आएको एक केन्द्रीय सदस्यले भने ।

माओवादीको अहिले पूर्ण केन्द्रीय समिति ३८७ सदस्यीय छ । अब त्यसलाई थप गरेर ४०९ सदस्यीय पूर्ण केन्द्रीय समिति बनाउने तयारीमा माओवादी लागेको छ । 

त्यस बाहेकका बैकल्पिक केन्द्रीय समिति सदस्य पनि माओवादीको छ । केन्द्रीय समिति विस्तार गर्ने म्यान्डेट पदाधिकारी र स्थायी समिति बैठकबाट माओवादीले नर्णिय गरिसकेको छ । 

बुधबार केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी र त्यसपछि बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति विस्तार गर्ने गरी विधान संसोधन प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको र त्यसपछि केन्द्रीय समितिको बैठकमा सो कुरा उठेपछि विप्लवको महासचिव पाउने आशयलाई केन्द्रीय सदस्यहरुले अस्वीकार गर्ने संकेत गरेका छन् ।

यस अगाडि पनि माओवादीको केन्द्रीय समिति भद्रगोलका बीच संख्यामा तलमाथि हुँदै आएको थियो । तत्कालीन एमालेसँगको एकताका बेला पनि माओवादीको जम्बो केन्द्रीय समिति थियो । 

अहिले फेरि केन्द्रीय समिति थप गरेर जम्बो बनाउन लागेको हो । एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकबाट सदस्य संख्या थप गर्ने जनाइएको छ । 

सम्पत्ति छानबिन गर्न माग 
पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरुले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । 

सुरूमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

त्यसपछि बोल्न समय पाएका नेताहरूले यस्तो नेताहरुले आफूलाई भ्रष्टिकरणतर्फ उन्मुख गरेको र जनताले पत्याउन छाडेको भन्दै सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । 

लोकतन्त्रको उन्नत अभ्यास गर्ने र प्रगतीशील विचारबाट गाइडेट हुने हो भने आफ्नो सम्पत्ति सार्वजनिक गर्न नेताहरु किन डराउने भन्दै उनीहरुले सम्पत्ति विवरण छानबिन गर्न र सार्वजनिक गर्न माग गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ