arrow

विश्व अल्जाइमर्स दिवस

६.५ प्रतिशत नेपालीमा विर्सिने रोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
alzheimer-day.JPG

काठमाडौँ । विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ ।

रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । अल्जाइमर्स  जसलाई बिर्सिने रोगका रुपमा बुझ्ने गरिन्छ । नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन् । 

नेपाल पक्षघात सङ्घका अध्यक्ष एवं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल नेपालमा ६५ वर्ष माथि उमेरका ६ दशमलव ५ प्रतिशत व्यक्तिमा विर्सिने रोग लागेको बताउँछन् । “जति मानिसको उमेर बढ्दै जान्छ, त्यति नै बिर्सिने रोगसमेत बढ्छ”, उनी भन्छन् । विर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुने उनको भनाइ छ ।

विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ । डा पौडेल विश्वभर हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको बताउँछन् । विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ ।

विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ । विश्वको तथ्याङ्कलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी देखिएको डा पौडेल बताउँछन् ।

बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । डा पौडेल अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा एक सयभन्दा बढी जाने गरेको बताउँछन् । सम्झना शक्तिमा विस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने÷बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन् ।

विश्वभर अल्जाइमर्स रोगको पूर्णरुपमा उपचार नभए पनि यसबाट आउने सम्बन्धित समस्याजस्तै, बैचैनी, डिप्रेसन, शङ्का गर्ने प्रवृत्तिलाई उपचार गरेर बिरामीको जीवनलाई गुणस्तरीय बनाउन सकिने डा पौडेल बताउँछन् । 

त्यसैगरी प्रारम्भिक चरणमा यो रोग पहिचान भएमा स्मरणशक्ति सुधार गर्ने, विभिन्न औषधि प्रयोग गरेर बिरामीको स्मरणशक्ति सुधार्न सकिने चिकित्सक बताउँछन् । बिरामीको हेरचाह गर्न परिवारको व्यक्तिलाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गरी सहयोग गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ