arrow

एसिया कप क्रिकेट

१०४ रनमै समेटियो नेपाल, पाकिस्तानसँग २३८ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
asia-cup-cricket-nepal-pakistan-2023-08-30x.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको डेब्यु खेलमा नेपालले खराव प्रदर्शन गरेको छ । नेपालले हालको विश्वकै सबैभन्दा बलियो टिम पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरमा पराजित भएको हो । 

पाकिस्तानको मुल्तानमा भएको खेलमा ३४३ रनको विशाल चुनौती पछ्याएको नेपालले २३.४ ओभरमा अलआउट हुँदै १०४ रनमात्र बनायो । 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले ४६ बलको सामना गरेका थिए । 

त्यस्तै आरिफ शेखले ३८ बलमा २६ रन बनाए भने गुल्सन झाले २३ बलमा १३ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् । ओपनर कुशल भुर्तेलले ४ बलमा ८ रन बनाएका थिए । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले रनको खातासमेत खोल्न सकेनन् । 

पाकिस्तानका लागि शदाब खानले ४ तथा शहीन शाह अफ्रिदी र हरिस राउफले २–२ विकेट लिए । 
 

पाकिस्तानको इनिङ्स
नेपालले एसिया कपमा डेब्यु गरिरहँदा घरेलु टिम पाकिस्तान मुल्तानमा शुरुआतमा दबाबमा रहेको थियो । तर मध्यक्रमको ब्याटिङ चम्किएपछि सशक्त प्रदर्शन गर्दै ६ विकेटको क्षतिमा ३४२ रन बनायो ।  

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २७.५ ओभर खेल्दा १२४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । 

तर कप्तान बाबर आजम र इफ्तिखार अहमदले पाँचौँ विकेटका लागि २१४ रनको साझेदारी गरेपछि उच्च योगफल खडा गरेको हो । 

कप्तान आजमले ५६ रन जोड्दा करण केसीले सहज क्याच छोडेका थिए । सोही कमजोरीका कारण नै पाकिस्तानले उच्च योगफल बनायो । 

आजमले १३१ बलको सामना गर्दै १५१ रन बनाए । उनको यो १९ औँ शतक हो । त्यस्तै अहमदले ७१ बलमा अविजित रहँदै १०९ रन बनाए ।

मोहम्मद रिजवान ४४, फखर जमान १४, इमाम उल हक ५, अघा सल्मानले ५ तथा शदाब खान ४ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले दुई तथा करण र सन्दीप लामिछानेले एक एक विकेट लिए भने कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले एक एक जनालाई रन आउट गरे । 

पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ । 

एसिया कपमा नेपालको समूहमा भारतसमेत रहेको छ । भारत हालको वरीयतामा तेस्रो स्थानमा छ । 

नेपालले भारतसँग आगामी सोमबार खेल्नेछ । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ