arrow

प्रति ४० सेकण्डमा एक जनाद्वारा आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार

काठमाडौं ।  वरिष्ठ मनोचिकित्सक (कन्सल्टेन्ट साईक्याट्रिष्ट) डा वासुदेव कार्कीले विभिन्न मानसिक, सामाजिक तथा वातावरणीय र जैविक कारणले आत्महत्याका घटना बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि घरपरिवारदेखि सबै सरोकारवालाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

“विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार वार्षिक आठ लाखभन्दा बढी मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् । यो भनेको प्रतिचालीस सेकण्डमा एक जनाको ज्यान जानु हो । नेपालमा पनि सरदर दैनिक १९ जनाले ज्यान गुमाउने गरेको डरलाग्दो तथ्याङ्क छ”, डा कार्कीले भने, “आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये झण्डै ९५ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको पनि अध्ययनको निष्कर्ष छ । यसर्थ घरदेखि समाजका हरेक आयाममा मानसिक स्वास्थ्यका लागि हामी सबैले योगदान गर्नुपर्दछ । अन्यथा यो समस्याबाट हामी सबै ग्रस्त हुन्छौँ ।”

त्यसैगरी डा पल्लवी कोइरालाले विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या नियन्त्रण र निरुत्साहनका लागि आमसञ्चार माध्यम प्रभावकारी हुने निष्कर्षसहित ‘आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन’ जारी गरेकाले त्यसको पालना गर्न सबैलाई आग्रह गरिन् । 

“आत्महत्याका घटनाको उचित सम्प्रेषणले मात्रै आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मद्दत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ । त्यसकारण आत्महत्या रोकथामका लागि संवेदनशील र जिम्मेवार भएर सूचना प्रवाह गर्न जरुरी छ”,  डा कोइरालाको आग्रह थियो । 

त्यसैगरी आयोजक संस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँका निमित्त निर्देशक शिला श्रेष्ठले आत्महत्याका घटना नियन्त्रणका लागि सबै स्थानीय तहलाई सङ्घीय सरकारकाले स:शर्त अनुदान दिने गरेकाले त्यसको सही सदुपयोग गर्न स्थानीय निकायलाई आग्रह गरिन् ।

आत्महत्याको रोकथामका निम्ति मानसिक तनावबाट गुज्रिरहेकाहरूका लागि चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्पलाइन नम्बर ११६६ र शिक्षण अस्पताल काठमाडौँको हेल्पलाइन नम्बर १६६००१२१६०० सञ्चालनमा रहेकाले त्यसमा सम्पर्क गर्न पनि श्रेष्ठले अनुरोध गरिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ