arrow

ग्रामीण तहमा बाँझोपनको समस्या, किन हुन्छ बाँझोपन ? (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
bajhopan.jpg

काठमाडौं । ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् । 

उनीहरूले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए । चिकित्सकहरूका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताए । 

उनले विवाह पश्चात् पुरुषहरू वैदेशिक रोजगारीमा जानु पनि बाँझोपनको कारण रहेको औँल्याए । उनले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किँदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकीट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए । 

डा.सुवेदीले एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान् श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताए । डा.सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताए ।

वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन् । डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताइन् । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताइन् ।

भ्रूण रोग विशेषज्ञ डा.विनीता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन्। उनले निःसन्तान कसरी हुन्छ भनेर शुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताइन् । थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट शुरु भई १३-१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताइन् । लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरूका लागि निकै समस्या हुने गरेको बताए । उनले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राखिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ