arrow

स्वास्थ्यमा गह्रौँ धातुको विषाक्त भार

logo
उमेशकुमार ओझा,
प्रकाशित २०८० कार्तिक १३ सोमबार
umeshkumar-ojha-2080-07-12.jpg

नेपाली जनजीवनमा दैनिक प्रयोगमा आउने कतिपय वस्तुमा प्रयुक्त गह्रौँ धातुको असर उतिसारो नत चर्चाको विषय बन्न सकेको छ नत यी धातुको असली जानकारी नै छ । विशेषगरी स्वास्थ्यमा तिनको दुष्प्रभावलाई गम्भीर रुपमा लिइएको देखिँदैन । गह्रौँ धातुको प्रसङ्ग कोट्याउँदा प्रायः मानिसको मन–मस्तिष्कमा आफ्नो वरिपरिका फलाम, अल्मुनियम वा स्टिल जस्ता दैनिकीसँग जोडिएका धातु आभासित हुन सक्छ । 

यसो हुनु स्वभाविक पनि हो । किनभने ती धातुसँग नै हाम्रो जीवन जोडिएको छ । तथा गरगहनाका लागि सुन, चाँदी र अन्य प्रयोजनका लागि तामा आदिका बारेमा पनि सोच्न सकिन्छ । तर यी खालका धातु भन्दा पृथक र विगतमा अन्जानमा व्यापक, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असर स्पष्ट भएकाले हालका दिनमा विश्वव्यापी अभियान र सरकारी मापदण्डले केही सीमित बन्न पुगेको लेड (सिसा) का बारेमा हामीले जनस्तरमा कहिल्यै गम्भीरतापूर्वक विचार गरेका छैनौँ ।

सिसा एक खतरनाक गह्रौँ धातु हो र यो नङले कोट्याउन सकिने जतिको नरम पनि हुन्छ । विज्ञानको ‘पिरिआडिक टेबुल’मा गह्रौँ तत्वहरुको वर्गमा पर्छ लेड । हाम्रो सम्पर्कमा आइरहेका हानिकारक गह्रौँ धातुहरु आर्सेनिक, क्याडमियम, पारो र क्रोमियमसँगै लेडलाई पनि विषालु धातु मानिएको छ । 

लेड प्राकृतिक रुपमा पाइने एक धातु हो । यसको शरीरलाई नत आवश्यकता छ नत यसबाट शरीरलाई कुनै लाभ नै मिल्छ । तैपनि लेड कुनै न कुनै माध्यमले हामीसँग जोडिएको छ । हामी यस बारेमा अनभिज्ञ छौँ वा थाहा पाएर पनि बेवास्ता गरिरहेका छौँ, ज्ञान र सचेतनाको कमी हुन सक्छ । 

लेडले मानव स्वास्थ्य, खासगरी बालबालिकामा पार्ने नकारात्मक प्रभावका विषयमा वैज्ञानिकहरुले सचेत पार्दै आएको धेरै समय भइसकेको छ । यस सम्बन्धमा बेलाबेलामा डरलाग्दा अनुसन्धानात्मक तथ्यसमेत सार्वजनिक भएका पनि छन् । 

केही वर्ष पहिले चीनको अन्हई प्रान्तमा करिब दुई सय बालबालिका लेडको सम्पर्कमा आएर बिरामी परेका थिए । ती बालबालिका नजिकैको ब्याट्री बनाउने कारखानाबाट चहावट भएको लेडको प्रभावमा परेको अनुसन्धानबाट खुल्यो । यस कोणबाट नेपालमा मोटरगाडी, सफा टेम्पो, इन्भर्टर आदिमा प्रयोग भइरहेका ‘लेड एसिड’ ब्याट्रीको व्यवस्थापनमा प्रश्न गर्न मिल्छ ।  

नेपालमा लेडका बारेमा अनुसन्धान गर्ने र सचेतनाका लागि घच्घच्याउने काम शुरू नगरिएको होइन, लगभग दुई दशक पहिलेदेखि यसतर्पm काम भइरहेको छ । तर बिडम्बना नै भन्नुपर्छ वैज्ञानिक, अन्तर्राष्ट्रिय संघ–संस्था, सरकार र स्वदेशी गैरसरकारी संस्थाहरुले लेडबाट जनस्वास्थ्यमा पर्ने असर कम गर्न जे–जति काम गरेका छन् जनजीवनले त्यसलाई सर्वथा ग्रहण गर्न सकेको छैन ।  

विकासोन्मुख वा गरिब देशहरुमा कमसल खालका र सस्ता उत्पादनको उपभोग व्यवहारले बाध्यकारी हुन्छ । यसो भन्नुको अर्थ महँगा वस्तु सुरक्षित हुन्छन् भन्न खोजिएको होइन । तिनमासमेत कैफियत हुनसक्छ । तर कमजोर जीवन धेरै अवान्छित कुराले घेरिएको हुन्छ र त्यसैमा पर्ने एक घातक तत्व हो लेड । 

रङ, सौन्दर्य प्रशाधनका सामग्री, खेलौना, फर्निचर, खाद्यवस्तु, माटो, पानी आदि लेडले प्रदूषित छन् । नेपालमा हालैका वर्षमा लेडका बारेमा गरिएका अनुसन्धानले नेपाली बजारमा उपलब्ध मालवस्तुमा प्रश्न उठाएको छ । बजारमा उपलब्ध छन् भने तपाई हाम्रो घर, कोठामा लेड नपुगेको होला कसरी भन्न सकिन्छ । घरमा पुग्यो भने शरीरमा त्यो संचित भएन कसरी भन्ने ? यो कुरा बेग्लै हो त्यसको असर शरीरमा देखिन समय लाग्न सक्छ । 

लेडको असर पर्यो र त्यसले रातारात बिरामी पार्ने पनि होइन । यो विषालु धातुमा शरीरमा लामो समयसम्म संचित भएर रहने गुण हुन्छ । १० वा २० वर्ष पहिले लेडले तपाईको शरीरमा प्रवेश पाएको छ भने त्यो आज पर्यन्त शरीरमै छ र त्यसले मन्द विषका रुपमा शरीर जीर्ण बनाउँदै लगेको छ । 

विश्वका लगभग सबै देशले लेडमाथि प्रयोजन हेरेर प्रतिबन्ध लगाएका छन् । तापनि लेडको प्रयोगमा पूर्ण प्रतिबन्ध छैन । उदाहरणका लागि रङमा लेडको प्रयोगमा कतै पूर्ण प्रतिबन्ध लगाइएको छ त कतै आंशिक, कतै नियमन र कानूनको अभावमा रङमा जथाभावी लेड प्रयोग भइरहेको छ । 

नेपालमा उत्पादन भइरहेका बहुराष्ट्रिय कम्पनी र स्वदेशीका रङमै लेडको मात्रा वाञ्छित भन्दा बढी देखिएको छ–कमसेकम नेपालमा गरिएको अनुसन्धानले यही भन्छ । 

विगत र व्यावहारिक पक्ष–
ईसापूर्व दुई हजार वर्ष पहिले नै लेडको उपयोग र मानिसमा यसको असरका बारेका मानिसले थाहा पाएका थिए । सबैभन्दा पहिले मिश्रबासीले लेड खोज गरे । रोमनकालमा पानीका पाइप, भाँडाकुँडा, मदिरापात्र, सौन्दर्य प्रशासनका सामग्री, सिक्का आदि बनाउनमा लेड प्रयोगमा आएको थियो । तर विस्तारै रहस्यमय बिरामीले रोमनहरु ग्रसित हुन थाले, अनि रोमनहरुले लेड र बिरामीबीच सम्बन्ध हुन सक्ने शंका गर्न थालेको कुरा प्राचीन ग्रन्थहरुमा उल्लेख गरिएको छ । 

रोमन साम्राज्य पतनमा अनेक पक्ष जिम्मेवार भए पनि कतिपय विद्वानले चौतर्फी लेड विषाक्त हुनुले शासनसत्ता रोगले कमजोर परेको तथ्यलाई पनि रोमन साम्राज्यको पतनसँग जोडेका छन् । लेडको विषाक्तताले रोमनहरु अल्पायुमै मर्न थालेका थिए । क्यानडाको नेसनल वाटर रिसर्च इन्स्टिच्युटका डा. जेरोमले शक्तिशाली रोमन साम्राज्य पतनको एक प्रमुख कारण लेडको व्यापक प्रयोगलाई मानिएको दाबीमा समर्थनमात्र गरेका छैनन् उनको अनुसन्धानले रोेमन सम्भ्रान्तवर्ग नराम्रोसँग बाथ रोगले ग्रसित भई मानसिक रुपमासमेत विकृत बन्न पुगेको निष्कर्ष दिएको छ । 

रोमनकालका मानव हड्डीका अवशेषमासमेत लेडको अत्यधिक मात्रा पाइएको छ । त्यसको कारण हो उनीहरु लेडको भाँडामा अङ्गुरको रस उमालेर मदिरा बनाउने गर्थे । नेपालमा दुई दशक पहिलेसम्म पनि लेडले बनाइएका अक्षर र ब्लकका सहारामा कतै कतै छपाई कार्य गरिन्थ्यो, जसको कुनै लेखाजोखा नै छैन । 

आयुर्वेदमा लेडको प्रयोग गरी कतिपय औषधि तयार पारिन्छ तर लेडलाई प्रशोधित गरी त्यसको विषाक्तता हटाएर औषधि बनाइने आयुर्वेदको मान्यता हो । त्यस मान्यतालाई कतिले आत्मसात् गरिरहेका छन्, त्यो कुरा बेग्लै छ– नियमनकारी निकायले यसलाई हेरिरहेको हुनुपर्छ । 

आयुर्वेदले लेडलाई नाग मानेको छ । रसशास्त्रको धातु अन्तर्गत लेडलाई गणना गरिन्छ । लेडलाई विज्ञानले एक विषालु धातु मानेको छ र आयुर्वेदलेसमेत यसलाई सोभैm प्रयोगमा ल्याउँदैन, शोधन गरेपछि जारण र मारण गरेर मात्र उपयोग गर्दछ । यी सबै प्रक्रियाबाट लेड अर्थात् नागमा भएको विषालु गुण नष्ट भएर जाने भनिन्छ । 

तर आयुर्वेदको अभ्यास गर्ने कतिजनाले यस प्रक्रियालाई अपनाउँछन् ? नाग भष्म तयार पार्न अध्ययन–अनुसन्धान गरेकाहरुमाथि त विश्वास गर्न सकिएला तर आयुर्वेदको नाम लिएर पसल चलाउनेहरुबाट हामीले सचेत हुनै पर्छ ।

सन् १९२० को दशकमा पेट्रोलियम इन्धनमा लेडको प्रयोग व्यापक गरिएको थियो । पेट्रोलमा टेट्राइथायल लेड मिलाउने काम सन् १९७० को दशकसम्म व्यापकस्तरमा भयो । 

सन् १९८० को दशकबाट विकसित देशहरुमा पेट्रोललाई लेडमुक्त बनाउन शुरू गरिएको थियो र नेपालमा २०५२ सालदेखिमात्र लेडविहीन पेट्रोल वितरण शुरू गरियो ।

स्वास्थ्यमा लेडको असर    
विशेषगरी लेडप्रति दक्षिण एसियामा लापरवाही अलि बढी नै देखिन्छ । करिब १० वर्ष पहिले भारतमा विश्वको एक अग्रणी कम्पनी नेस्लेको उत्पादन मेगी चाउचाउमा लेडको मात्रा मानकभन्दा अधिक रहेको पाइएपछि त्यहाँ उपभोक्ता अधिकार, जनस्वास्थ्य र कानूनको विषयलाई एकसाथ जोडेर मेगीविरुद्ध व्यापक आवाज उठाइएको थियो । यो एक प्रतिनिधि घटना हो ।  

श्वासप्रश्वास, खाना वा छालाद्वारा हाम्रो शरीरमा पुगेपछि लेडले विषको रुपमा काम गर्न थाल्छ । यो कुनै पनि मात्रामा हाम्रो शरीरलाई आवश्यक तत्व होइन । यसको थोरै मात्राले पनि हाम्रो शरीरमा ठूलो असर गर्दछ । यसले राता रक्तकोषलाई मार्छ । धेरै जसो लेड हाडमा गएर बस्छ । वयस्क भन्दा बच्चाको हाडमा लेड बढी संचय हुने देखिएको छ । 

यतिमात्र होइन लेडले मस्तिष्क र स्नायुप्रणालीको विकासमा समेत अवरोध पुर्याउँछ । रक्तअल्पतालाई यसको सामान्य लक्षण मान्न सकिन्छ । 

पेट दुख्ने, तौल घट्ने, कब्जियत, अनिद्रा, टाउको दुख्ने, बेचैनी, छारे रोग, चिडचिडापना देखिन सक्छ । लामो समय लेडको प्रभाव परेमा मानिस नपुङ्सक हुने सम्भावना पनि रहन्छ । 

बालकालिकामा लेडले पार्ने असरको कुरा गर्दा सन् २०१० मा हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ एन्ड चिल्ड्र«ेन्स हस्पिटलले गरेको एउटा अनुसन्धानलाई बिर्सन सकिँदैन । अमेरिकामा बसोबास गर्ने भारतीयमूलका बालबालिकामा लेडको प्रभाव परेको धेरै मामिला देखिएपछि भारतीयमूलका बालबालिकमा लेडको मात्रा अधिक देखिनुको कारण खोज्ने प्रयास गरियो । 

त्यसक्रममा उनीहरुले खानेवस्तुमा केही छ कि भन्ने शंका गरी भारतीय खाद्यवस्तुको पसलामा गएर खुर्सानी, मेथी, अलैँची आदिको नमूना लिएर जाँच गर्दा ती वस्तुमा लेडको मात्रा अधिक पाइएको थियो । 

क्यान्सरसँगसमेत लेडको सम्बन्ध देखिएको छ । त्यसको एक स्रोत हो हामीले घरमा प्रयोग गर्ने मैनबत्ती । विशेषगरी सुगन्धित मैनबत्ती स्वास्थ्यका लागि हानिकारक छ । मैनबत्तीमा लेड प्रयोग गरिएको हनुसक्छ । मैनबत्ती बालेपछि लेड त्यसबाट हावामा फैलिन्छ र सासबाट हाम्रो शरीरमा पस्छ । लेडले क्यान्सरमात्र होइन स्नायु र हर्मोन सम्बन्धी समस्या पनि ल्याउँछ ।

भन्नु पर्दा शरीरका प्रायः सबै अङ्गलाई लेडले क्षति पुर्याउँछ । मस्तिष्कमा क्षति, अपरिपक्व प्रसव, मिर्गौलामा क्षति र स्नायु प्रणालीमा समस्या लेडका प्रमुख दोषमा पर्छन् । यसले हाम्रो यौन हर्मोनको मात्रा पनि कम गर्ने अनुसन्धानबाट स्पष्ट गरिएको छ । तनाव नियन्त्रण गर्ने हाम्रो क्षमतासमेत लेडले कमजोर हुन्छ । जस कारणले उच्च रक्तचाप तथा डिप्रेसन र बेचैनीको खतरा बढ्छ । लेडको प्रभावमा परेका  बालबालिका चिढचिढा हुने र उनीहरुमा एडीएचडी भएको जस्तो लक्षण देखिन सक्छ । 

यति मात्र होइन सास फेर्दा वा खानामार्फत लेडले गर्भवतीको शरीरमा पसेपछि रगत हुँदै सालनालमा पुगेर विकसित हुँदै गरेको भ्रुणको हड्डी र अन्य अङ्गलाई हानि पुर्याउँछ । स्तनपानद्वारासमेत लेड शिशुमा सर्दछ । विश्व स्वास्थ्य संगठनले ‘लेड कज्ड मेन्टल रिटार्डेसन’ लाई उक रोगको मान्यता दिँदै बाल्यकालमा लेडको प्रभाव परेको छ भने मानिसमा बौद्धिक क्षमता कमजोर हुने स्पष्ट पारेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि के भन्छ भने विश्वमा धेरैजसो स्थानमा लेडले वातावरणीय र स्वास्थ्य समस्या निम्त्याएको छ । शरीरको न्युरोलोजिकल, हेमाटोलोजिकल, ग्यास्ट्रोइन्टेस्टिनल, कार्डियोभास्क्युलर,  यम्युन र रेनल सिस्टममा लेडको असर पर्दछ । विशेषगरी बालबालिकामा लेडको न्युरोटक्सिक असर देखिन्छ । लेडको सानो मात्रालेसमेत उनीहरुमा गम्भीर प्रभाव पर्न सक्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा आप्mनो ‘रसायनहरुको जनस्वास्थ्यमा प्रभाव : ज्ञात र अज्ञात’ अद्यावधिक गर्दै सन् २०१९ मा ज्ञात भएका रसायनको असरले भएको २० लाख मानिसको मृत्युमा करिब आधामा लेडलाई दोषी मानियो र लेडले कार्डियोभास्क्युलर रोग भएको बताएको थियो ।      

नेपालको सन्दर्भ 
नेपाली बजारका खेलौनामा लेडसहित पारो, केडमियम, ब्रोमिन, क्रोमियमको मात्रा मानक परिमाण भन्दा अधिक पाइएको छ । सन् २०११ मा नेपालका बजारमा भएका खेलौनाको नमूना लिएर अनुसन्धान गर्दा ग्रीनपिस तथा आइपेन नामक संस्था र विश्यव्यापी सञ्जालहरुले लेड सहितका घातक तत्व फेला पारेका थिए । 

खेलौनामा हानिकारक धातुको मिश्रण पाइनु निकै संवेदनशील घटना हो । सानै छँदा हानिकारक वस्तुको प्रभावमा परेमा शारीरिक विकास अवरुद्ध भएर विभिन्न खालको रोगले तत्काल वा पछि गएर समात्ने खतरा बढ्छ । 

आफ्नो बच्चाको स्वास्थ्य सुरक्षामा पहलो जिम्मेवारी आमाबाबु र अभिभावककै हुन्छ । महिलाको सौन्दर्य प्रशाधनका सामग्रीमा सबैभन्दा लोकप्रिय लिपस्टिकमा अधिक परिणाममा लेडसँगै अल्म्युनियम र क्याडमियम पाइएको छ । 

यसरी घातक धातु मिश्रित लिपिस्टिकलाई केही मात्रा प्रयोग गर्ने महिलामा समेत पाचन प्रणालीको बिकार, स्नायु क्षति तथा क्यान्सर हुने खतरा रहन्छ ।

घरघरमा लेड पुर्याउने अर्को माध्यम हो पेन्ट अर्थात् रङ । रङले घर, फर्निचर चिटिक्क देखिन्छ होला तर त्यसमा हुने लेडले स्वास्थ्य बिगार्छ । 

अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्ड विपरित लेडयुक्त रङको बजार नेपालमा चम्केको छ । नेपालमा रङ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरुले समेत नेपालीको स्वास्थ्यमा चासो देखाएका छैनन् ।  विदेशमा चाहिँ मापदण्डमा रहेर रङ उत्पादन गर्ने तर यहाँ सयौँ गुणा बढी लेड हालेर सोही ब्राण्डको रङ उत्पादन तिनीहरुले गरिरहेको अनुसन्धानले देखाउँछ । 

नेपालमा प्रायः चुरा भारत आयात गरिन्छ र भारतमा सन् २०१० मा टक्सिक लिङ्क संस्थाले गरेको अनुसन्धानले बालबलिकालाई लगाइने ५४ प्रकारका गहना र चुरा परीक्षण गर्दा सबै प्रकारका गहनामा लेडको मात्रा अधिक पाएको थियो ।

तत्कालीन वन तथा वातावरण मन्त्रालयले सन् २०१४ डिसेम्बर २२ मा राजपत्रमा एक सूचना जारी गरी एक सय ८१ दिनभित्र कार्यान्वयनमा आउने गरी लेडयुक्त रङको मानक प्रकाशित गरेको थियो, अर्थात् या सूचना जारी गरिएपछि सन् २०१५ जुन २० सम्म लेडको स्थापित मानकभित्र रहेर नेपालमा रङको उत्पादन, आयात, बिक्री वितरण गर्न पाइने छ । 

यस सूचनाले तीन विषयमा महत्वपूर्ण प्रावधान राखेको थियो : पहिलो– आयात गरिएको र स्वदेश मै उत्पादित रङमा लेडको अधिकतम मात्रा ९० पीपीएम भन्दा बढी हुने छैन, दोस्रो – रङको हरेक बट्टामा रङमा हालिएको लेडको मात्रा उल्लेख गरिएको हुनु पर्ने छ, तेस्रो रङको हरेक बट्टामा पेशाकर्मीको सुरक्षाका लागि सुरक्षात्मक सचेतना सन्देश लेखिएको हुनु पर्ने छ । 

तर कार्यान्वयन तहमा के भयो ? सन् २०२१ को जुलाईदेखि अगस्तसम्म सेन्टर फर पब्लिक हेल्थ एन्ड इन्भाइरोमेन्टल डेभलपमेन्ट (सिफेड) ले एउटा अनुसन्धान गर्यो, जसको नतिजा सन्तोषजनक आएन । 

आयात, उत्पादन र बिक्री गरिएका ‘सोल्भेन्ट बेस्ड’ कुल ६२ बट्टा रङ सिफेडले नेपालका सातै प्रदेशलाई समेट्ने गरी २० शहरबाट सङ्कलन गरेर नमूनाको प्रयोगशाला परीक्षण गर्दा नेपाल सरकारद्धारा स्थापित मानक पालना भएको देखिएन । 

परीक्षणबाट नेपालमा ‘एनएस’ मान्यता पाएका रङमासमेत अझै पनि तोकिएको मानक ९० पीपीएम भन्दा बढी लेड देखिनु उदेग लाग्दो छ । 

अझ एनएस मानक नपाएका कम्पनीको रङमा लेडको मात्रा सीमाभित्र देखिने कुरै भएन । यसबाट के देखिन्छ भने ‘एनएस’ मान्यता दिने प्रक्रियामा लेडको मानक मात्रालाई अनिवार्य गरिनु पर्दछ । साथै ती कम्पनीका उत्पादनको नियमित जाँच तथा कैफियत देखिएमा कडा दण्डको व्यवस्था जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ