arrow

आँखा पाक्ने रोगसँगै सापुबाट बच्ने बेला आयो – डा रञ्जु खरेल सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
dr-ranju-kharel-sitoula-oph.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अहिले आँखा पाक्ने रोगका बिरामीहरु देशव्यापी रुपमा देखिएका छन् । जसका कारण विभिन्न स्थानीय तहका विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ । अस्पतालमा आउने आँखाको समस्या भएका बिरामीमा अधिकांश यही आँखा पाक्ने रोगकै बिरामी बढी छन् । आम भाषामा आँखा पाक्ने रोग एडिनो भाइरसको संक्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई संक्रमित गर्छ । यसलाई कन्जङ्क्टिभाइटिस भाइरस पनि भनिन्छ । आँखा पाक्ने रोगका बारेमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आँखा विभागकी सहप्राध्यापक डा रञ्जु खरेल सिटौलासँग कुराकानी गरेका छौँ । 

आँखा पाक्ने रोगका बिरामीहरु अहिले कति छन् ? 
तराईबाट शुरु भएको यो रोग तराईका जिल्लाहरुमा केही कम भएको भनेर आएको छ । उपचार गर्न आउने देशभरकै सरदर गत साता ६० प्रतिशतमा यो रोग लागेकामा अहिले ४० प्रतिशतमा झरेको छ । 

पहिले कस्तो थियो दर ? 
पहिले त अझै बढी थियो । अहिले केही कमी भएको हो । 

यो रोग लागेपछि निको हुने समय कति हो ? 
यो रोग निको हुन कसैलाई १४ दिन लाग्छ । कसैलाई आँखाको इम्युनिटी (प्रतिरोधात्मक क्षमता) राम्रो छ भने सात दिनमा पनि निको भएको छ । 
यसको पनि एन्टीबडी बन्ने हुन्छ कि ? 
आँखा पाक्ने रोग गराउने भाइरस एडिनो भाइरस भए पनि अहिले देखिएको कन्जङ्क्टिभाइटिस भाइरस हो । सामान्य भाइरसभन्दा यसको प्रकृति थोरै फरक छ । आँखामा ब्लिडिङ जुन हामी ह्यामोरेज भन्छौँ त्यो भएर आँखाको रातोपन धेरै देखिएको छ । प्रारम्भिक अध्ययनमा एडिनो नभएर इन्टेरोभाइरसको पनि ‘रो’ रहेछ भन्ने देखिएको छ । भाइरस विरुद्धको इम्युनिटी बनाउनको लागि कस्तो हुन्छ भने भाइरस भन्या अस्थिर प्रकृतिको हुन्छ । उनीहरुको स्ट्रेनहरु परिवर्तन भइरहन्छ । जुन भाइरसको स्ट्रेन सेरोटाइपले अहिले इन्फेक्सन गरेको छ त्यो व्यक्तिलाई त्यो स्ट्रेनबाट केही महिनाको लागि इम्युनिटी प्राप्त होला । तर यो भाइरसको म्युटेसन एकदम छिटो हुने हुँदाखेरी र ठ्याक्कै कुनै स्ट्रेनले गरेको हो, कुन चाहिँ सेरोटाइप हो भन्ने कुरा पत्ता लगाउने प्रविधि हामीसँग नभएको फेरि इन्फेक्सन नहोला भन्न सकिँदैन । 

एकपटक आँखा पाकेपछि केही समयलाई ढुक्क हुने अवस्था छैन ? 
त्यस्तो अवस्था छैन । तर पनि अहिले हामीले जति पनि बिरामी हेरेका छौँ बिरामीको चार हप्ताको अवधिमा दोहोरिएर आएको घटना छैन । एक चरणको भयो । अनि थोरै मात्रामा चाहिँ आँखाको नानीमा छोएर अलि खतरा हुन सक्छ । यो थोरै समुदायमा मात्र देखिएको छ । त्यो हिसाबले जटिलताको दर धेरै नभएको र दोहोरिने सम्भावना यकिनका साथ भन्न नसकिने अवस्था छ । 

यसको चेन ब्रेक कसरी गर्ने ? 
चेन ब्रेक भन्दा पनि अहिले यो रोगका रोगीको संख्या नै घटेको देखिन्छ । तराईबाट शुरु भयो तर अहिले तराईमै धेरै बिरामी घटेका छन् । यद्यपि उपत्यकामा धेरै नै बिरामी छन् । चेन ब्रेक गर्नका लागि कन्ट्याक ब्रेक नै गर्ने हो । हावाबाट सर्ने भाइरस नभएकोले आफ्नो आँखाको रोग अर्को व्यक्तिमा नजाओस् भन्ने हो । कतिपय अवस्थामा सम्भव छ । आफ्नो हात राम्रोसँग सफा गरेर, आँखालाई जथाभावी नछोएर, साबुन पानीले हात धोएर सकिन्छ । तर इन्टिरियर कन्ट्याक्ट चाहिँ न्यूनीकरण नै गर्न सक्छु भन्न गाह्रो छ । त्यो व्यक्तिले बाटोमा हिँड्दा रेलिङमा समात्या थियो होला, पोलमा समात्या थियो होला, ढोकाको ह्यान्डिलमा समात्या थियो होला, बैंकमा जान्छौँ, बाथरुमको धारा समात्या थियो होला । यसरी अप्रत्यक्ष सम्पर्कबाट चेन ब्रेक गर्न चाहिँ गाह्रो छ । तर पनि आफैँ सजक भएर र नहुने व्यक्तिले पनि सजगता अपनायौँ भनेदेखि सुरक्षित रहन सकिन्छ । जस्तो कि हामीले त धेरै बिरामी हेरिराख्या छौँ नि । यति धेरै बिरामी हेरे पनि हाम्रो अस्पतालमा डाक्टर, स्टाफहरु कसैलाई पनि यो रोग सरेको छैन । हामीले सुरक्षित विधि अपनाएर नै सुरक्षित हुन सकेका छौँ । परिवारलाई सुरक्षित राख्न सकेका छौँ । तसर्थ सजगतामा ध्यान दियो भने चेन ब्रेक आफैँ हुन्छ जस्तो लाग्छ । 

रेलिङबाट सर्ने सम्भावनाबाट बच्न प्रयोग गर्ने सेनिटाइजर नै हो कि अन्य विधि छ ? 
हामीले प्रायः प्रयोग गर्ने सेनिटाइजरमा जति अल्कोहलको मात्रा छ त्यसले भाइरसलाई पूर्णतः मार्न नसक्ने रहेछ । त्यसबाट ७० देखि ८० प्रतिशतमात्र भाइरस मार्ने रहेछ । केही हदसम्म त हामी सुरक्षित हुन सक्छौँ । सबैभन्दा उत्तम उपाय भनेको त दुई मिनेट लगाएर मिचीमिची साबुन पानीले हात धुने नै रहेछ । केही नहुनु भन्दा भएको व्यक्तिले आफूसँग सेनिटाइजर बोकेर प्रयोग गर्नु राम्रो हो । 

यो रोगलाई मौसमले कत्तिको प्रभाव पार्छ, यति समयसम्म रहन सक्छ भन्ने छ कि ? 
जति पनि त नजाला । तराईबाट शुरु भएको तराईमा कम भइरहेको छ । त्यसैले वर्षायाममा देखिन्थ्यो । वर्षायाम पनि नियन्त्रण हुँदै गइरहेको छ । अब एक दुई हप्तामा नै यो रोगबाट मुक्ति पाउँछौँ कि जस्तो लागेको छ । तर सँगसँगै वर्षायाम त सकिन लाग्यो । यो रोगले आँखा रातो हुनबाट जोगाउन सकिएला । तर फेरि अर्को नयाँ रोग आइसक्छ । त्यो भनेको पहिले देखिएको सापु रोग हो । सेतो पुतलीबाट हुने रोग झन् खतरनाक छ । यो वर्ष बिराएर आउँछ । यसपालि आउने उसको पालो हो । पालो अनुसार भदौदेखि आउने रोग हो । त्यसकारण यो आउनुअघि आँखा पाक्ने रोग हुन रोकियो भने सजिलो हुने थियो । अहिलेको रोगले आँखाको दृष्टिमा त असर गर्दैन । तर सापुले त ७२ घण्टाभित्र दृष्टिविहीन बनाउन सक्छ । त्यसैले सापु भएको बिरामी पनि आँखा पाक्ने रोग होला भनेर बसिदिनु भयो दीर्घकालीन असर पर्छ । त्यो हिसाबले पनि हामी छिटोभन्दा छिटो कन्जङ्क्टिभाइटिसको रोग गइदिए हुन्थ्यो भनेर हामी पनि आशा गरिरहेका छौँ । 

घरमै बसेर आँखा पाक्ने रोगको उपचार गरौँ भनेर सम्भव छ कि छैन ? 
कन्जङ्क्टिभाइटिसको पनि विभिन्न चरणहरु हुन्छन् । शुरुआती चरणमा त सामान्य आँखा पाकेको त घरेलु उपचारबाटै निको गर्न सक्छौँ । जस्तो आफ्नो डाइटमा ध्यान दिनु पर्यो । किन भन्दाखेरी इम्युनिटी बढ्यो भने भाइरसबाट छिटो मुक्त हुन सकिन्छ । पर्सनल हाइजिन, आँखाको हाइजिनहरुमा ध्यान दिनु पर्यो । परेको खण्डमा हामीले सामान्य खालको एन्टिबायोटिक राख्यो भने उचित हुन्छ । र अर्को कुरा चाहिँ आँखा बिझाउने, आँखामा के पर्या जस्तो, आँशु आइरहने हुँदाखेरी आँखाको औषधि राखेर सहजीकरण गर्छ । यतिमात्रले पनि चाँडै ठीक भएको देखिएको छ । कसैकसैको चाहिँ दीर्घरोगी हुनुहुन्छ, डाइबिटिज छ अथवा उमेर बढी छ भने उहाँहरुले जँचाएर आँखामा कुन लेभलको इन्फेक्सन छ, कुन लेभलको औषधि चाहिन्छ त्यो देखाएर लगाए राम्रो । 

कन्जङ्क्टिभाइटिस रोग कुन उमेर समूहकोलाई बढी देखिएको छ ? 
त्यस्तो भन्ने ठ्याक्कै छैन । सबै उमेर समूहमा देखिएको छ । बच्चाहरुलाई छ । बच्चाहरुलाई स्याहार गर्दा उहाँहरुको बुबाआमालाई पनि हुने भैहाल्यो । घरमा हजुरबुबा हजुरआमालाई भा’छ भने पनि स्याहार गर्ने त छोराबुहारी नै हुन्छ । तर बढी मात्रामा भने बच्चा र वयस्कमा बढी छ । 

सापुका लागि सचेतना के हुँदैछ ? 
सापुको बारेमा हामीले मन्त्रालय तहमै काम गरिरहेका छौँ । यो त झन् जरुरी छ । सापुको केस आँखा पाक्ने रोगको केससँग जोडिन भएन । 

सापुबाट कसरी बच्ने ?
सेतो पुतलीको संसर्गबाट टाढा रहनु पर्छ । बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔँ । राति सुत्दा सकेसम्म झ्याल ढोका बन्द गरौँ । झुल लगाएर सुत्ने गरौँ ।



नयाँ