arrow

मुगुमा सामूहिक हत्या भएकाहरुको दाहसंस्कार

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
funeral-mugu-2080-07-17.jpg

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक  विभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ ।

घटना भएको ८ दिन र शवको पोष्टमाटम भएको ४ दिनपछि हत्या गरिएका आमा र छोराछोरीको दाहसंस्कार गरिएको हो । 

घटना कसरी घट्यो ? के कारण घट्यो ?  र हत्यारा को हो ?  भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान् दिपक बोहोरा र आफन्तले लास बुझ्न मानेका थिएनन् ।

घटना गत कार्तिक ८ गते बुधबारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारी पाएको थियो । 

जानकारी पश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीया आमा श्रीदेवी, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याएको थियो ।

घटनामा जानकारी आए लगत्तै  जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । 

सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्युरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिइ अनुसन्धान तीव्र बनाउँदै आएको छ ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो  ।

घटनाको प्रकृति,अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमै आफैँ पुगेका थिए ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन बितिसक्दा पनि  खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन ।  

प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरुमा मुगु घटनालाई उच्च प्राथमिकतामा राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । 

विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरुसँग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ । 

हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरु बुझ्न दवाव परेपछि मानसिक तनावमा रहेका दिपक बोहोरा बिहीबारर बिहानैदेखि बेपत्ता भएका थिए । 

सबैतिर प्रहरी र स्थानीयहरुले खोजी गर्दा राति ८ बजे छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए ।

शुक्रबार बिहान नगरप्रमुख विष्णुकुमार भाम,आफन्तहरुको सम्झाइ बुझाइपछि दिपक शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका थिए ।

आमा श्रीदेवी र ११ वर्षीय छोरा मनोजको शव जलाइएको र ८ महिने छोरा रहर र ८ वर्षीया छोरी अप्सराको शव जमीनमा गाडिएको नगरप्रमुख भामले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ