arrow

एक सौम्य कप्तानको शान्त बहिर्गमन  

logo
सोम, 
प्रकाशित २०८० साउन १९ शुक्रबार
gyanendra-malla-cricket-2080.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संंन्यासको घोषणा गरेका छन् । इङ्गल्याण्ड जानुअघि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संंन्यास लिएको घोषणा गरेका हुन् । 

उनले नेपालका लागि १८ वर्ष खेले । सो क्रममा उनले नेपाली टिमको कप्तानीसमेत सम्हाले । उनी भरपर्दा ब्याट्सम्यान हुन् । ज्ञानेन्द्र सन् २००५ मा यू–१५ टोलीको सदस्य रहेका थिए । ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आईसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए । 

त्यसपछि उनी यू–१७ र यू–१९ सँगै एक दिवसीयको कप्तानीसमेत सम्हाल्न पुगे । ज्ञानेन्द्रले ३५ एक दिवसीय खेलमा ८७६ रन बनाएका छन्  । त्यस्तै ४५ टी–२० मा ८८३ रन बनाएका छन् । 

एक दिवसीय र टी–२० मा उत्तिकै सशक्त उनले टी–२० मा शतकसमेत बनाएका छन् । उनले एक दिवसीयको अन्तिम खेल गत जुलाई ४ तारिखमा आयरल्याण्डविरुद्ध विश्वकप छनोटको प्लेअफमा ७ रन बनाएका थिए । 

पछिल्लो समय भने उनले टिममा अवसरसमेत पाएका थिएनन् । युवा खेलाडीहरुको बाहुल्यता रहेको राष्ट्रिय टिममा उनी सबैभन्दा पाका थिए । उनले ३३ वर्षको उमेरमा संन्यास लिएका हुन् । 

उनले १० एक दिवसीय र १२ टी–२० मा कप्तानी गरेका थिए । उनी कप्तान भन्दा पनि नेपाली टिमका भरपर्दा ब्याट्सम्यान नै हुन् । 

शुक्रबार भएको पत्रकार सम्मेलनमा पनि उनले आफूले अहिलेको समयमा राष्ट्रिय टोलीमा रहेर शतप्रतिशत दिन सक्छु जस्तो नलागेर राजीनामा दिएको बताए । 

उनले भने, ‘अहिलेको लागि राष्ट्रिय टोलीमा जुन शतप्रतिशत दिनु पर्ने थियो । त्यो मैले दिन सक्दिन भने त्यहाँ रहिरहनुपर्छ भन्ने लाग्दैन, त्यसैले मैले यस्तो निर्णय लिएको हुँ ।’ 

उनी नेपाली क्रिकेटका सौम्य खेलाडी हुन् । उनी विवादरहित कप्तान हुन् । उनले अहिलेको युवा पुस्तालाई क्रिकेट सिकाए पनि । राष्ट्रिय टिमका सबै खेलाडीहरु ‘ज्ञानेन्द्र दाइ’ नै भन्छन् । ज्ञानेन्द्रको ब्याटिङ हेरेरै अहिलेको टिमका खेलाडीहरुले खेलेका हुन् । 

नेपालले यहाँसम्म मारेको फड्कोका एकमात्र साक्षी ज्ञानेन्द्रले बहिर्गमन भने त्यति उत्साहजनक रहेन । उनलाई हालका प्रशिक्षक मोन्टि देसाईले कहिले टिममा राखे । कहिले राखेनन् । र अर्को अर्थमा ज्ञानेन्द्र आफू स्वयं पनि फर्ममा देखिएनन् । 

जे भए पनि उनले निरन्तर टिमका लागि महत्वपूर्ण भूमिका निभाए । उनले नेपालले पहिलो पटक खेल्न लागेको एसिया कपमा भारत र पाकिस्तान विरुद्ध खेलेर संन्यास लिएको भए अझ बढी स्मरणीय बिदाइ हुन्थ्यो भने उनको प्रशंसकहरुको चाहना थियो । 

उनले आफूले शतप्रतिशत दिन नसक्ने हो भने टिममा बस्नुको औचित्य छैन भनेर जसरी मार्ग प्रशस्त्र गरिदिए त्यो नेपाली खेलकुदमा बिरलै हुन्छ । 

उनले राष्ट्रिय टिमबाट संन्यास लिए पनि क्रिकेटका कुनै न कुनै भूमिकामा रहिरहने छन् । 

उनको संन्यास शान्तपूर्ण भए पनि नेपाल क्रिकेट संघ क्यानले भने जिम्मेवारीबोध गर्न सकोस् । 

पत्रकार सम्मेलनमा यसो भने ज्ञानेन्द्रले –
उपस्थित सम्पूर्णमा नमस्कार, छोटो समयको सूचनाका बाबजुद मेरो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित भइदिनु भएकामा एकदमै आभारी छु । 

•प्लाइउडमा लिस्टी ठोकेर बनाएको ब्याट, पत्रिका पानीमा भिजाएर रबर बेरेर बनाएको बल खेल्दा खेल्दै राष्ट्रिय टिममा जोडिएको पनि झण्डै २ दशक भइसकेछ । 

•१८ वर्षसम्म चन्द्र सूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ, उपकप्तान र कप्तानको भूमिकामा रही देशको झण्डा काँधमा बोकेर नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ । 

•राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ सतप्रतिशत दिने प्रयास गरेँ । यो अवसरहरूका लागि म धेरै कृतज्ञ छु, आएका कठिन परिस्थितिहरुलाई पनि सिकाइका रुपमा लिएँ । समग्रमा भन्नुपर्दा म निकै सन्तुष्ट छु ।

•सानो हुँदादेखि नै मलाई यो खेल खेल्नका लागि प्रेरित गर्ने मेरो टोल भिमसेनस्थानका रसेल दाइ, साथीभाइ, मेरो क्रिकेटलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गरेको यङ्गाल क्रिकेट क्लब, टिममेट, विनोद राजभण्डारी लगायतका दाइहरूलाई सम्झन चाहन्छु । अनि मेरो परिवार, विशेषगरी मेरो श्रीमती, जसले मेरो हेरक सुखदुःखमा साथ दिइन्, सम्पूर्ण आफन्तलाई पनि सम्झन चाहन्छु ।  

•मेरो क्रिकेट करियरलाई आकार दिन भूमिका खेल्नु हुने प्रशिक्षकहरु, क्यान अफिसियलहरू अनि क्रिकेट समर्थकहरुप्रति पनि आभारी छु । मैले मैदानमा ब्याट उचाल्दै गर्दा प्यारापिटमा रहेर हौसला र उर्जाले प्राण भरिदिने, अनि जीतमा खुशीका आँसु तथा हारमा अर्को पटक जीतका लागि उत्प्रेरणा दिइरहने दर्शक तथा समर्थकहरुको माया मेरो जीवनभरको जीउने आधार भइरहनेछ । 

•यो पवित्र खेल क्रिकेट मेरो अस्तित्वको सार हो । स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा यसले मलाई जीवन, दृढ़ संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको छ । मैदानमा हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा गर्व महसुस गरेँ, गर्छु । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ