- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मुख्य उद्देश्य कता छ भनेर संकेत गर्नका लागि सबैभन्दा पहिला अरुलाई दोष दिने गर्छन् । दुई महिनाअघि अर्थात् असार १४ गते मदन भण्डारीको जन्मदिनको अवसरमा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अंगालेको आरोप लगाए ।
जुन बाटोमा आफू हिँड्दै थिए ओलीले कांग्रेसतिर लक्षित गरेर आफ्नो बाटो त्यता तय भएको संकेत गरे । ‘नाथुराम गोड्से (महात्मा गान्धीका हत्यारा) को खोजी गर्ने कांग्रेसले प्रचण्ड पथ अँगालेको छ’, उनले भनेका थिए ।
उनले कांग्रेसलाई मात्र होइन माओवादी केन्द्र र प्रचण्डपथलाई पनि उत्तिकै आलोचना गर्ने गरेका छन् । पहिचानवादीहरुले एक पटक ओलीलाई झापा र इलामको कार्यक्रममा अवरोध गरे ।
फर्केर काठमाडौँ आएपछि त्यसको संरक्षण प्रचण्डपथबाट भएको भन्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका थिए । ‘यो सबै पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू हो, प्रचण्ड पथबाट भएको हो, प्रचण्ड पथ अझै गएको छैन, प्रचण्ड पथ भनेको देशद्रोही पथ हो, अपराधी पथ हो, केपी ओलीलाई सुनैसुनको भेस्ट लगाइदिने पनि माओवादीहरू नै हुन्, प्रचण्ड पथहरू हुन्’, उनले आक्रोसित हुँदै प्रचण्डको आलोचना गरेका थिए ।
आफैँले आलोचना गर्ने गरेको प्रचण्डपथमा भने एमाले र उनी स्वयं त्यता लम्किरहेका छन् । एमालेले आफूलाई कांग्रेसभन्दा पनि प्रजातान्त्रिक पार्टीको रुपमा कार्यकर्तामाझ दाबी गर्दै आएको थियो । उन्नत स्तरको लोकतान्त्रिक अभ्यास गरेको भन्दै संसद र संसद बाहिर पनि एमाले नेताहरुको अभिव्यक्ति आउने गरेको छ ।
सांगठनिक संरचना र त्यसको निर्वाचन प्रणाली हेर्दा आफूलाई प्रजातान्त्रिक पार्टी भन्नेहरुको भन्दा लोभलाग्दो नै थियो । जब एमालेले चितवनमा १० औँ महाधिवेशन गर्यो त्यसपछि उसले भन्ने गरेको लोकतान्त्रिक पद्धति ओलीको मनमौजी रुपमा चल्न थाल्यो ।
१० औँ महाधिवेशनपछि ओलीले आफूलाई शक्तिशाली बनाउँदै लगे । पार्टीका सबै संरचनामा ओली र ओली निकट रहेका नेताहरुको हाबी हुन थाल्यो । त्यतिमात्र होइन डेढ वर्षअघि भएको एमालेको महाधिवेशनमा पार्टीको नीति, वैचारिक मार्ग तथा भावी राजनीतिक कार्यदिशा भन्दा पनि नेतृत्व चयनले प्राथमिकता पायो । एमालेको महाधिवेशन नै अध्यक्ष केपी ओलीमय बनाइएको थियो ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ओलीलाई एमालेको पर्याय र ओली बिनाको एमाले, एमाले नै नरहनेजस्तो गरी प्रचार गरिएको थियो ।
एमालेको उद्घाटन कार्यक्रमको बीचमा देखाइएको एक वृत्तचित्रमा ओलीलाई पार्टीभन्दा माथि देखाउनुका साथै एमाले नेतृत्वको सरकारले गरेका काम, अघि सारेका योजना जस सबै ओलीलाई दिइएको थियो ।
व्यक्तिको देवत्वकरणले कुनै पनि पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाउने गर्दछ । एमालेमा अहिले ओली सबैका ‘बा’ का रुपमा चर्चित छन् । उनले आफ्नो युट्युब च्यानल सस्क्राइब गर्न आन्तरिक रुपमा फर्मान नै जारी गरेका छन् । यी सबै घट्नाक्रममा पार्टीभन्दा माथि व्यक्तिलाई राखेका परिदृष्य हुन् ।
एमालेले अध्यक्ष ओलीको हस्ताक्षरसहित जारी गरेको पछिल्ला दुई अन्तरपार्टी निर्देशनलाई उदाहरणको रुपमा लिने हो भने पूर्णतयाः ओलीलाई केन्द्रमा राखेर जारी भएका छन् ।
जबकि ओलीले जारी गरेको अपानीमा भनिएको छ, ‘कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ ।’
यो अपानीको कार्यान्वयन ओली उपस्थित कार्यक्रममा लागु हुँदैन । त्यसको अर्को उदाहरण पनि हेर्न सकिन्छ ।
‘सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी सार्वजनिक कार्यक्रममा (तीन अग्रजका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने’ निर्णय गरेको छ । जसले गर्दा ओलीलाई केन्द्रमा राखेर यस्तो निर्णय गरेको हो भन्न कत्ति पनि कठिन छैन ।
ओलीको व्यवहार, अभिव्यक्ति र नीतिगत निर्णय पनि प्रचण्डै पथमै पुगेको छ । २०५७ माघ–फागुनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा माओवादी पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ’ पारित भएपछि आठ वर्षसम्म माओवादीले यसैअनुरुप आफ्ना वैचारिक–राजनैतिक, सांगठनिक र फौजी कारबाही सञ्चालन गर्यो ।
२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्डपथ कायमै रह्यो । २०६४ चैतमा पहिलो संविधान सभा चुनावमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अबलम्बन गरिरहेको थियो ।
२०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा आयोजना गरेको बहुचर्चित राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा पनि प्रचण्डपथबारे लेखिएको थियो ।
त्यसपछि माओवादीमा मोहन वैद्य, सीपी गजुरेल लगायतका नेताहरुले यसलाई मान्यता दिएनन् ।
अन्नतः माओवादीले प्रचण्ड पथ छाड्यो । तैपनि माओवादीमा विगत ३० वर्षदेखि प्रचण्डले नेतृत्व गर्दै आएका छन् । केही समय उनी माओवादीमा मात्र होइन नेपालको राजनीतिकै केन्द्र भागमा देखिने अवस्था छ ।
ओलीले एमालेमा १० वर्ष नेतृत्व सम्हालिसकेका छन् । नवौँ महाधिवेशनबाटै ओलीले एमाले कब्जा गरेका हुन् ।
आठौँ महाधिवेशनले पास गरेको ७० वर्षे उमेर हदलाई चितवन महाधिवेशन सकिएपछि उडाइदिए । जबकि ७० वर्षे उमेर हद लागु हुनु अगावै उनले दशौँ महाधिवेशन गरेर दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका थिए ।
दोस्रो कार्यकाल अध्यक्ष चुनिँदै गर्दा उनले उमेर हद कायम राखेको भए पनि त्यसको एक वर्षपछि नेकपा एसबाट मुकुन्द न्यौपाने एमालेमै फर्किने र उनलाई जिम्मेवारी दिने बहाना बनाएर उमेद हद निलम्बन गरिदिए ।
उमेर हद निलम्बन गर्दा पार्टीका दुई सचिव योगेश भट्टराई र गोकर्ण विष्ट बाहेक कसैले पनि विरोध गर्न सकेनन् ।
त्यतिमात्र होइन दशौँ महाधिवेशनमा आफू सर्वसम्मत अध्यक्ष नभएको प्रतिशोधमा प्रतिस्पर्धी उम्मेदवार भीमबहादुर रावल र घनश्याम भुसाललाई २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिएनन् ।
वाध्यताले भुसाल माधव नेपालको पार्टीमा प्रवेश गरे रावल निर्वाचनको अवधि र त्यसपछि पनि कतै सक्रिय भएनन् ।
केही दिनअघि मात्रै ओलीले बोलाएर रावलसँग एक चरण कुराकानी त गरे तर अझै जिम्मेवारी दिएका छैनन् ।
पछिल्लो पटक पनि पार्टीभित्र उनी र उनी निकट कोटरीमा रहेका भारदारहरुको मात्रै निर्णय हावी भएको छ ।