- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिएकाले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा थानकोटमा नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल सम्वत् नेवारहरुको मात्र नभइ सबैको भएको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होइन, सारा नेपालीको सम्वत् हो । यो नेपालको मौलिक सम्वत् पनि हो । अघिल्लो कार्यकालमा मैले यसलाई राष्ट्रिय सम्वत् घोषणा गरें । यसपटक हामी सबै मिलेर यसलाई व्यवहारमा उतार्ने संकल्प गरौं ।’ कुनैबेला जातीय राज्य र जातीय पहिचानको नारालाई जोड दिएका दाहालको बोलो पछिल्लो समय फेरिएको छ ।
कार्यक्रममा शङ्खधर साख्वा सामाजिक न्यायका अभियान्ता भएको स्मरण गर्दै प्रधनामन्त्री दाहालले भने, ‘साख्वाले जनताको ऋणमोचन गर्नुभएको थियो । उहाँको यो काम मात्र एक (नेवार)समुदायका लागि मात्रै नभएर त्यतिबेलाको सन्दर्भमा सामाजिक न्यायका क्षेत्रमा ठूलो अभियान थियो ।’ कार्यक्रममा प्रधानमन्त्रीले सरकार संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनःनिर्माण र सुशासनका लागि क्रियाशील रहेको जानकारी गराउँदै थानकोट–कलङ्कीको सडकलाई फराकिलो पार्ने काममा सरकारले विशेष जोड दिएको बताए ।
कार्यक्रममा सांसदहरु रुपा महर्जन, भीमसेनदास प्रधान, पूर्व राज्यमन्त्री दीलिप महर्जन लगायतले नेपाल सम्वतको महत्वबारे चर्चा गरे । सधैं मध्यपुर थिमिको शङ्खधर साख्वा चोकमा रहेको शालिकमा माल्यार्पण गर्ने गरिएकामा यसपटक थानकोटमा पनि साख्वाको शालिक निर्माण भएको छ ।