arrow

सुन तस्करी काण्ड

माओवादीका उच्च तह मुछिने डरले सुन काण्डमा आयोग बनाउन गृहमन्त्रीको आलटाल

महरा र पुन परिवारको कनेक्सन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
narayankaji-shrestha-2080-06-07.jpg

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको संसद् अघिल्लो महिना संसद् खुलाउनका लागि प्रमुख प्रतिपक्षी दलसँग गरिएको सहमति कार्यान्वयन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आलटाल गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ६० किलो सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नेगरी सहमति गरिएको तर उपप्रधानमन्त्री तथा गृहमन्त्री  श्रेष्ठले कार्यदल गठन गर्न बोलाएको बैठकमा माओवादी नेताहरुसहित राजनीतिक तहलाई नछुने गरी कार्यविधि तय गरेपछि उनी बाधक भएका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सङ्गठित र अन्तर्देशीय अपराधको मात्रै अनुसन्धान गरेको र त्यसमा राजनीतिक व्यक्तिहरूको कनेक्सनलाई छुटाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय आयोग माग गरेको थियो । तर  उपप्रधानमन्त्री श्रेष्ठले आयोग गठन गर्ने तर त्यसमा राजनीतिक व्यक्तिहरूलाई नछुने गरी कार्यविधि र कार्यक्षेत्र तोक्ने गरी सहमति गर्न खोजेपछि शुक्रवार दुई चरणको वार्ता असफल भएको थियो ।  

गृह मन्त्रालयमा शुक्रवार भएको दोस्रो चरणको छलफल पनि राजनीतिक नेतृत्वलाई नछुने गरी आयोग बनाउनु पर्ने प्रस्ताव गरेका कारण उनी बाधक देखिएका थिए । सुन काण्डका मुख्य बिचौलियाको सङ्गत नेकपा माओवादीका उच्च नेताहरूसँग रहेका कारण उनीहरूको बारेमा कुनै पनि प्रकारको अनुसन्धान गर्न नपाइने किसिमको कार्यविधि श्रेष्ठले तयार गरी प्रस्तुत गरेको स्रोतको दाबी छ ।

सो कार्यविधिमा सहमति हुन नसकेपछि शुक्रवार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको दोस्रो चरणको छलफलमा पनि सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न सकेन । सहमति जुट्न नसक्दा सरकारले संसद्मार्फत आयोग गठन गर्न गरेको प्रतिबद्धता र तोकेको समयसीमा नाघेको छ । 

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पुनः छलफल गर्ने सहमति भएको बताए पनि शनिवार दिनभर श्रेष्ठ हल्चोक स्थित सशस्त्र प्रहरी मुख्यालयमा अलमलिएका थिए । कर्मचारीलाई योगा सिकाउने भन्दै उनी आयोग गठनलाई आलटाल गर्न उता अलमलिएका हुन् । ‘फेरी बस्ने कुरा भएको छ, शनिवार भएकाले केही काम भएन आइतबार सहमति हुन्छ’, पाण्डेले भने । 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले दुवै चरणका छलफलमा सहमति जुट्न नसकेको बताए । ‘विभिन्न प्रकारका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सरकारका उच्च पदस्थका अधिकारीको पनि सहभागिता छ भन्ने पुष्टि भएको छ,  आयोग गठन भएन यो दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने । असोज ५ गते आयोग गठन गर्ने भदौ ६ को सहमतिअनुसार शुक्रवार दुई चरणमा सरकार पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच छलफल भएपछि यसमा श्रेष्ठ नै बाधक रहेको प्रतिपक्षीको आरोप छ । 

महरा र पुन परिवार

सुनकाण्डमा पक्राउ परेका बिचौलिया दावा छिरिङसँग माओवादीका नेताहरू कृष्णबहादुर महरा, उनको छोरा राहुल महरा, अमला रोका, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनको परिवार , वर्षमान पुन र उनको परिवारको सम्पर्क देखिएको छ । तर उपप्रधानमन्त्री श्रेष्ठ उनीहरूको विषयमा कुनै पनि प्रकारको अनुसन्धान गर्न नहुने अडानमा रहेका छन् ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर नेपाल ल्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्व सभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष महराका छोरा राहुल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई दुई साताअघि नै काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा पूर्व सभामुख महरासमेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखिएको छ । स्वास्थ्यको कारण देखाएर कृष्णबहादुर महरालाई  पक्राउ नगरिएको सिआइबी स्रोतले जनाएको छ । 

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । 

बाबुछोराविरुद्ध सङ्गठित अपराध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, स्वास्थ्य अवस्थाको कारण देखाई बाबु महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ ।  महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ ।

सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ ।

त्यसैगरी नन्दबहादुर पुनसँग दावा छिरिङको पूर्ण सम्पर्क देखिएको छ । पुनकी बुहारीले तिहारमा टिका लगाएको तस्बिर पनि सार्वजनिक भैसकेको छ । यस्तो अवस्थामा सिआइबीले उनीहरुमाथि अनुसन्धान नै नगरी छुट दिएको छ । यस्तै दाव छिरिङसँग सम्बन्ध रहेका अध्यागमन विभागका पूर्व प्रमुख सहसचिव झलकराम अधिकारीसँग स्वयं उपप्रधानमन्त्रीकै राम्रो सम्बन्ध भएकाले उनको पनि संरक्षण रहेको आरोप छ । अधिकारीलाई श्रेष्ठकै जोडबलमा अध्यागमन विभाग लगिएको थियो । उनीसँग दावा छिरिङले पानी तान्ने पम्प नेपाल ल्याउने विषयका कुराकानी गरेको च्याट बाहिरिएको थियो । सुन तस्करहरुले पानी तान्ने पम्प मार्फत पनि सुन ल्याउने गरेको सिआइबीको अनुसन्धानमा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ