arrow

राज्यले हेपेको ६ नम्बर वुधबारे : प्रहरीको पनि खुट्टा पाँचथर टाउको धनकुटा !

कस्का लागि संघीयता ?, के ६ नम्बर वुधबारेलाई बनाउन सकिँदैन गाउँपालिका ?

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
6-nambar-budhabare.jpeg

पाँचथर । पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर वुधबारे पाँचथर सदरमुकाम फिदिम देखि २० कोश टाढा छ । जिल्लाको सीमावर्ती गाविस दूरदिम्बा–१ र धनकुटा जिल्लाको ६ नम्बर वुधबारेको –१ मा रहेको ६ नम्बर वुधबारे अहिले सम्बन्धित जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयको वेवास्ताका कारण सास्तीमा छ ।

पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर वुधबारेमा जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी चौकी राखेको छ, तर चौकीले धनकुटाका नागरिकको मात्रै शान्ति सुरक्षामा खटिने गरेको पाँचथरवासीको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले त्यस गाविसमा प्रहरी चौकी नराख्दा त्यस क्षेत्रका स्थानीय ६ घण्टाको पैदल दूरीमा रहेको लिम्बा गाविसमा अवस्थित खान्द्रोङ प्रहरी चौकी धाउन बाध्य छन् । पाँचथरबासीको तर्फबाट पटक–पटक प्रहरी चौकी माग गर्दा पनि गृह मन्त्रालयले कुनै वास्ता नगरेको स्थानीय गणेश बाजी बताउँछन् ।

उनले भने, ‘यस बारे हामीले जिल्ला प्रहरी कार्यालय पाँचथर, क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, तथा प्रहरी प्रधान कार्यालय काठमान्डौँ, गृहमन्त्रालय सबै तिर फाइल पेश गरेको २ वर्ष वितिसक्दा पनि कतै बाट प्रहरी चौकीको लागि पहल हुन सकेको छैन् ।” यो ठाउँमा प्रहरी चौकी नहुँदा पाँचथरवासी अत्यन्तै मर्कामा परेका छन् ।

यस्तै, धनकुटाको नेपाली सेना, पाँचथरको जग्गामा बसेर धनकुटाबासीको सेवामा तल्लिन छ । यस ठाउँका स्थानीयले घर जग्गा खरिद विक्री गरी जग्गा रजिष्ट्रेशन गर्नु परे दुवै जिल्ला मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ । आधा जग्गा पाँचथर र आधा धनकुटामा पर्ने हुँदा दुवै मालपोत कार्यालयमा गएर जग्गा पास गर्नुपर्ने उनीहरुको गुनासो छ ।

ऐतिहासिक र पर्यटकीय स्थलहरु समेत रहेको ६ नम्बर वुधबारेलाई एकले अर्को जिल्लाको मुख ताकेर बस्ने गर्दा आफूहरु मर्कोमा परेको स्थानीय हेमकर्ण तुम्सा बताउँछन् । उनले भने, ‘यस ठाउँमा मिक्लाजुङ डाँडा छ जहाँबाट सूर्योदय हेर्न सकिने, यस्तै यस क्षेत्रमा ताल बनाएर पर्यटकहरु भित्र्याउन सकिने इन्द्रेणी झरना रहेको छ । यसलाई राज्यले समेत हेरिदिने हो भने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रने थिए ।’ तर यसका लागि एकले अर्को जिल्लाको मुख ताकेर बस्दा अहिलेसम्म कुनै काम अघि बढ्न नसकेको उनले गुनासो गरे ।

यस्तै, पाँचथरको लिम्बा, दुरदिम्बा गाविस, धनकुटाको ६ नम्बर वुधबारे, मोरङको लेटाङ, जाँते, इलामको बाँझो गाविसलाई मिलाएर छुटै गाउँपालिका तथा नगरपालिकाको केन्द्र ६ नम्बर वुधबारेलाई बनाउन सके यस क्षेत्रका स्थानियलाई धेरै राहात हुने उनले बताए ।

यो क्षेत्रमा सडक पुगे पनि स्तरोन्नति नहुँदा बर्खाको समयमा प्राय बन्द नै हुने गर्दछ । यस क्षेत्रका स्थानीय सदरमुकाम फिदिम आउनु परे मोरङको लेटाङ हुँदै उर्लाबारी, त्यसपछि झापा, इलाम हुँदै आउनुपर्ने समस्या छ । राँके रवि हुँदै ६ नम्बर बुधबारेको सडकको कालोपत्रे चाडो भइदिए आफूहरुलाई सहज हुने स्थानीय कर्ण लिम्बु बताउँछन् । यो ठाउँमा सुविधा सम्पन्न हष्पिटल र क्याम्पसको व्यवस्था गर्न समेत स्थानीयको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ