arrow

संविधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
Hikmat-karki-cm-koshi.jpg

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन् । 

नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस-२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताए । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राखे । 

उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । 

सो अवसरमा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले संंविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

सो अवसरमा कोशी प्रदेश प्रमुख परशराम खापुङले संविधान कार्यान्वयन, अवसर र चुनौतीका विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रातर्फ प्रथम एन्जल राई, द्वितीय स्वीकृति अधिकारी र तृतीय उषासिंह कार्की तथा छात्रतर्फका प्रथम, द्वितीय र तृतीय क्रमशः सुभम ढकाल, सफल तिमल्सेना र अनुपम काफ्लेलाई पुरस्कार वितरण गरेका थिए ।

पुरस्कारको राशि प्रथम रु पाँच हजार, द्वितीय रु चार हजार र तृतीय रु तीन हजार छ ।

समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, उपसभामुख, उच्च अदालत विराटनगरका मुख्यमन्यायाधीश, जिल्ला अदालतका प्रमुख न्यायाधीश, सुरक्षा निकायका प्रमुख, संसदीय दलका नेताहरु, सांसाद एवं मन्त्रालयका सचिव र सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ