arrow

पावर टिलरले खाइदियो गोरु र राँगाको काम

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
hate tractor.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी हिजोआज खेत जोत्नमा व्यस्त छन् ।

उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको छ वर्ष भइसक्यो । 

खेत जोत्नका लागि उनी अचेल ट्र्याक्टर, ‘पावर टिलर’को प्रयोग गर्छन् । पिपलाडीमा चौधरीको साँढे चार बिघा जमिन छ ।

वर्षौंदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आएका छन् । 

“पहिले राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उनले भने, “प्रविधिको प्रयोगले धेरै किसानलाई धेरै सहजता थपेको छ ।”

कुरेरुवा किसान समूहमा आवद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका थिए ।

उनीहरुसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलर लगायतका उपकरण छन् ।

“खेत जोत्न, धान, गहुँ काट्नलगायत सम्पूर्ण कृषिकर्मका लागि उपकरणको प्रयोग गर्छौँ”, उनले भने, “कृषिमा परम्पराग शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”

शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेकी छन् ।

“कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांस कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उनले भनिन्, “यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।”

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकरण प्रयोग बढ्दै गएको छ । 

प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ ।

मानवीय श्रमसाधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि किसन आत्मनिर्भर हुन थालेका छन् । 

“पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो,” चौधरीले भने, “अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।”

कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थलेको छ ।

गाउँमा काम गर्ने युवा वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ । 

जनशक्ति एकदमै महगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ किसानको आकर्षण बढेको चेतराज चौधरी बताउछन् ।

“विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ”, उनले भने, “अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक/दुई सातामै सकिन्छ ।” 

कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । 

“कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेकाटे छ”, उनले भने, “व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।” 

उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ