arrow

कोशीमा चर्चित सांसद खोज्न शुक्रबारसम्मको समय, सत्ताको चाबी राप्रपासँग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
koshi-pradesh-sabha-2080-03-21.jpg

काठमाडौँ । कोशी प्रदेशमा पाँचौँ सरकार चलाउनका लागि चर्चित सांसदले शुक्रबारसम्म आफ्नो दाबी पेश गर्न सक्ने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि शनिबार साँझ विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको कार्यालयले असोज २६ गते शुक्रबारसम्म विश्वासको मत ल्याउन सक्ने दाबी पेश गर्न आग्रह गरेको हो । 

योसँगै कोशीमा भएका ९३ मध्ये उपसभामुखलाई छाडेर जोसुकैले मुख्यमन्त्रीको दाबी पेश गर्न सक्नेछन् । किनकि अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन हुनेछ । 

 यता, गठबन्धन सरकारका लागि ‘सत्ताको कि’ बोकेर बसेको राप्रपाले एमालेको साथ छोड्ला कि साथमै रहला भन्ने कौतुहलता कायम रहेको छ ।  

कसैको पनि बहुमत नहुँदा १० महिनाको अन्तरालमा कोशी प्रदेशले पाँचौँ सरकार पाउने अवस्थामा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसले मुख्यमन्त्री दाबी गर्दै जाँदा राप्रपा पनि कम देखिएको छैन । 

कोशीका मुख्यमन्त्री एमालेका कार्कीले शनिबार विश्वासको मतको सामना नगरी सिधै पदबाट राजीनामा दिएपछि अब पाँचौँ सरकार बन्ने निश्चित छ । 

१० महिनाको बीचमा एमालेका कार्की र कांग्रेसका उद्धव थापाले दुई दुई पटक मुख्यमन्त्रीको पद सम्हालिसकेका छन् । अब को मुख्यमन्त्री बन्छन् ? भन्ने चासो कोशी प्रदेशमा बढ्दै जाँदा सबैको ध्यान राप्रपामा तानिएको छ ।

अब कोशीमा संविधानको धारा १६८ (५) अनुसारको सरकार बन्ने छ । यो धारा अनुसार सरकार बनाउन प्रदेश सभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । 

कुनै पनि दलको बहुमत संख्या नहुनु, राष्ट्रपति चुनावसँगै गठबन्धनमा आएको फेरबदल अनि त्यो बदलावले पनि सरकार बनाउन पुग्दो संख्या नहुँदा कोशीमा १० महिनाभित्र चार पटक सरकार परिवर्तन भइसकेको र अब मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार दिएको राजीनामाले पाँचौँ सरकार बन्ने बाटो खुलेको हो । 

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा बुहमत ल्याउन नसक्ने र पदमुक्त हुँदा संविधानको धारा १६८ (५) अनुसार फेरि सरकारको दाबी गर्न नमिल्ने कानून व्यवसायीले सुझाव दिएपछि कार्कीले विश्वासको मतको सामना नगरी पदबाट राजीनामा दिएका हुन् । 

संविधानको धारा १६८(५) मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’

यसरी मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्रीले पनि विश्वासको मत ३० दिनभित्र नपाएमा प्रदेश सभा स्वतः विघटन हुनेछ । र मध्यावधीमा प्रदेश सभा जानेछ । 

एमालेका कार्कीले फेरि मुख्यमन्त्रीमा दाबी गर्न, फेरि सरकारको नेतृत्व लिएर यदि मध्यावधिमै जाने भए आफ्नै नेतृत्वमा चुनावमा जानका लागि दाबी पेश गर्न पनि उनले विश्वासको मतको सामना नगरी पदबाट राजीनामा दिएका हुन् । 

एमालेले राप्रपाकै साथ लिएर मध्यावधिमा जान खोजिरहेको छ । तर राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले अहिले नै कसलाई समर्थन गर्ने भनेर निर्णय नभइसकेको बताएका छन् । 

उता कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । कांग्रेसका उद्धव थापा र केदार कार्कीमध्ये कसले दाबी गर्ने भन्ने विवाद कायमै रहेको छ भने माओवादीभित्र इन्द्र आङबोले दाबी नै गरेर कांग्रेससँग प्रस्ताव नै राखिसकेका छन् । 
एमालेसँग उपसभामुखसहित ४० जना सांसद छन् । सभामुखविहीन प्रदेश सभामा अध्यक्षता गर्दा उपसभामुखले मत दिन पाउने अवस्था हुँदैन । यसरी एमालेको संख्या ३९ मात्रै हुन्छ । 

विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४ र जसपाको एक मत गरी ४७ मत अर्काे गठबन्धनमा छ । 

राप्रपाका ६ सांसद छन् । ६ सिट भएको राप्रपा एमालेतिरै उभिँदा गठबन्धन फेरिएपछि कोशीमा सत्ता संकट समस्यामा परेको हो । 

एमालेका हिक्मत कार्कीले पनि दाबी गर्न सक्ने नै देखिएको छ । माओवादीले पनि अब कांग्रेस र एमालेका सांसदहरुले दुई दुई पटक सरकारको नेतृत्व गर्दा पनि विश्वासको मत पाउन नसकेकाले यो पटक आफ्नो नेतृत्वको सरकार हेर्न आग्रह गरिरहेको छ । 

एमालेले भने कांग्रेसका अर्काे कुनै नेतालाई समर्थन गर्ने गरी सरकारको बाटो खोलिदिने र कांग्रेस माओवादीको केन्द्रीय गठबन्धन तोड्न रणनीतिमा लागेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ