- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले ओमानसँग खेल्दैछ ।
त्रिविवि मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले बलिङ गर्दैछ । लगातार दुई खेल जित्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले दुई खेल नै जितेर सेमिफाइनलमा पुगिसकेको ओमानसँग खेल्न लागेको हो ।
यो खेल जित्ने टिम समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टिम उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
नेपालले यसअघि मलेसियालाई ६ विकेटले र सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
आजका अन्य खेलमा त्रिविवि मैदानमै १ः३० बजे मलेसिया र सिंगापुर भिड्ने छन् । जितहारले फरक नपरे पनि सान्त्वना जितको प्रयास दुवै टिमको हुनेछ ।
अर्को समूहबाट यूएई समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ भने बहराइन र हङकङमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । कुवेत भने बाहिरिइसकेको छ ।
आज मूलपानी मैदानमा यूएई र हङकङ तथा बहराइन र कुवेत भिड्दै छन् ।
यी हुन् मंगलबारका खेल–
बुधबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा १६६ रनको चुनौती नेपालले १८ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकाको मद्धतले ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाए । त्यस्तै आसिफ शेखले २३ बलमा ३२ तथा सन्दीप जोराले १६ बलमा अविजित रहँदै १८ रन बनाए ।
मलेसियाका मुहम्मद अमिरले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनायो ।
मलेसियाका लागि ओपनर साइद अजिजले ४९ बलमा ६८ रन बनाए । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्ने क्रममा जुवैदी जुल्किफु्लीले १६ बलमा २४ रन बनाए ।
नेपालका लागि अबिनाश बोहराले २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए ।
नेपाल रहेको समूहबाट लगातार दुई जितसहित ओमान पनि सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा सम्पन्न खेलमा ओमानले सिंगापुरलाई पराजित गरेको हो । ओमान २२ रनले विजयी भएको हो । ओमानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १७४ रन बनाएकामा सिंगापुरले ८ विकेटको क्षतिमा १५२ रनमात्र बनायो ।
अब यो समूहबाट नेपाल र ओमानबीच हुने खेलबाटै समूह विजेताको टुंगो लाग्नेछ ।
यता मूलपानी मैदानमा भएको खेलमा यूएईले कुवेतलाई ५ विकेटले हराएको छ । कुवेतले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ८८ रनमात्र बनायो ।
जवाफमा यूएईले १४.२ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । जितसँगै यूएई पनि लगातार दुई जितसँगै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै मूलपानीको मैदानमा भएको खेलमा बहराइनले हङकङलई हराएको छ । बहराइन २० रनले विजयी भएको हो ।
बहराइनले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १४६ रन बनायो । जवाफमा हङकङले ५ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो ।
सोमबार पहिलो दिनको खेल
पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका थिए । नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएकामा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो ।
ओमानले मलेसियालाई ३२ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १५३ रन बनायो । जवाफमा मलेसियाले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनाउन सक्यो ।
त्यस्तै यूएईले बहराइनलाई ५ विकेटले हरायो । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो ।
त्यस्तै मूलपानीमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १६६ रन बनायो । जवाफमा कुवेतले ८ विकेटको क्षतिमा १५० रनमात्र बनायो ।
आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् ।
समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।
समूह एका खेलहरु कीर्तिपुर मैदानमा र समूह बीका खेलहरु मूलपानी मैदानमा भइरहेका छन् ।