arrow

अहिले प्रचण्डको लाजिम्पाटमा रुवाबासी चल्दैन, रोल्पामा मुर्छित छन् कयौं परिवार !

म त काममा निस्कन्छु, मन बुझाउँछु तर उसकी आमा रुँदारुँदै मुर्छा पर्छिन्

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक १० बुधबार
rolpa-news-bepatta.jpeg

रोल्पा । दश वर्षे सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यहरुका लागि यो दशैँ रुवाबासीमै बित्यो । तिहार र छठ पर्वहरु नजिकिँदै गर्दा फेरि पनि खुशीयाली थपिने भन्ने कुनै ठाँउ छैन । हरेक वर्ष दशैं तिहार आउँछ । बेपत्ता पारिएका आफन्तलाई सम्झाउँछ । चोटै–चोट मात्र दिएए जान्छ ।

जवानीमै सिउँदो पुछिएका महिला, बुढेशकालको सहारा गुमाएका बुबा–आमा, आफूलाई धर्ती देखाउने र शिक्षा दिक्षाको उज्यालो देखाउने बुबा–आमा दिवंगत भएका बालबालिका सबैले दशैँ–तिहारमा थप पीडा महशुस गर्दछन् ।

दशैँ–तिहार र छठ जस्ता मुख्य चाडपर्वहरु नजिकिन थालेपछि जसरी विदेशिएका  प्रवासीहरु घर सम्झेर आउन थाल्छन् त्यसैगरी बेपत्ता परिवारमा रुवाबासी शुरु हुन थाल्छ । यसरी अन्य परिवारका पेरदेशी घर फर्कँदा बेपत्ता पारिएकाका परिवारहरु आफन्तको  सम्झनामा डुब्छन् । दशैं तिहारले पीडा मात्रै दिएर जाने बेपत्ता परिवारका सदस्यहरुले बताए । अझ दशैँको टिका जमरा र तिहारको देउसी भैँलोले बेपत्ता परिवारमा उत्साहका अघि उनीहरु भकान्निएर रुन्छन् ।

‘हाम्रा आफन्तको पनि कुनै अत्तो पत्तो लागेको भए यसरी नै धन कमाएर चाड पर्वका बेला घर फर्कन्थे होला’ –बडाचौर –८ रोल्पाका भक्तबहादुर सुनारले मलिन स्वरमा भने । सुनारका जेठा छोरा सशस्त्र युद्धका बेला गाउँबाटै बेपत्ता पारिएका थिए । अहिले तत्कालिन विद्रोही माओवादीले नै सरकार चलाइरहेको छ । वेपत्ता छानविन आयोग पनि सरकारले गठन गरिसकेको छ । तर, त्यसको छानविनबाट सत्य तथ्य छानविन हुने कहिले हो कहिले । ‘म त बाहिर काममा निस्कन्छु,  मन बुझाउँछु तर उसकी आमा रुँदारुँदै मुर्छा पर्छिन् । आँखा गडिसके । जीउ कमजोर बन्दै गएको छ । भक्कानो फुटेर निस्केको आँशु रोक्न सकिदो रहेनछ’ सुनारले  भने ।

यो दशैँ तिहारले उनको परिवारमा अझ थप पीडा भित्र्याएको छ । छोरो बेपत्ता नभएको भए धन कमाउँथ्यो होला । अरुका छोरा जस्तै लाहुरे बनेर घर फर्कन्थ्यो होला । तर, आज उसको यादमा हाम्रो पनि जीउ ज्यान सकिएको छ । अझै कति दिन तड्पिनु पर्ने हो थाहा छैन ।’ कुरा गर्दै गर्दै रोएका सुनारले आँशु पुछ्दै भने, ‘यो पीडा हामीलाई पो विझाउँछ । हिजो हाम्रा छोरा छोरीलाई बलि दिनेहरुलाई अझै विझेको छैन ।’
 

१२ सन्तानकी आमा अन्ततः एक्लिँदा
यस्तै, उमेरले ७० कटिसकेकी जेलबाङ–४ रोल्पाकी गौना बुढाले वर्षाै वितिसक्दा सम्म पनि छोरो नफर्किएपछि छोरालाई भेट्ने आशा मारिसकेकी छन् । अब छोरो मरेको खबर सुन्नपाए मन बुझाउने थिए –उनले भक्कानिँदै भनिन् । कहिले काँही छोरो सपनामा आएको देख्दा निकै खुशी हुन्छु तर सपनाबाट व्यूझँदा मन बुझाउन निकै गाह्रो हुन्छ ।

२०५५ साल चैत ९ गते दश वर्षे सशस्त्र युद्धका समयमा गाई बस्तु चराउन  गएको १४ वर्षीय छोरा नलै बुढालाई गोठबाटै तत्कालिन विद्रोही माओवादीले अपहरण गरेर लगेपछि हालसम्म अत्तोपत्तो छैन ।
बुढेशकालमा जन्मिएको एक मात्र छोरा बाँचुन्जेल पालोस मरे पनि चितासम्म जाओस् भन्ने बुढाको सपना थियो तर बिचमै तोडियो–रुँदै उनले भनिन् । उनका १२ सन्तान जन्मिएकोमा ८ जना बाँच्न सकेनन् । बचेका तीन छोरी विवाह गरेर गए । बुढेशकालको सहारा जन्मेको एको छोरो बेपत्ता पारियो ।

केही महिनाअघि उनका श्रीमान् शंकरे बुढाको पनि छोरा फर्किने आशैआश र सम्झनाले निधन भयो । गौना अहिले सहाराविहिन भएकी छन् । श्रीमानको निधनले थप विक्षिप्त बनेकी बुढा भन्छिन्, ‘चाड पर्व आउँदा छोराका दौतरीहरु लाहुरबाट घर फर्किन्छन् । तर, छोरो फर्किदैन । छोरो भएको भए बुहारी हुन्थी, नाती नातिना हुन्थे । यो तिहारको रमझममा घर कति उज्यालो हुँदो हो ।’ कल्पना सुनाउदै उनले थपिन्, ‘कति हिउँद बिते कति बर्खा, कति ऋतु आइरहे, कति मौसम बदलियो तर मेरो मन बदलिन सकेन ।’

आमा भन्दै छोरो घर फर्कन्छ कि भन्ने आशा संगालेर यतिञ्जेल बाटो कुरे । अब त छोरो फर्कने आशा पनि मरिसकेको छ–उनले भनिन् । चाडपर्वहरु नजिकिएसंगै छोराको यादले धेरै पीडा दिएपछि थप गलेकी उनको बुढेशकाल संकटापन्न भएको छ ।

सम्पतिको नाउमा बर्खामा पानी चुहेर निथ्रुक्क भिजाउने र हिउँद लाग्दा घाम भित्रै छिर्ने सानो छाप्रो मात्र बाँकी छ उनको । घर नजिक सानो पाटो थियो । एक हल गोरु थिए । त्यो बेचेर जीवन गुजारा चलाई सकेको बुढाको परिवारमा अब त बाँकी पनि उनी मात्रै । घरले जा कालले आ भन्दा पनि छोराकै तिर्सनामा बाँचेकी छु । मर्न चाहेर के गर्नु काल आउँदैन–उनले रुँदै भनिन् ।  
 

१४ वर्षे छोरो, कहाँ गयो होला ?
सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि विक्षिप्त जंकोट रोल्पाकी ८९ वर्षिया सोमरा पुनका आँखा पनि अझै ओबाएका छैनन् । हाल कान्छी छोरीसंग बस्दै आएकी पुन भन्छिन्, ‘सबैका छोराहरु चाडपर्वका बेला धन कमाएर विदेशबाट फर्कदा मन धड्कन्छ  । छोराले पढ्यो भने बुढेशकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि दाङ पठाएका थियौं ।  विनाकारण बाटोबाटै अपहरण गरी बेपत्ता पारियो । अझैसम्म छोराको अत्तोत्तो छैन ।’ अरुका लागि दशैँ आयो तिहार आयो तर हाम्रा लागि दशा उसकै यादमा रुवाबासी छ घरमा  ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता छन् । हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पारिएकाहरुमा  सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट ७ जना र तत्कालिन लिबाङ गाविस हालको लिबाङ नगरपालिकाबाट ६ जना रहेका छन् ।

आफन्तको जिउँदो र मृत्युको खबर नपाउँदा अझैपनि बेपत्ता परिवारका सदस्यहरु तड्पिरहेका छन् । एकातिर परिवारमा बेपत्ता पारिएको व्यक्ति घर फर्किहाल्छ कि भन्ने झिनो आशा छ भने अर्काेतिर लाश मात्र देख्न पाएपनि मन बुझाउन सकिने भाव छ ।  

पटक–पटक सरकार बदलियो । तीनै जनताका छोराछोरी बेपत्ता पार्नेहरुले थुप्रै पटक सत्ता संचालन गरे । तर, बेपत्ता व्यक्तिहरुको बारेमा कसैलाई पनि चासो र चिन्ता रहेन । हरेक दिन मरेर बाँचिरहेका बेपत्ता परिवारका सदस्यले अझै भनिरहेका छन्–ज्यान देऊ कि चिहान देऊ ।

यस्तै, माओवादी विद्रोहको उद्गम भूमि र मुख्य आधार क्षेत्र मानिएको रोल्पाकै कयौं मन्त्री बनिसकेका छन् । त्यही विद्रोहको तत्कालिन सुप्रिम कमाण्डर रहेका पुष्पकमल दाहाल २ पकट प्रधानमन्त्री भइसकेका छन् । अहिले उनैले मुलुक हाँकिरहेका छन् । यद्यपि, बेपत्ता पारिएका व्यक्तिहरुबारे छानविनका लागि अघिल्लो सरकारले गठन गरेको आयोगलाई थप कार्यविधि दिन सकेका छैनन् भने छानविन अघि बढाउन सकेका छैनन् । आयोगलाई आवश्यक क्षेत्राधिकार र कानून उपलब्ध गराएका छैनन् । द्वन्द्वकालिन मुद्दा हेर्न छुट्टै अदालत गठन गर्ने सरकारको योजना पनि तन्किँदै गएको छ ।

गएको वैशाख २१ गते सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा तत्कालिन केपी ओली सरकारले आफुहरुलाई सिध्याउन खोजेको र द्वन्द्वकालिन मुद्दा नियमित अदालतमा लगेको भन्दै बेचैन भएका दाहाल अहिले त्यसबारे केही बोलेका छ्रैनन् । उनले आफ्नो पहुँचका कार्यकर्तालाई बालुवाटार बोलाएर भेट्ने र फोटो खिच्ने बाहेक अन्य पीडित परिवारलाई सम्झिनसम्म सकेका छैनन् । हिजो बन्दुक बोकेर लडेका कयौं खाडीमा छट्पटाइरहेका छन् ।

कयौं आफ्नै मुलुक भित्रपनि गाउँमा पुनःस्थापित हुन नसक्दा बाहिरबाहिरै दुःखका दिन काटिरहेका छन् । वैशाख २१ को बैठकमा दाहालले भनेका थिए, ‘आयोगले धमाधम उजुरी लिन थालेपछि हाम्रा सबै मान्छेहरुको भागा–भाग भएको छ । कयौं परिवारका सदस्यहरु मेरो लाजिम्पाट पुगेका छन् । हिजो आज मेरो लाजिम्पाटमा रुवाबासी चल्छ ।’ यद्यपि, अहिले दाहालको लाजिम्पाटमा रुवावासी नै चल्न छोडेको छ । ‘रुवावासी’ उनले युद्ध जन्माएको रोल्पामा चलिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ