arrow

मोरङको जुडा अखडामा प्रहरीकै संरक्षण, किन निरीह भए कोशी प्रमुख बास्तोला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
koshi-province-police-headquarter.jpg

विराटनगर । पूर्वमा उद्योगपतिहरुको शहरका रुपमा चिनिएको विराटनगर नजिकैको गाउँमा जुवा अखडा सञ्चालनमा हुँदा पनि प्रहरी प्रशासन मौन रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । 

चाडबाडको मुखमा कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएको एक गाउँपालिकामा संस्थागत रुपमा करोडौँँको अवैध जुवा खेल संचालन हुँदै आएको गुनासो कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङलाई दिँदा पनि जुवाडेहरुको अखडा बन्द नभएको भन्दै स्थानीय आक्रोशित छन् । 

सो अवैध खेललाई प्रहरी प्रशासनले नै सुरक्षा दिइरहेको भन्दै गुनासो आएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र मोरङ जिल्ला प्रहरीका कार्यालयका प्रमुख एसपी प्रमुख दीपक पोखरेल दुवैले यो विषयलाई वेवास्ता गरेको कोशी प्रदेश प्रहरी कार्यालयकै एक प्रहरी अधिकृतले भने । 

कोशी प्रदेशको राजधानी विराटनगर महानगरसँगै जोडिएको ग्रामथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरस्थित लोहोन्द्रा नदीको आसपास क्षेत्रमा अवैध रुपमा संचालन भएको जुवाका कारण पूरै गाउँ नै प्रभावित बन्दा पनि प्रहरीले त्यहाँ ‘रेड’ हान्न सकेको छैन ।

‘कोशी प्रदेशकै डीआईजी बास्तोला र एसपी दुवैले त्यस क्षेत्रमा प्रहरी पठाए पनि सुरक्षा कवजको रुपमा बस्ने गरेको, जुवाडेहरुलाई पक्राउ नगरी छुट दिने गरेको र उल्टै जुवाडे छन् भन्दा स्थानीहरुलाई हपार्ने गरेका छन्’, मोतीपुरका एक स्थानीयले भने । 

कोशी प्रदेशमा रहेका धरान, इटहरी, दमक, इनरुवादेखि उर्लावारी समेतका ठाउँबाट मोतीपुरमा जुवाडेहरु जाने गरेका छन् । ‘मिनी क्यासिनोकै रुपमा  संचालन हुँदासमेत स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेका छन्’, स्रोतले भन्यो त्यहाँको चिल्ला गाडीमा आउनेहरु नै जुवाडे रहेको र गुण्डाहरुले पनि पहरा दिइरहेका छन् यो क्रम एक महिना यता हरेक दिन चलिरहेको छ ।’ 

स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालय दुवैमा गुनासो गरेको, सुराकी दिएका थिए । तर दशैँ नजिक आएकाले प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको सट्टा संरक्षण गरेको गुनासो गरेका छन् ।  

जुवा संचालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर १ किलोमिटरको फरकमा तथा सीमामा ईलाका प्रहरी कार्यालय रंगेली हुँदासमेत प्रहरीले अनदेखा गर्दै हिड्ने गरेका छन् । 

केही महिना अगाडि उक्त जुवाखालबाट जुवा संचालन गर्ने संचालकदेखि केही जुवाडे खेलाडी प्रहरीले नियन्त्रणमा लिएर गएपछि उक्त जुवा केही दिन बन्द भएको तर फेरि प्रहरी सेटिङमा संचालनमा आएका थिए ।  

मोरङको संसदीय निर्वाचन क्षेत्र ४ बाट निर्वाचित माओवादी सांसद एवं निवर्तमान मन्त्री अमनलाल मोदीदेखि जिल्ला प्रहरी मोरङ र कोशी प्रदेश प्रहरीसँग जुवाडेले सेटिङ गरेको स्रोतको दाबी छ ।

 ‘व्यापारीहरुले त्यहाँ मिनी क्यासिनोको रुपमा सेटिङ अनुसार नै खुलेयाम दैनिक लाखौं–करोडौंको जुवा संचालन गरिरहेका छन्’, स्रोतले भन्यो । 

महानगर भन्दा करिब १० किमीको फरकमा संचालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने गरेका छन् । ‘लामो समयदेखि संचालन हुँदै आएका जुवा खालमा विराटनगरका व्यापारिक समुदायका देखि छिमेकी जिल्लाबाट आउने खेलाडीहरुसमेत पुग्ने गरेको छन्’, स्रोतले भन्यो ।  

जिल्ला प्रहरी कार्यालय मोरङले थाहा पाएको भए पनि संरक्षण गरेपछि उनीहरु प्रहरी प्रधान कार्यालयलाई उजुरी गर्ने तयारी गरेका छन् । त्यहाँ भारतीय व्यापारीहरु पनि जुवा खेल्न आउने गरेको स्रोतको दाबी छ ।

 ‘विराटनगरका व्यापारीहरुले नै खेलाडी खोजेर ल्याउने गरेका छन्, सीमा पारीबाट पनि व्यापारी आएको हामीले पायौँ, सीमापारीबाट व्यापारी आउँदा उनीहरुको साथमा अरु मानिसहरु पनि आउने गरेका छन् जसले गर्दा गाउँ नै असुरक्षित बन्न थालेको छ’, मोतीपुरका एक वासिन्दाको भनाइ छ ।

यस सम्बन्धमा बुझ्न खोज्दा कोशी प्रदेश प्रहरी प्रवक्ता ऋषिराम कंडेलले कुनै जानकारी नभएको बताए । 

उनले भने, 'डीआईजीसाब् प्रदेशको सुधारमा यत्रो लाग्नु भाछ नाम त जसरी पनि जोडिन्छ प्रदेशभरि भएका सानातिना कुराहरु डीआईजीसँग जोडिन्छ । समग्र सुधारमा लागिराख्या मान्छे सानातिना कुरामा अल्झिने कुरा त हुँदैन तर अब उहाँको नाम कसरी जोडियो भन्ने कुरा मलाई थाहा भएन । केही भाछ भने बुझुँला ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ