arrow

कोशी प्रदेशमा गर्मी

तराईका जिल्लामा उखरमाउलो गर्मी, बालबालिकादेखि वृद्धवृद्धासम्मलाई समस्या [भिडियो]

अझै केही दिनसम्म चल्ने अनुमान, अस्पतालमा बिरामीको चाप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
tarai-hot-koshi.jpg

काठमाडौँ । कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ ।

औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ भने गर्मीकै कारण अस्पतालमा बिरामीको चाप पनि बढेको छ । अहिले तराईका जिल्लामा उखरमाउलो गर्मीको प्रभाव बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई परेको छ । 

गर्मी बढ्दै गएपछि शहर बजारमा मानिसको चहलपहलसमेत घट्न थालेको छ । वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो पटक वैशाख ११ गते अत्यधिक गर्मी महसुस भएको छ । विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका कर्मचारी सञ्जय सोडारीले वैशाखकै पहिलो हप्तादेखि धेरै नै गर्मी भएको बताए ।

चैत–वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो । यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात् अनुकूल वातावरण भएको महिना बताइन्छ । तर जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको हो । जलवायु परिवर्तनका कारण वर्षेनी गर्मी बढ्दै गएको वातावरणविद् रामचन्द्र अधिकारीले बताए । 

सन् २०२३ सर्वाधिक गर्मी भएको वर्ष थियो र अब प्रत्येक वर्ष झन्–झन् गर्मी बढ्ने वातावरणविद्को भनाइ छ । साधरणतया प्रिमनसुनमा गर्मी बढी हुने भए पनि यस वर्ष वसन्त ऋतुमै गर्मी अत्यधिक बढेको बताए । जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्यधिक बढेको बताए ।

कोशी प्रदेशको राजधानी विराटनगरका अस्पतालमा यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने सङ्ख्या ह्वात्तै बढेको छ । उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ । तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि सतर्कता अपनाउनु पर्ने नोबेल मेडिकल कलेजका वरिष्ठ फिजिसियन सुरेन्द्र साहले बताए । गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएर मात्र घरबाहिर निस्किन सुझाव दिए । १० वर्ष भन्दा कम र ६० वर्ष माथिका मानिसहरूमा बढी प्रभाव पर्ने बताए । विगतमा केही ढिला गरी शुरु हुने गर्मी यस पटक छिटो गरेर शुरु भएको बताए ।
 
जल तथा मौसम विज्ञान विभागले तापमान अबका केही दिनसम्म चल्ने अनुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ