arrow

सुन तस्करी प्रकरणमा सीआईबीको प्रतिवेदन

तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

५० जनालाई प्रतिवादी बनाउन राय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
gold-galaudai.jpg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन सय ६२ किलो सुन तस्करी भएको तथ्य फेला पारेको छ । सीआईबीले आज गरेको पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सो जानकारी दिएकी हुन् । 

उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभन्नि सातवटा कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको बताइन्।  

सीआईबीले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । 

उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोबज्राचार्यले जानकारी दिइन् । 

बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ। 

उक्त अटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका उनको भनाइ थियोे ।

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान 
उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सीआईबीले जनाएको छ । सीआईबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन् । 

उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्काे डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पुर्‍याएको सीआईबी प्रमुख बज्राचार्यले जानकारी दिइन् ।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनले उनको भनाइ थियो । तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए । 

भन्सारको भौतिक मूल्याङ्कन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ तर त्यहाँ संलग्न कर्मचारीहरु पनि अनुसन्धानको दायरमा रहेका छन् । सीआईबीले अब केही बेरमा उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ