arrow

नेबिसंघलाई पाँच बुदे सुझाब

logo
ई. डम्बर बहादुर सुनार,
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
damber-sunar.gif
भनिन्छ, " मादलको खरी झर्योप  भने र बिणाको तार टुट्यो भने संगीतको सार हुदैन ", नेपाली उखानको यो पंक्तिलाई ने. बि. संघको भर्खरै मात्र सम्पन्न महाधिबेशनसंग जोड्ने हो भने बिगत नौ बर्ष सम्म सार नभएको र लय गुमाएको नेबिसंघले बिधार्थी राजनीतिभित्र एउटा नया धुन थपेको छ र धेरै अनुत्तरित प्रश्नहरुको गतिलो जवाफ दिएको छ। 
 
श्रावण २३ गते उद्घाटन भएको महाधिबेशनको वरीपरिको समय मुल्यांकन गर्ने हो भने चुनाबी प्रक्रिया प्रारम्भ नहुन्जेलसम्मको बेलासम्म पनि यो महाधिबेशनले सार्थकता पाउदैन भन्ने बुझाई गलत साबित भयो जब निर्बाचन प्रक्रिया द्रुत गतिमा अगाडी बढ्यो र रात दिन नभनी भोक र प्यास समेतको प्रवाह नगरी सम्पूर्ण महाधिबेशन प्रतिनिधिहरु अनुशासितपूर्वक लहरमा उभिई आफ्नो अमुल्य मत प्रदान गरे।
 
थुप्रै कलह र अबरोधले नौ वर्षा सम्म जाम रहेको महाधिबेशनले बिस्फोटक रुप धारण गर्छ, असाधारण प्रकृतिको घटना समेत घट्ने अनुमान र आशंका अधिकांशले पालेर बसेका थिए तर त्यो सब गलत र मिथ्या प्रमाणित भयो र नमुना महाधिबेशनको रुपमा स्थापित भयो नेबिसंघको ११ औ महाधिबेशन । यधपी महाधिबेशनको महत्वपुर्ण प्रक्रियाले भने महत्व पाएन । बन्दसत्र, जहाँबाट विधानको बिषय, नीति तथा कार्यक्रम लगाएत अनेकन जटिलताको समाधान निकालिन्छ त्यो कार्यक्रम भने हुन सकेन, तर पनि यो महाधिबेशनबाट नयाँ नेतृत्व र कार्यसमिति चयन हुनु नै यो महाधिबेशन सफल भएको अनुमान धेरैले गरेका छन्।
 
यो महाधिबेशनलाई अनेक जटिलताबाट बाहिर ल्याउँदै सफल तुल्याउन अहोरात्र खटेका निर्देशन समितिका अग्रज नेता, नेपाली काँग्रेसको सिंगो केन्द्रिय कार्य समिती, नेबिसंघको निबर्तमान केन्द्रिय कार्य समिती, नेबिसंघ जिल्ला कार्य समिती, महाधिबेशन प्रतिनिधिहरु, पर्यबेक्षक, आयोजक समिती, सुरक्षाकर्मी लगाएत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संग्लग्न रहेका सम्पूर्ण धन्यवादका पात्र छन्। 
 
नयाँ कार्य समितीसंग नविन र सकारात्मक आशा सबै नेबिसंघमा आबद्द भएका आम कार्यकर्ता र नेताहरुमा रहन्छ्नै, संग संगै पार्टीमा पनि यो कुराको असर रहन्छ् । त्यसैले नव निर्बाचित कार्यसमितिले बहुप्रतिक्षित सांगठानिक गतिशिलता, संगठनमा चुस्तता र कार्यक्रममा द्रुतता अनि बिबेकमा दुरदर्शिता अपनाउन जरुरी देखिन्छ । अनेकन मुद्दा र बिषयमा आफ्नो अग्नि परिक्षामा बडो सुझबुझ अनि होसियारका साथ उतिर्ण हुनुपर्ने बाध्यता छ । बिगतका ताजा नजिरहरु औंल्याउदै दक्ष नेतृत्व स्थापित भएको प्रमाणित गर्नुपर्ने बिबेचनाको लागि बर्तमान केन्द्रिय कार्यसमितीले निम्न उल्लेखित बुदाँहरुमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिन्छ ।
 
१. समयावधिमा ईमान्दारिता र प्रतिबद्दता:
नेबिसंघको बर्तमान कार्यसमितीले सबै भन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने बिषय समयावधिभित्र आफ्ना ठोस कार्ययोजनालाई सम्पन्न गर्नुपर्ने छ । पार्टीबाट पारित विधानको मस्यौदालाई हेर्ने हो भने नेबिसंघको केन्द्रिय कार्य समितीको समयावधि बढीमा २ बर्ष ३ महिना हुने भनिएको छ । मेरो जिम्मेवारीको आयु बढीमा २ बर्ष ३ महिना छ भन्ने कुराको हेक्का सबैले राख्न जरुरि छ र तदनुरुप आफ्नो जिम्मेवारी निर्धारण गर्नुपर्नेछ । बिगतमा झैँ आफ्नो आयु लम्ब्याउन सक्ने सुबिधा बर्तमान समितीसंग नभएकोले अयोग्यताको प्रमाणपत्र ग्रहण गरि बहिर्गमन हुने वा तोकिएकै समय सीमाभित्र नेतृत्व हस्तान्तरण गरि सम्मानजनक बहिर्गमनको प्रमाणपत्र लिने भन्ने प्रश्नको हल कसरी अन्बेषण गर्ने भन्ने बिषयमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । 
 
अंग्रेजीमा एउटा भनाइ छ -" Time and Tides waits for none ", यो भनाइलाई मध्यनजर गर्दै सम्पूर्ण कार्ययोजनाको कुशल व्यवस्थापन गरि समयमै महाधिबेशन गर्नुपर्ने बिषयमा सबैको ध्यान रहनुपर्छ र आफुलाई त्यसरी नै अनुबन्धित गर्नुपर्ने छ । कार्ययोजनाको उचित व्यवस्थापन गर्नको निम्ति सम्पूर्ण केन्द्रिय समितीका पदाधिकारी एवं सदस्यहरुलाई उचित जिम्मेवारी दिनुपर्ने छ र निती र रितीपुर्बक कार्य सम्पादन गर्न नेतृत्वले उत्प्रेणा र हौसला प्रदान गर्नु पर्ने छ । समय सापेक्ष आफुलाई दक्ष बनाउदै नेबिसंघको गुमेको साखलाई उच्च स्थानमा राख्न सम्पूर्ण केन्द्रिय समिती सचेत रहन जरुरि छ ।
 
२. शैक्षिक मुद्दाको उचित उठान र व्यवस्थापन:
बिधार्थी संघ संस्थासंग गासिएको मूल प्रश्न नै शैक्षिक बिषयक मुद्दा, कार्यक्रम, बहस, बिधार्थी आन्दोलन नै हुन् । आम रुपमा बिगतमा नेबिसंघले उठान गर्ने बिषय शैक्षिक सवालमा अन्य पार्टीका बिधार्थी संगठनले पनि उठाउने गरेका छन् । मुद्दा र बिषयमा पृथकीकरण खोज्दै गर्दा नेबिसंघको पृथकपन कतै भेटिदैन । तर अबको नेतृत्वले यो बिषयमा अरुभन्दा अलि बढी गम्भीरताका साथ सोच्नुपर्ने बेला आएको छ । बिगतमा खेप्नु परेको आरोप र लान्छनाबाट हर कोहि नेबिसंघ मुक्त हुँदै सभ्य समाज निर्माणको यात्रामा आफुलाई स्थापित गर्नु पर्ने देखिन्छ । किनभने नेबिसंघको राजनितीमा होमिएको पात्र भोलि देशको राजनितीमा महत्वपुर्ण जिम्मेवारी निर्बाह गरेको इतिहास हामी सामु अझै ज्युकात्यू छ । मुद्दासंग मुद्रा साट्ने, सभ्यसंग द्रब्य साट्ने, विचारसंग व्यभिचार साट्ने, इच्छासंग भिक्षा साट्ने प्रवृतिबाट मुक्त हुनुपर्ने प्रधान आवश्यकता बनेको छ । मानवताबादमा आधारित गुणस्तरीय, बैज्ञानिक र प्राबिधिक शिक्षाको क्षेत्रमा उल्लेखनिय आयाम स्थापित हुने मुद्दा उठान गरि रचनात्मक र कलात्मक शैली मार्फत सम्बोधन गराउन सम्बन्धित निकाएमा दबाब दिनुपर्छ । 
 
बिधार्थी आन्दोलन र राजनीतिको परिभाषामा नयाँपन ल्याई त्यसको दायरा र ठोस निर्देशिका तयार पार्नु पर्दछ । विभिन्न बिश्वबिद्यालयसंग र सरोकारवालाहरुसंग समन्वय गरि रोजगारमूलक, चेतनामुलक, गुणस्तरीय, बैज्ञानिक, व्यवहारिक र राष्ट्र बिकाश र निर्माणमा टेवा पुग्ने शैक्षिक प्रणालिको खाका, बिश्व बजारमा सम्मान हुने शैक्षिक पाठ्यक्रमको सुरुवात गर्ने तर्फ नेबिसंघको ध्यान सम्पूर्ण रुपमा केन्द्रित हुनुपर्छ ।
 
 
३. संगठन निर्माण र व्यवस्थापनको संकल्प:
सन् २०११ को केन्द्रिय तथ्यांक विभागको रिपोर्ट हेर्ने हो भने नेपालमा ४०.३% युवाहरु छन् अर्थात् १, ०६, ८९, ८४२ नेपालमा युवाहरुको जमात रहेको देखिन्छ। बिधार्थी राजनीतिमा यिनै युवाहरुको ठुलो अंशको सङ्लग्नता र असर रहने कुरामा हामी सबै बिज्ञ नै छौ। नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा यिनै युवाहरुको व्यापक उपस्थिति र सहभागिताले निर्णायक प्रतिफल पाएको छ र संगसंगै राष्ट्र निर्माणमा पनि। बिदेशिएका युवाहरुले बगाएको पसिना र मिहिनेतबाट बिप्रेषण मार्फत नेपालको कुल बजेटको २८.३% हिस्सा ओगट्छ। त्यसैले यिनै सम्पूर्ण कुराको उचित संष्लेषण गर्दै बिश्वबिधालयका विभिन्न क्याम्पस, जिल्ला, क्षेत्र, ईकाई, अनि विभिन्न तहगत रुपमा बैज्ञानिक र रचनात्मक शैलीको आधुनिक संगठन निर्माणको रोडम्याप तयारी गर्नुपर्ने देखिन्छ। संगठन निर्माण गर्ने अभियानमा माध्यमिक शिक्षा सम्ममा बन्देज गर्नु पर्छ र बिश्वबिधालय स्तरमा, जिल्लामा र क्षेत्रको स्तरमा मात्र निर्माण गर्नुपर्दछ। संगठनमा ईमान्दार, कर्मठ, जोश, जागर र विधानले तोकेको उमेर समूह भित्रका बिधार्थी युवाहरुलाई उल्लेखनीय मात्रामा प्रवेश गराई संगठनको आचरण, व्यवहार, र पद्दतिमा सुधार र निखार ल्याउदै उदाहरणीय संगठनको रुपमा स्थापित गराउन पनि यो समिति अझै बढी जिम्मेवारी हुनुपर्छ।
 
बिधार्थी राजनीतिमा देखापरेको बितृष्णा, विसंगति, लज्जाबोध, विरोधाभास बुझाइलाई चिर्दै बिधार्थी हित र राष्ट्र निर्माणको प्रेरक बन्नु पर्दछ बिधार्थी संगठनले । संगठनलाई चुस्त र दुरुस्त राख्नका लागि अभिप्रेणात्मक तालिम संचालन कम्तिमा पनि बर्षको २ पटक हरेक तहमा रहेका समितीलाइ दिनुपर्ने वाध्यकारी कदम चाल्नुपर्छ । एउटा रेस्टुरेन्टमा खाजा खानको लागि १० हजार १५ हजारको बिल तिर्ने नेबिसंघ भन्दा एउटा कार्यक्रममा सहभागी भई सबैलाई उत्प्रेणा जगाउन सक्ने दक्ष नेबिसंघ निर्माण गरि " बिधार्थीसँग नेबिसंघ " नामक कार्यक्रम देशभरी बर्षमा कम्तिमा एक पटक संचालन गर्नुपर्दछ । प्रशिक्षित र अनुशासित नेबिसंघ बर्तमान आवश्यकता र अपरिहार्यता हो । "कुशल व्यक्ति प्रशिक्षित संगठन, सबैले गर्नुपर्दछ बिचारको मन्थन" भन्ने बिषयलाई गम्भीरताका साथ ग्रहण गर्नु पर्ने अर्को प्रधान आवश्यक देखिन्छ । संगठन सबैको साझा भएको अनुभूति हरेक नेबिसंघले गर्न पाउनु पर्दछ । समग्रतामा एकता, एकतामा ऐक्यबद्दता, ऐक्यबद्दतामा समाबेशिता, समाबेशितामा प्रतिबद्दता, प्रतिबद्दतामा शुद्द्ताको मूल मन्त्रलाई अङ्गीकार गर्दै संगठन संचालन र व्यवस्थापनमा कौशलता देखाउनु पर्नेछ बर्तमान केन्द्रिय समितिले।
 
४. राष्ट्र निर्माणको अभियानमा सहभागिता र वाच डगको भूमिका :
सरकारले गरेका केहि निर्णयहरु जसले जनजीबनमा केहि असर राख्दछन, जस्तो पेट्रोलियम पदार्थमा मूल्य बृद्दी, यातायात भाडामा मूल्य बृद्दी, दैनिक उपभोग्य सामग्रीमा मूल्य बृद्दी, महंगी लगाएतका बिषयमा बिधार्थी संगठनहरुको आन्दोलनको ऐक्यबद्दता र त्यस बिरुद्द अभियान चलेको प्रशस्त देख्न पाइन्छ । तर अब बिधार्थी संघको जिम्मेवारी यो भन्दा फराकिलो र बृहत्तर बनाएर लैजानु पर्ने अबको आवश्कता बनेको छ । संबिधान कार्यान्वयन, स्थानीय, संघीय र केन्द्रको गरी ३ वटा निर्बाचनमा प्रत्यक्ष सहभागी भई पार्टीलाई सफल बनाउन भूमिका निर्बाह गर्नुपर्ने चुनौती रहेको बेला अबको संगठनको भूमिका त्यस अनुसार निर्देशित हुनुपर्छ र ढाँचा पनि त्यसै अनुरुप निर्माण गर्नुपर्छ । सरकार र विभिन्न निकायले गर्ने गरेको दीर्घकालिन र अल्पकालीन निर्णयहरुलाई “वाच डग”को रुपमा काम गरि कार्यान्वयनका निम्ति दबाब सिर्जना गर्नुपर्ने छ र ब्याप्त रहेको भ्रष्ट्राचारका बिरुद्दमा पनि ठोस जिम्मेवारी निर्बाह गर्नु पर्नेछ । २०७२ साल बैशाख १२ गतेको महाभूकम्प र सेप्टेम्बर २३ गते देखी फेब्रुअरी ४ गते सम्म गरी जम्मा १३५ दिने नाकाबन्दीले गर्दा नेपालका लागि निकै नै कठिन र असाधारण बर्ष भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माण अभियानमा ढिला सुस्ती लगाएत पीडितहरुको उचित व्यवस्थापनको निम्ति सरकारलाई झक्झक्याउने अभियान थाल्नुपर्छ  अर्थात् सम्पूर्णतामा रचनात्मक र सकारात्मक राष्ट्र निर्माणको प्रक्रियामा संग्लग्नाता देखाई योजना कार्यान्वयनका निम्ति आवश्यक दबाब सिर्जना गर्नुपर्ने छ र त्यसका निम्ति नेबिसंघले पहिल्याउने बाटो तय हुनु पर्दछ ।
 
५. उदाहरणीय कार्यकाल र परिबर्तनमा आधुनिकरण:
अहिलेको नेबिसंघले सफल रुपमा नेतृत्व प्रदान गर्दै हरेक क्षेत्रमा आफुलाई उल्लेखनीय ढंगबाट परिणाममुखी नतिजा आउने व्यवस्थामा समाहित गर्नुपर्ने छ । परिबर्तनलाई अंग्रेजीमा CHANGE भन्दछ । यो शब्दलाई  C, HANG, र E हुने गरि तीन खण्डमा बिभाजन गर्ने हो र यसको अर्थ बृस्तित रुपमा खोतल्ने प्रयास गर्ने हो भने यस्तो हुदो रहेछ । सुरुको C बाट कमिटमेन्ट र अन्तिमको E बाट ईफोर्ट लिएर अबको ने.बि.संघको नेतृत्व अगाडी बढ्नुपर्छ र बिचको HANG  बाट नेबिसंघ सधैका लागि मुक्त हुनु पर्छ । नेबिसंघ अब बिगतको जस्तो ९ बर्ष सम्म hang भएर बस्नु हुँदैन अर्थात् चलाएमान हुनुपर्छ । नेबिसंघले अब त्यस्तो कमिटमेन्ट लिनुपर्छ कि सधै भरि यो संगठनको सम्मानका खातिर सबै युवाहरु समर्पित हुनेछन् । अबको कमिटमेन्ट निर्धारित समयमै महाधिबेशन गर्ने हुनुपर्छ । नेबिसंघले आफ्नो कार्यकाल उदाहरणीय बनाउनका निम्ति कमिटमेन्ट र ईफोर्टको सूत्रको व्यवहारिक प्रयोगमा आफुलाई अनुबन्धित गर्नुपर्नेछ । परिवर्तनको नाममा पुरानै शैलीलाई प्रसय दिएर पुनरावृत्ती गर्नुको साटो केहि कुरा थपेर आधुनिक तवरले त्यसमा काम गर्नुपर्छ चाहे त्यो संगठन निर्माणको सवालमा होस्, कार्यदिशा निर्माणको सवालमा होस् र कार्यनिती कार्यान्वयनको सवालमा होस् । 
 
त्यसैले अबको कमिटमेन्ट बिश्वास, बिकाश र निकाशको कमिटमेन्ट हुनुपर्छ । अबको कमिटमेन्ट बिमर्श र निष्कर्षको कमिटमेन्ट हुनुपर्छ । अबको कमिटमेन्ट हरेक बिधार्थी, युवा, र जनताको अर्गानिक पसिना र भर्जिन सपनाप्रति समर्पित हुनुपर्छ। अबको कमिटमेन्ट बिधि, बिधान र बिकाश साधनको कमिटमेन्ट हुनुपर्छ । यी सम्पूर्ण कमिटमेन्टहरुलाई पूर्ण ईफोर्टका साथ् जोड्न सक्यौ भने हामि सबैले सोचेको चाहेको र हाम्रो ने.बि.संघ भएको अनुभूति गर्न पाउछौ। कार्यसमिति उधारणिय बनाउनका निम्ति साझा संकल्प, ईमान्दारिता, निष्ठा, विश्वास,उर्जा, लगनशीलता, स्वच्छता र साँचो कुराको जगमा अडेको नेतृत्व र कार्यसमिती हुनु अहिलेको प्रधान आवश्यकता छ ।
 
(लेखक सुनार नेबिसंघका नेता हुन्)



नयाँ