- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । धनुषाको मिथिला विहारी नगरपालिकामा जेष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिबासले आइतबार छापा मारेको हो ।
मिथिला विहारी नगरपालिका वडा नम्बर –९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियारमा जुरी दर्ता गराइएको छ ।
वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको जेष्ठ नागरिकहरुले बताएको सो निवेदनमा उल्लेख गरिएको हो।
त्यस्तै वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेश गरेर १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख छ।
त्यस्तै वडा ९ मा २ इन्चको कृषि पम्पिंगसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी,वडा नम्बर ९ अन्तर्गत खानेपानीका लागि हैण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ ।
पेश गरिएको सो निवेदनमा दुवै आधारभूत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका जेष्ठ नागरिकहरुले सम्मान नपाएको सहीछाप गरिएको आधार पेश गरेका छन् ।