arrow

पुष्पा र अञ्जली कोसी टप्पुमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
koshi-tappu.jpg
तस्बिर-फाइल

इनरुवा । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । 

पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो । 

विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोको उपस्थितिमा ती गैँडालाई छाडिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिए । 

गैँडालाई चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली यहाँ आएको थियो । 

कोसी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो ।

पहिलो चरणमा गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने आरक्षका संरक्षण अधिकृत यादवले बताए ।

केही वर्ष अघि कोसी टप्पुबाट चितवन निकुञ्जमा १३ वटा अर्ना लगिएको थियो ।

तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट गैँडा ल्याउनुपर्ने माग गरेका थिए । 

सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।

कोसी टप्पुलाई पर्यटकीय गन्तव्य बनाइनेछः मन्त्री महतो

सो अवसरमा वन तथा वतावरण मन्त्री डाक्टर विरेन्द्रप्रसाद महतोले कोसी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने बताए । 

कोसी टप्पु वन्य जनतु आरक्षस्थित सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको वन्यजनतु उद्धार केन्द्रको आज उदघाटन तथा गैँडा हस्तान्तण कार्यक्रमका अवसरमा मन्त्री महतोले त्यसका लागि चितवनबाट गैँडा ल्याइएको बताए । 

उनले केही दिनभित्रै बिरु नामक गैँडा ल्याउने पनि जानकारी दिए । 

यस क्षेत्रमा बाघ ल्याउनका लागि अध्ययन पनि सुरु भएको उनको भनाइ छ । 

कोसी टप्पुमा अर्ना, गैँडा, बाघ, हात्तीलगायतका जनावर एकै ठाउमा भएको खण्डमा आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ