arrow

अन्तर्राष्ट्रिय कोदो वर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
kodo-hervest.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय कोदो वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासद्वारा मंगलबार राजधानीमा कोदो खेती र यसका पोषक गुणबारे चेतना अभिवृद्धिसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरियो । 

त्यस अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले भौगोलिकरूपमा नेपालका पहाडी भेग कोदो उत्पादनका लागि उर्वर छन् भन्दै कोदोखेतीसँगै अन्यबालीको उत्पादन वृद्धि अभियान थालिएको बताए । उनले कोदोको अनुसन्धान, विकास र मूल्यशृङ्खलाबारे भारतीय अनुभवबाट नेपालले सिक्न चाहेको बताउँदै पत्रुखानाको तुलनामा स्वास्थ्यवर्धक कोदोका परिकार प्रवर्द्धन आवश्यक भएको विचार व्यक्त गरे । 

खाद्यसुरक्षा र पोषणको महत्त्वपूर्ण स्रोत कोदो भएकाले यसको खेती प्रवर्द्धनलाई सरकारले उच्च महत्त्व दिएको मन्त्री भुसालले बताए । “स्वास्थ्यदेखि वातावरणीय दिगोपन र आर्थिक विकाससम्म कोदोका धेरै फाइदाहरूका बारेमा चेतना जगाउने अवसर हो,” कुनै बेला कुअन्न भनेर हेयको दृष्टिले हेरिने कोदो अहिले श्रीअन्न भएको चर्चा गर्दै उनले भने । 

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले खाद्य असुरक्षा बढिरहेका बेला कोदोको स्वास्थ्य र पौष्टिक फाइदाका बारेमा सचेतना बढाउन गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) र संयुक्त राष्ट्रसङ्घसमक्ष सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाउन प्रस्तुत गरेको प्रस्ताव विश्वका ७२ देशले समर्थन गरेसँगै उक्त विश्वसंस्थाबाट त्यो अनुमोदन भएको बताए । सरकार र निजी क्षेत्रका कम्पनीहरूदेखि लिएर सर्वसाधारणलाई कोदोप्रति आकर्षित गर्न सकिने विचार पनि उनले व्यक्त गरे ।

भारतीय राजदूतले नेपालको कृषि विकासका साथै कोदो खेती प्रवर्द्धनमा सघाउन नेपाली प्रतिनिधिमण्डल चाँडै भारतको अध्ययन भ्रमाणमा जानलागेको जानकारी दिँदै रामपुर कृषि विश्वविद्यालय र उत्तरप्रदेश कृषि विश्वविद्यालयबीच कृषिविकासका कार्यक्रमका निमित साझेदारी भइरहेको बताए । 

उनले कोदो फलाएर भोकमरी अन्त्य गर्ने दिगो विकासका लक्ष्यमध्येको एउटा लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय कोदो वर्ष महत्त्वपूर्ण भएको बताए । “कम समय र कम पानीमा नै कोदो उत्पादन गर्न सकिने भएकाले नेपालमा पनि यसको उत्पादन बढाउन सकिने प्रशस्त सम्भावना छ,” उनले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका बेला भएको सहमतिअनुसार कृषि विकास एवं सहकार्यका द्विपक्षीय कार्यक्रमले गति लिएका भारतका राजदूतले बताए । 

नेपालका लागि एफएओका प्रतिनिधि केन सिमीजुले भोकमरी, कुपोषण, विश्वव्यापी रूपमा निरन्तर बढ्दो जनसङ्ख्या, सीमित प्राकृतिक स्रोत र जलवायु परिवर्तनका कारण उत्पन्न जटिल चुनौतीको सामना गर्नुपरेको वर्तमान परिवेशमा खाद्य सुरक्षामा योगदान गर्ने कोदोखेती र यसको पोषण महत्त्वबारे सबै उपभोक्ताले जान्नुपर्ने बताए । उनले कोदोखेती प्रवर्द्धनका निम्ति एफओएले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ