सुन तस्करी प्रकरणमा सीआईबीले गर्यो इन्टरपोललाई पत्राचार
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
821
Shares
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोग मागेको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले इन्टरपोललाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए ।
गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सीआइबीले गरिरहेको छ । सीआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ । सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।